प्रचण्डको बोली र प्लास्टिकको गोली

prachanda_speaksजिन्दगी एक वचन भी तो हे, जिसे सबको निभाना पडेगा… कुनै वेलाको चर्चित यो हिन्दी गीत सुनेर ओहो… आफूले बोलेको कुरा त जसरी भए पनि पूरा गर्नुपर्छ या पूरा गर्न नसक्ने कुरा बोल्नै हुँदैन जस्तो लाग्थ्यो। स्वास्नीमान्छेको किल्किले हुँदैन, जे पायो त्यही बोल्छन, विश्वासै गर्नुहुँदैन, महिलाका कुरा पधेर्नी गफ भन्ने प्रकारका अनेक कुरा सुन्दै हुर्किएकाले लोग्नेमान्छे या पुरुष भनेको त वचनको पक्का, बोलेपछि त्यसलाई पूरा गर्ने या आफ्नो वचनमा अडिग हुन्छन् र हुनुपर्छ भन्ने मानसिकता पनि सानैदेखि बनेको हो। तर, नेपालको राजनीतिमा एमाओवादी नेता प्रचण्डको उदयसँगै ती पुरातन सबै मान्यता तोडिएका छन्।

नेपालको राजनीतिमा ‘हिरो’ बनेर छाएको उहाँको व्यक्तित्व आफ्नै बोलीका कारण दिन प्रतिदिन खस्किँदो छ। शान्तिप्रक्रियापछि प्रचण्डलाई हेर्नका लागि, उहाँको बोली सुन्नका लागि मानिसको घुइँचो लाग्थ्यो। सुरुमा सार्वजनिक रूपमा देखापर्दा प्रचण्डले लगाएको खैरो रङको सर्टदेखि आशिकी स्टाइलको कपाल, जुँगा हुँदै हात र कुम एकैपल्ट हल्लाएर बोल्ने बानीको समेत चर्चा हुने गरेको थियो। मानिसको जीवनमा व्यक्तित्वले कति ठूलो प्रभाव पार्छ भन्ने कुराको उदाहरण पनि बन्नुभएको थियो प्रचण्ड। ‘पर्सनालिटी’पछि मानिसलाई प्रभाव पार्ने कुरा भनेको व्यक्तिको सोच, उसले बोल्ने या लेख्ने कुरा, व्यवहार, प्रस्तुति, विभिन्न कुरालाई हेर्ने दृष्टिकोण, विषयप्रतिको अडानलगायतका कुरा हुन्। कुनै पनि क्षेत्रमा मानिसको ‘भिजन’ र ‘क्रिएसन’ले उसको उचाइ नापिरहेको हुन्छ। राजनीतिकर्मीका लागि दूरगामी भिजन पहिलो सर्तका रूपमा लिइन्छ। आफूले बोलेका कुराहरू पुर्‍याउन नसक्दा माफी माग्ने र सकेसम्म त्यसप्रकारका गल्तीहरू फेरि नदोहोर्‍याउनका लागि सचेत हुने गरेका उदाहरण विभिन्न क्षेत्रमा पाइन्छ।

