नोवेलभन्दा ठूलो राशीको पुरस्कार

breakthrough prize in life sciencesविभिन्न क्षेत्रमा पुर्‍याइएको योगदानका लागि प्रतिवर्ष दिइने अहिलेसम्मको सबभन्दा ठूलो धनराशि भएको पुरस्कारको नाम हो– नोवेल पुरस्कार। यस पुरस्कारबापत १२ लाख अमेरिकी डलर प्रदान गरिन्छ। तर, धनराशिको तुलनामा नोवल पुरस्कारलाई निकै पछाडि पार्ने गरी विश्वका नामुद हस्तीहरू मिलेर अर्को एक पुरस्कार स्थापना गरेका छन्। फेसबुकका संस्थापक मार्क जुकरबर्ग, एप्पल कम्पनीका बोर्डअध्यक्ष आर्ट लेबिन्सन, रुसी उद्यमी युरी मिलनर र गुगलका सहसंस्थापक सर्गे ब्रिन मिलेर स्थापना गरिएको उक्त विशेष पुरस्कारको राशि ३० लाख डलर हुनेछ भने ‘ब्रेक थ्रु प्राइज इन लाइफ साइन्सेज’ नाम दिइएको उक्त पुरस्कारबाट ‘लाइफ साइन्स’मा शोध गर्ने अब्बल व्यक्तिलाई सुशोभित गरिने बताइएको छ। विशेषगरी जटिल प्रकृतिका रोगको उपचारका लागि शोध–अनुसन्धानमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने व्यक्तिलाई उक्त पुरस्कार प्रदान गरिनेछ। ‘ब्रेक थ्रु प्राइज इन लाइफ साइन्सेज’का लागि यसपटक ११ व्यक्तिको मनोनयनसमेत गरिसकिएको छ। यो पुरस्कार कतिपय व्यक्तिलाई साझा रूपमा दिन पनि सकिने र एकै व्यक्तिलाई पटक–पटक प्रदान गर्न पनि सकिने बताइएको छ भने यसका लागि उमेरको कुनै बन्धन पनि राखिएको छैन।