पोर्चुगलका बिन्दास नेपालीले बनाए, एनआरएनमा निर्विरोध

nrn portugalएनआरएनका युरोपका राष्ट्रिय समितिहरूको निर्वाचन धमाधम हुँदै गर्दा धेरैजसो ठाउँहरूमा राजनीतिक खिचातानी भैरहेका छन् । तथापि, नेपालीहरूको राम्रै उपस्थिति रहेको पोर्चुगलमा भने निर्विरोध समिति गठन भएको छ ।

दक्षिणी पश्चिमी युरोपमा रहेको पोर्चुगलको अर्थतन्त्र पश्चिमी युरोपेली मापदण्डमा कमजोर मानिन्छ । थुप्रै पोर्चुगिजहरू कामको सिलसिलामा विदेशिने गर्छन् । स्वदेशी नागरिकहरूमा विदेशी जागीरको आकर्षण भएकाले आवश्यक जनशक्ति पुरा गर्न पोर्चुगलको आप्रवासी नीति ‘विदेशीमैत्री’ छ । त्यसैकारण थुप्रै नेपालीहरू अपेक्षाकृत सजिलै पाइने रेसिडेन्सी कार्डको निम्ति पोर्चुगललाइ गन्तव्य बनाउँछन् । पोर्चुगलका नेपालीहरूको  ठूलो हिस्सा पश्चिमी युरोप घुमेर/बसेर आएका नेपालीहरूको छ । यस्ता थुप्रै नेपालीहरू इलमी झन्, धेरै ठाउँ देखेका छन् र मेडेटेरियन र अटलान्टीक हावापानीले बिन्दास पनि छन् ।

एनआरएन पोर्चुगलको राष्ट्रिय समिति रमेशकुमार गुरूङको अध्यक्षतामा निर्विरोध निर्वाचित भएको छ । आइ सी सी सदस्य सूर्य हमाल बनेका छन् । त्यसैगरी उपाध्यक्षहरूमा गोविन्द सापकोटा र गोविन्द पाैडेल चुनिएका छन् भने सचिव, सह-सचिव र कोषाध्यक्षमा हेमन्त सेढाइँ, बुद्धि गुरूङ र पुरूषोत्तम सुवदीको मात्र उमेदवारी परेपछि निर्विरोध छानिएका छन् । त्यस्तै अन्य सदस्यहरुमा शुशीला थापा, भुपेन्द्र सुवेदी, मिलन सुवेदी, रमेश कँडेल, मंगलवहादुर परियार, शिवराज पौडेल, कृतिकला पौडेल, भोजनारायण रेग्मी, विष्णुप्रसाद खनाल, कृष्ण कँडेल, तिर्थराज शिलवाल छन् भने युवा प्रतिनिधि सदस्य कमल गुरुङ र महिला प्रतिनिधिमा मनुमाया मल्ल रानाभाट र संघको लेखा समिति अध्यक्षमा तिलक गैरेको उम्मेदवारी परेर निर्विरोध भएका छन् । हिजो जुलाइ १८ गतेसम्म उमेदवारको नाम दाखिला गर्ने अन्तिम मिति रहेको थियो ।

यसअघि पोर्तुगलमा एनआरएन निर्वाचनको रन्को देख्दा मतदान प्रकृया अपनाउनु पर्ने हो की जस्तो वातावरण देखिएको थियो तर अन्तमा सहमति मै काम बन्यो । प्रकृया सकिएपछि त्यसप्रति प्रतिकृया राख्दै आदिवासी जनजाति महासंघ पोर्तुगल र जनप्रगतिशील मञ्च पोर्चुगलले एनआरएनको गठन प्रक्रियामा जनसम्पर्क समितिले एकलाैटी गरेको दोष लगाएको छ । जनसम्पर्कले आइसीसी सदस्य, अध्यक्ष र सचिव तीनवटै प्रमुख पदमा अडान राखेर आफूहरूलाइ समाहित नगरेको गुनासो जनजाति महासंघको छ ।