विशेषगरी नेतृत्वमा रहनेहरूले सकेसम्म हल्काफुल्का कुराहरू नबोल्ने र बोलिहाले पनि त्यसको व्यवस्थापन गर्ने गर्दछन्। वाकपटुतासँगसँगै आफ्नो बोलीको इज्जत राख्न सक्नु सफल नेतृत्वमा हुनुपर्ने गुणमध्ये एउटा हो। हाम्रा धेरै नेतामा आफ्नो बोलीको इज्जत राख्ने या आफ्ना अभिव्यक्तिको सम्मान गर्ने बानी छैन। त्यसमध्ये पनि आफ्नो बोलीको इज्जत नराख्ने मात्र होइन धुजाधुजा पारेर त्यसको अपमान नै गर्ने नेताको रूपमा प्रचण्डलाई लिन थालिएको छ। उहाँको बोली र प्लास्टिकको गोली उस्तै हो भनेर मानिसहरू टिप्पणी गर्न थालेका छन्।
धेरै अगाडिका कुरातिर नजाऔँ, भर्खरै सम्पन्न एनेकपा माओवादीको हेटौँडा महाधिवेशनमा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभो, ‘प्रधानन्यायाधीशको नेतृत्वमा स्वतन्त्र सरकार गठन गरी चुनावमा जान सकिन्छ।’ उहाँको भनाइले राजनीतिक मात्र नभएर राजनीतिमा चासो राख्ने सबैमा एकप्रकारको तरङ्ग ल्याइदियो। उहाँले यो कुरा बोल्नुभन्दा ठीक एक दिनअघि गत बुधबार हामीले (घटना र विचारले) प्रधानन्यायाधीश खिलराजलाई ‘चुनावी सरकारप्रमुख बनाइँदै’ शीर्षकको मुख्य समाचार लेखेपछि धेरैले ‘त्यस्तो होला र? कति सम्भव छ यो कुरा?’ भन्दै टेलिफोन गरेका थिए। एमाओवादीको नेतृत्व आफैँले त्यसको पुष्टि गरेपछि माहौल फरक बन्न पुग्यो। विचार कताबाट आयो? यस्तो सल्लाह कसले दियो? यस्तो हुनु मुलुकका लागि राम्रो कुरा हो कि होइन? यो खोजीको विषय हुन सक्छ तर प्रधानमन्त्रीसहित एमाओवादीको उच्च तहमा छलफल भएर नै यस्तो योजना बनेको थियो। त्यही आधारमा हुनुपर्छ प्रचण्डले कार्यकर्तासामु भनिदिनुभो– प्रधानन्यायाधीशको नेतृत्वमा सरकार। वास्तवमा यो कुरा प्रधानमन्त्रीकै मुखबाट बाहिर आउने अपेक्षा गरिएको थियो। प्रधानमन्त्रीका पनि नेता प्रचण्डले भन्नुभो, त्यो पनि ठीकै छ। तर, आफ्नो अडानमा उहाँ दुई दिन पनि रहन सक्नुभएन। काठमाडौं फर्कनासाथ उहाँको बोली फेरियो– प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर सरकार बनाउने कुरा पार्टीको धारणा होइन। सर्वसाधारणले कुन कुरा पत्याउने? केलाई सही ठान्ने? अचम्म त के छ भने प्रचण्डले त्यसरी पार्टीको धारणा होइन भनेकै भोलिपल्ट पार्टीका उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईको धारणा बाहिर आयो– प्रधानन्यायाधीशकै नेतृत्व उपयुक्त। प्रधानमन्त्रीले उक्त कुरा कुनै कोठे गफगाफमा नभएर राष्ट्रपतिसँग राख्नुभएको थियो। त्यति मात्र होइन, पार्टीका नवनिर्वाचित महासचिव पोष्टबहादुर बोगटीले प्रधानन्यायाधीशको नेतृत्वमा सरकारको कुरा पार्टीकै प्रस्ताव भएको र यो प्रस्तावलाई हेटौँडा महाधिवेशनले समेत पारित गरेको बताउनुभयो। आफैँले घोषणा गरेपछि महाधिवेशनले अनुमोदन गरेको कुरालाई प्रचण्ड आफैँले फेरि कसरी पार्टीको प्रस्ताव होइन भन्न सक्नुभो र आफ्नै पार्टीका महासचिव र उपाध्यक्षले सो प्रस्ताव पार्टीकै आधिकारिक प्रस्ताव हो भनेपछि अब उहाँको बोलीको इज्जत के रह्यो? एमाओवादीका उच्च तहका सबै नेता मिलेर यो विषयमा भ्रम सिर्जना गर्न मात्र खोजिएको होइन भने प्रचण्डले अब यो विषयमा के भन्नुहुन्छ? उहाँले जे भने पनि कसरी पत्याउने? अध्यक्षले एउटा कुरा भन्ने, महासचिव र उपाध्यक्षले अर्कै कुरा गर्ने कुरालाई पार्टीका अन्य नेता–कार्यकर्तालेचाहिँ कसरी लिन्छन् कुन्नि?
यो त केही दिनयताको सबैभन्दा पछिल्लो उदाहरण मात्रै हो। सत्तामा पुगेपछि यो मुलुकमा के–के नै गर्लान् भनेर सर्वसाधारणले ठूलै अपेक्षा गरेको माओवादीका नेताहरूले अन्य धेरै कुरासँगै एउटा कुरा पनि स्थापित गरिदिए, त्यो हो– नेताको बोलीको के वश्वास? आज बोलेको कुरा भोलि होइन भनिदिन सक्छन्। अलि बढी नै जे पायो त्यही बोल्नेमा माओवादी नेता र त्यसमा पनि प्रचण्ड पर्नुहुने भएकाले उहाँको उदाहरण पेस गरिएको हो तर अन्य दलका नेताहरूमा पनि यो रोग नभएकोचाहिँ होइन। घरमा ठूला मान्छेले नै झुट बोल्न थाले भने या बोलेको कुरा पुर्‍याएनन् भने या आज बोलेको कुरा भोलि कहाँ मैले भने? भन्न थाले भने त्यो घरको अवस्था के होला? घरका अन्य सदस्यले आफ्ना अभिभावकलाई हेर्ने दृष्टिकोण के बन्ला? तिनको सम्मान कसले गर्ला? छिमेकमा वरिपरि कसैले त्यसप्रकारको कुरा गर्दै हिँड्न थाल्यो भने ऊ कसरी सतही बन्दै जाला र मानिसहरूले बाटोघाटोमा त्यस्ता व्यक्तिलाई भेट्दा ‘यस्ता मान्छेको कुरा सुनेर समय बर्बाद पार्नुहुन्न, यसको बोलीको केही ठेगान नै छैन, आज एउटा कुरा भन्छ भोलि अर्को’ भनेर उसबाट पन्छिन खोजेका अनेक दृष्टान्त भेटिन्छन्। पहिलेका बूढापाकाहरू भन्थे– मानिसको बोलीमा शक्ति हुन्छ, त्यसैले धेरै खर्च गर्नुहुँदैन। योग विज्ञानले पनि त्यही भन्छ कम बोल। धर्मशास्त्रहरूमा पनि यही कुरा छ थोरै बोल धेरै सुन। सोनिया गान्धीले प्रचण्डले झैँ बोल्दै हिँड्ने हो भने के हुन्थ्यो होला? शायद भनिने थियो– महिलाले बोलेको कुरा पनि पत्याउने? किल्किले नभएकाहरूको बोलीको के भरोसा हुन्छ र? जेहोस्, प्रचण्डको बोलीले मुलुकलाई जे–जे गरेको भए पनि पितृसत्तात्मक अवधारणा परिवर्तनमा भने ठूलो योगदान पुगेको मान्नुपर्छ।

बबिता बस्नेत