पुराण लगाएपछि विद्यार्थी बेहोस हुने क्रम रोकियो

उदयपुर जिल्लाको पश्चिमी पहाडी गाविस सिरिसे–७ पट्नाभन्ज्याङ माध्यमिक विद्यालयमा सप्ताहव्यापी पुराण लगाएपछि विद्यार्थी बेहोस हुने क्रम रोकिएको छ । एक महिनादेखि विद्यालयका छात्रा प्रत्येक दिनजस्तो बेहोस हुने काम्ने र छाद्ने क्रम बढ्दै गएको र कक्षा ८ मा अध्ययनरत एक छात्राले पुराण लगाउन भन्दै बक्न थालेपछि स्थानीय अभिभावक तथा विद्यालय व्यवस्थापन समिति परिवारले खर्च जुटाएर पुराणको आयोजना गरेका थिए ।

बाउन्नजना पण्डितहरू पढाइ सप्ताहव्यापी पुराणको आयोजना गरेको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष मनकुमार तामाङले बताउनुभयो । चार दिन अघिमात्र पुराण सम्पन्न गरेर विद्यालय सञ्चालन सुरु गरेपछि अहिले विद्यालयमा छात्रा काम्ने र बेहोस हुने क्रम रोकिएको विद्यालयका प्रध्यानाध्यापक प्रेमबहादुर खत्रीले बताउनुभयो ।

पुराण सम्पन्न भएर विद्यालय सञ्चालन गर्न थालेपछि अहिले विद्यालयमा काम्ने तथा बेहोस हुने क्रम पूर्णरुपमा रोकिएको स्थानीय अभिभावकसमेत बताउँछन् ।