प्रधानमन्त्री दाहालद्वारा गोरखाको लाप्राकस्थित नमुना बस्तीको शिलान्यास

laprak_foundation-layingगैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पुनःनिर्माणको जिम्मा लिएको गोर्खाको गुप्सीपाखास्थित लाप्राक नमुना बस्तीको प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार एक समारोहबीच शिलान्यास गरि पुनःनिर्माण अभियानको सुरुवात गरेका छन् ।
सो अबसरमा प्रधानमन्त्री दाहालले पुनःनिर्माणलाई सरकारले बिशेष प्राथमिकतामा राखेको बताउँदै यस कार्यमा सबैको सहयोग र समन्वय आवश्यक रहेको बताए । भूकम्पले सिङ्गो गाउँ ध्वस्त भएपछि लाप्राकीहरु गुप्सीपाखा जङ्गलको जग्गामा अस्थायी टहरा बनाएर बस्दै आएका छन् । गुप्सीमा ६१७ वटा टहरो छ । एनआरएनएले सबै लाप्राकीलाई घर बनाइदिने प्रतिबद्धता जनाइसकेको छ ।

गुप्सीमा घर बनाउने लाप्राकीलाई अहिले सरकारले घडेरी उपलब्ध गराएर जग्गाको भोगाधिकार मात्रै दिएको छ भने पछि हकाधिकार पनि दिनेछ । गाउँ पुगेका प्रधानमन्त्री दाहालसँग भूकम्पपीडित लाप्राकीले घर, बाटो, बिजुली र खानेपानीको व्यवस्था गरिदिन माग गरेका छन् ।
गुप्सीपाखामा खानेपानी, स्वास्थ्य चौकी भवन, गाविस भवन, बिजुलीलगायतको सुविधा छैन । गाउँलेले घर पुनःनिर्माणका क्रममाः विकासका अन्य पूर्वाधारयुक्त लाप्राक गाउँ निर्माण हुनुपर्ने बताउँदै आएका छन् ।