नेबिसंघ असन्तुष्ट पक्षद्वारा पुन आमरण अनसन बस्ने चेतावनी

नेविसङ्घको ११औँ महाधिवेशनको सुनिश्चितताको माग गर्दै असन्तुष्ट पक्षले पुनः आमरण अनशन बस्ने चेतावनी दिएको छ । ‘११औँ महाधिवेशनको मिति तोकिएको यो नवौँ पटक हो ।  यसअघि आठ पटकसम्म मिति तोकेर पनि महाधिवेशन हुन सकेन’ नेविसङ्घ नेता कुन्दन काफ्लेले शुक्रबार ११औँ महाधिवेशनको चुनौती विषयमा आयोजना गरिएको अन्तक्र्रियामा भने ।
नेता काफ्लेले आठपटकसम्म महाधिवेशन हुन नसक्नुका कारणको खोजी नगर्ने हो भने साउन २३ मा हुने भनिएको ११औँ महाधिवेशन पनि हुन नसक्ने दाबी गरे ।
असन्तुष्ट पक्षका नेता पूर्व केन्द्रीय सदस्य गणेश सापकोटाले नेविसङ्घ केन्द्रीय समितिले ६४ जिल्लाको अधिवेशन सम्पन्न भएको छ भने पनि ११ वटा जिल्लामा विधिवत् अधिवेशन हुन नसकेको र करिब ६ सय प्रतिनिधि गैरकानुनी रूपमा चयन गरिएको आरोप लगाउँदै यो विवादको समाधान नगरेसम्म अधिवेशन हुन नसक्ने बताए ।
कार्यक्रममा विद्यार्थी नेता युवराज पाण्डे, बलदेव तिम्सिना, नेविसङ्घ केन्द्रीय सदस्य एवम् कार्यक्रम संयोजक जी शेरचन, नेविसङ्घ काभ्रेका सभापति माधव ढकाल, नेविसङ्घ कैलालीका सभापति विनय लामा लगायतले बोलेका थिए ।  महाधिवेशनको माग गर्दै यसअघि काँग्रेस मुख्यालय सानेपामा विद्यार्थी नेता गणेश सापकोटाको नेतृत्वमा नौ दिन आमरण अनशन गरिएको थियो ।
यसैबीच विद्यार्थी नेता सापकोटाले विवाद समाधान नगरी महाधिवेशन गर्ने हो भने पुनः आफ्नो नेतृत्वमा विद्यार्थी आमरण अनशनमा बस्ने चेतावनी दिए । ‘ विवाद समाधान नगरी महाधिवेशन गरिन्छ भने त्यो महाधिवेशनको नाटक मात्र हुनेछ त्यसैले नाटक मञ्चन नहोस् भनेर हामीले आमरण अनशनको चेतावनी दिएका हौँ ।’ उनले भने