पर्यटक भन्छन् – ‘नेपाल अझै सुन्दर र सुरक्षित छ’

“भुइँचालोले यहाँका संरचना पूरै भत्केको जस्तो गरेर सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका थिए तर त्यो होइन रहेछ, बस्न खान होटल रेष्टुराँ, घुम्न पदयात्रा मार्ग र नाम चलेका पर्यटकीयस्थल सुरक्षित भएको पाएँ” – सान्टमेरियाले भन्नुभयो ।

नेपाल आफ्नो सपना भएको र घुम्न पाउँदा अतिनै रोमाञ्चित भएको बताउँदै उहाँले यहाँ घुम्ने धोको अझै नपुगेकाले आगामी मार्चमा आउने बताउनुभयो । नेपाली जनजीवन, बालबालिका, संस्कृति र हिमाली क्षेत्रको फोटोमा रुचि राख्नुभएका उहाँले अस्टे«लियामा नेपालसम्बन्धी फोटो प्रदर्शनी गर्ने सोच बनाउनुभएको छ ।

तीन हजार दुई सय मिटर उचाइको पुनहिलबाट देखिने धौलागिरि, अन्नपूर्ण हिमशृङ्खला, पोखरा उपत्यकाको मनोरम दृश्य, भक्तपुर एवम् काठमाडाँैको नेवारी संस्कृति र यहाँको जनजीवनले आफूलाई बढी लोभ्याएको सान्टमेरियाले सुनाउनुभयो ।

“नेपाल प्राकृतिक रुपमा साँच्चिकै सुन्दर छ र सुरक्षित छ, यो सन्देश विश्वभर फैलाउनु जरुरी छ” – दर्जन बढी देश घुमिसकेका सान्टमेरियाले नेपालपछि इन्डोनेसिया र मलेसिया उड्नुअघि भन्नुभयो ।

चौथो पटक नेपाल घुम्न आउनुभएका क्यानडाका ब्रुस एडवर्ड रोवटर्स र थिएर्से रोवटर्स भूकम्पपीडितलाई सघाउन र नेपालको अवस्था बुझेर विदेशीलाई घुम्न आउने सन्देश फैलाउन यसचोटी यहाँ आइपुग्नुभएको छ ।

धेरै देश घुमेर भ्रमण कार्यक्रममा विशेष दक्खल राख्ने यो जोडीले दाता र भूकम्पपीडितबीच प्रत्यक्ष सम्पर्क गरी पीडितलाई सघाउन वेभसाइटमार्फत नेपालका लागि सहयोग अभियान पनि सुरु गर्नु भएको छ । केही विद्यालय र घर एवम् पीडित बालबालिकाका लागि सहयोग जुटिसकेको उहाँहरुले बताउनुभयो । “भूकम्पले विदेशी पर्यटकलाई नेपाल घुम्न अप्ठ्यारो छ कि भन्ने सोच भ्रममात्र रहेछ, घुमफिर र बस्नखान कुनै समस्या देखिएन बरु अहिलेको इन्धन समस्याले जनजीवनलाई असर गरेको रहेछ” – रोवटर्स दम्पतीले भन्नुभयो ।

काठमाडौँपछि पोखरा र त्यस क्षेत्रको एक महिने घुमघामका क्रममा रोवटर्स दम्पतीले वेभसाइटमार्फत भूकम्पपीडित क्षेत्रका विद्यालयसहितका सामुदायिक भवनहरु, घर तथा पीडित व्यक्तिको पहिचान गरी सहयोग जुटाउनेसमेत बताउनुभयो । “हिमाल, ताल, नदीनाला, पहाड, विभिन्न भाषाभाषी, संस्कृति र आफ्नै मौलिक जनजीवन रहेको नेपाल सुन्दर र सुरक्षित रहेको सन्देश विदेशमा फैलाउन हामी पनि मद्दत गर्छौं” – भर्खरै कोरियाको भ्रमणपछि नेपाल आउनुभएका रोवटर्स दम्पतिले भन्नुभयो ।

वसन्तपुर दरबार क्षेत्रमा भेटिएका न्युयोर्क ९अमेरिका० का फ्रान्जर गुन्टर दम्पतीले पश्चिमा मिडियाले भूकम्पले नेपाल पूरै ध्वस्त भएजस्तो गरेर चित्रण गरे पनि यहाँ आउँदा आफूले त्यस्तो नभएको महसुस गर्नुभयो ।

“केही संरचना भत्केका छन्, तर पर्यटकलाई बस्न, घुम्न र हेर्न कुनै असुविधा छैन म अमेरिका पुगेपछि यो सन्देश दिन चाहन्छु” – भुटान जाने तयारीमा रहनुभएका उहाँहरुले भन्नुभयो ।
भक्तपुर, पाटन, वसन्तपुर दरबार क्षेत्रजस्ता राजधानीका प्रमुख पर्यटकीय स्थलमा पर्यटकको चहलपहल देखिए पनि गतवर्षको दाँजोमा यो सङ्ख्यामा कमी आएको छ । भूकम्पले पर्यटकका घुमघाम, खानपिन र बसोबासका बारेमा उचित सूचना बेलैमा प्रवाह हुन नसक्दा यसपटकको पर्यटकीय मौसममा पर्यटकको सङ्ख्यामा कमी आएको हो ।

वसन्तपुर दरबार क्षेत्रको पर्यटक सूचना केन्द्रका अनुसार आव ०७१÷०७२ मा दुई लाख २७ हजार ११६ पर्यटक आएका थिए । उनीहरुबाट रु १५ करोड ७० लाख राजस्व उठेको थियो । यो वर्ष असोजको तेस्रो सातासम्म पाँच हजार ५९३ पर्यटक आएका छन् । जबकि अघिल्लो वर्ष साउन महिनामा मात्रै २२ हजार २५५ र भदौमा १६ हजार पर्यटकले भ्रमण गरेका थिए ।

विगत पाँच वर्षदेखि सो क्षेत्रमा पर्यटक पथप्रदर्शकको काम गर्दै आउनुभएका सुजन रिजाल पनि राजधानीका मुख्य स्थलमा पर्यटकको चहलपहल देखिए पनि विगतको तुलनामा भने कमी रहेको बताउनु हुन्छ ।

“भूकम्पले यहाँको पर्यटन क्षेत्रमा कुनै असर पुगेको छैन भन्ने सूचना बेलैमा दिन नसक्दा यो मौसममा पर्यटक घटेका हुन्, अहिलेको चहलपहल हेर्दा भने आउँदो मौसममा पर्यटक बढ्नेछन्” – पथप्रदर्शक रिजाल भन्नुहुन्छ । रासस