पत्रकारितालाई जिम्मेवार र व्यावसायिक बनाइने – सञ्चार मन्त्री

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले पत्रकारिता क्षेत्रलाई व्यावसायिक, जिम्मेवार र टिक्न सक्ने बनाउन सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घको ६१औँ स्थापना दिवसका अवसरमा महासङ्घ कैलाली शाखाद्वारा  आयोजित कार्यक्रममा मन्त्री राईले समग्र सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाई राष्ट्रप्रतिसमेत जिम्मेवारी बोध गराउन यससँग सम्बन्धित नीति र योजनाहरु बनाउन लागिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – “सबै किसिममा सञ्चारमाध्यमलाई हेर्ने गरी प्रेस काउन्सिलको कामलाई प्रभावकारी र समयानुकूल बनाउन लागिएको तथा एउटा छुट्टै आयोग पनि बनाउनेबारे छलफल भइरहेको छ ।”

श्रमजीवि पत्रकार ऐनको अक्षरशः कार्यान्वयन गर्ने कार्यको थालनी गर्न लागिएको उल्लेख गर्दै उहाँले श्रमजीवि पत्रकारको न्युनतम पारिश्रमिक निर्धारण समितिले दिएको प्रतिवेदनमा उल्लिखित पत्रकारका सेवा सुविधाहरु आगामी वैशाखदेखि कार्यान्वयनमा ल्याउन लागिएको बताउनुभयो ।

“आमसञ्चार प्रशिक्षण प्रतिष्ठानलाई अगाडि बढाउने प्रयास पनि गरिरहेका छौँ, नामसँग कुनै अर्थ छैन, कामसँग छ” – मन्त्री राईले भन्नुभयो ।

अब देशको मुख्य ‘एजेन्डा’ राष्ट्र निर्माण भएकाले सरकार नयाँ ढङ्गले अगाडि बढ्न लागेको उल्लेख गर्दै उहाँले राष्ट्रलाई बलियो र समृद्ध बनाउने गरी यसको पक्षमा कलम चलाउन पत्रकारहरुसँग आग्रह गर्नुभयो ।

महासङ्घका जिल्ला अध्यक्ष भरत शाहको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारहरु मनमोहन स्वाँर, उमिद बागचन्द, हेमन्त पौडेल, दिलबहादुर छत्याललगायतले मोफसलको पत्रकारिताले भोग्नुपरेका समस्याका बारेमा प्रकाश पार्नुभएको थियो ।

नेपालमा पत्रकारहरुको पेसागत सङ्गठनका रुपमा नेपाल पत्रकार महासङ्घको विसं २०११ आजकै दिन चैत १६ गते स्थापना गरिएको थियो ।रासस