पूर्वराजालाई के गर्दा हृदयाघात भयो ?

शनिबार राति एक्कासि हृदयाघातका कारण राजधानीको नर्भिक अस्पताल भर्ना गरिएका पूर्वराजा ज्ञानेन्द्रको स्वास्थ्यमा सुधार अस्पतालले डिस्चार्ज गरेको छ।
मुटुको धमनीको रक्तनली बन्द भएका कारण एन्जियोप्लास्टी तथा स्टेनिङको माध्यमबाट सफलतापूर्वक खोलिएको र अहिले स्वास्थ्यस्थिति स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

Gyanendra-Shah
नातीसँग खेल्दै गर्दा हृदयाघात
नातिको जन्मदिनमा रमझम गरिरहेका पूर्वराजा ज्ञानेन्द्रलाई शनिबार हृदयघात भएको हो। छोरी प्रेरणाका छोरा पार्थकबहादुर सिंहको जन्मदिन मनाउन छाउनीस्थित विजय निवासमा पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई खाना खाएर छोरी, ज्वाइँ र नातिसँग रमाइलो गर्दागर्दै हृदयघातको संकेत देखिएको थियो।
भाग्यवश समय मै उपचार
निर्मल निवासबाट राति करिब साढे ७ बजे सहयोगी सुदन थापाका साथमा छाउनी पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रलाई अप्ठ्यारो महसुस हुनासाथ नजिकै रहेको वीरेन्द्र सैनिक अस्पतालबाट चिकित्सक बोलाएर जाँच गरिएको थियो। अस्पतालका प्रमुख चिकित्सक किशोर राणाले उहाँको स्वास्थ्य परीक्षण गर्नुभएको थियो। तत्कालीन रोयल फिजिसियनसमेत रहनुभएका चिकित्सक राणाले तत्काल नर्भिक अस्पताल लैजान सल्लाह दिएपछि पूर्वराजा ज्ञानेन्द्र, सहयोगी सुदन थापा र चिकित्सक राणासँगै जानुभएको थियो।

‘समयमै अस्पताल पुर्याउन सकिएकाले उहाँलाई उपचार गर्न सहज भएको हो।’ –उहाँ निकट एक सहयोगीले भने। बाटोमा समस्या पर्ने भएपछि चिकित्सकको सल्लाहमा तत्काल छोटो बाटो कलंकी, त्रिपुरेश्वर हुँदै नर्भिक पुर्याइएको थियो। अस्पताल पुग्नासाथ उहाँलाई डा. यादवदेव भट्टले भर्ना गराउनुभएको थियो। साथमा रहनुभएका डा. राणाले उहाँको अवस्थाबारे जानकारी दिनुभएको थियो।

प्रायःजसो महेन्द्र मञ्जिल छाड्न नरुचाउने पूर्व मुमा बडामहारानी रत्न साँझ करिब साढे ६ बजे नर्भिक पुग्नुभएको थियो।

स्रोतका अनुसार पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र बढी चिन्ता तथा तनावमा भएकै कारण अत्यधिक मात्रामा चुरोट पिउनाले मुटुको धमनीको रक्तनली बन्द भएर समस्या आएको हो।

छोरा पारस शाहको गतिविधिकै कारण ज्ञानेन्द्र शाहमा तनावको स्थिति उत्पन्न भएको र केही समयदेखि उच्च रक्तचाप पनि देखापरेको बताइन्छ । पूर्वराजालाई समयमै अस्पताल पुर्याइएका कारण उपचार सम्भव भएको अस्पताल स्रोतले जनाएको छ।