नेपाल-बेल्जियम सम्वन्धको ५० औं बर्षगाँठ मनाईयो

नेपाल-बेल्जियम सम्वन्धको ५० औं बर्षगाँठ विहिवार बेल्जियन राजधानी ब्रसेल्समा एक विशेष कार्यक्रमको आयोजना गरी मनाईयो |कार्यक्रम  बेल्जियमकोFlag-Nepal-Belgium विदेश मन्त्रालयको एग्मो प्यालेसमा सम्पन्न भएको थियो |नेपाली  दूतावास बेल्जियम र परराष्ट्र मन्त्रालय बेल्जियमको आयोजना र यूरोपियन इन्स्टिच्युट फर एसियन स्टडीज(EIAS)सँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो |

कार्यक्रममा बेल्जियन विदेश मन्त्रालयका डाईरेक्टर जनरल योहान भान देसेलले नेपाल बेल्जियम बिचको प्रगाढ सम्वन्धको चर्चा गर्दै नेपालको बिकास प्रयासहरुमा बेल्जियमबाट ई.यु. तथा संयुक्त राष्ट्र संघ लगायतका बहुपक्षीय माध्यममार्फत विगत २५ बर्षमा दुई करोड दुई लाख युरो बरावरको सहयोग प्रवाह गरेको जानकारी गराए|

ईयु तथा बेनेलक्सका लागि नेपाली दूतावास राममणि पोखरेलले नेपाल बेल्जियम बिचको सम्वन्ध हार्दिकता, पारस्परिकता र आपसी सहयोगमा आधारित रहेको बताउँदै बेल्जियमले नेपालको राजनैतिक तथा आर्थिक क्षेत्रमा पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेका थिए |  उनले पछिल्लो समय द्विपक्षीय ब्यापारमा बृद्धी हुँदै गैरहेको उल्लेख गर्दै नेपालको ब्यापार प्रवर्द्धन तथा नेपालमा लगानीका लागि बेल्जियन उद्यमीहरुलाई आव्हान गरे| यसैगरी बेल्जियमका विभिन्न विश्वविद्यालयहरुमा दर्जनौँ नेपाली विद्यार्थीहरु छात्रवृत्तिमा अध्ययनरत रहेको तथा नेपाली समुदायले बेल्जियममा सफल ब्यबसाय संचालन गरी बसेको जानकारी गराउँदै नेपालीहरुप्रति बेल्जियम सरकारको सदिच्छाको सराहना गरेका थिए|

साथै यसै बर्ष बेल्जियममा प्रथम विश्वयुद्धको शतवार्षिकी समेत मनाईरहेको सन्दर्भमा द्विपक्षीय सम्वन्धलाई अझ प्रगाढ बनाउने शिलशिलामा दूतावास बेल्जियमको ईपर युद्ध स्मारक क्षेत्रमा गोर्खा सैनिकको प्रतिमा स्थापना गर्न गैरहेको जानकारी समेत गराए |उक्त अन्तरक्रिया कार्यक्रममा ईयूको दक्षिण एसिया विभागका उप-प्रमुख पिटर नागीले सन् २०१४ देखि २०२० को अवधिमा ईयूले नेपालको लागी ३६ करोड युरोको सहयोग गर्ने बताउदै उक्त सहयोग रकम मुख्यत दिगो ग्रामिण विकाश,लोकतन्त्रको संस्थागत सुदृढीकरण तथा ब्यापार विकाशमा केन्द्रित हुने जानकारी गराए |

यूरोपियन इन्स्टिच्युट फर एसियन स्टडीजका बोर्ड मेम्बर एडी लौरिसनले बेल्जियममा रहेका नेपालीहरु बेल्जियमको समाजमा राम्ररी घुलमिल भै नेपाल-बेल्जियम बिचको सामाजिक तथा सांस्कृतिक सम्वन्धलाई घनिष्ट बनाएको बताए| उनले बेल्जियन नागरिकहरु बिभिन्न अन्तराष्ट्रिय गैरसरकारी संघसंस्था मार्फत नेपालको ग्रामिण क्षेत्रमा पुगी शिक्षा तथा स्वास्थ्यमा सहयोग गरेका बताए| यसै गरी इकोरम इन्भारोमेन्टल सोलुसन्सका स्टेफन हेल्सन,इन्स्टिच्युटका सी.ई.यो आक्सेल गोथालले पनि नेपाल बेल्जियम सम्वन्धको चर्चा गरेका थिए |

कार्यक्रमको अन्तमा दूतावास नियोग उप-प्रमुख कुमार राज खरेलले धन्यवाद ज्ञापन गरेका थिए| अन्तरक्रिया पश्चात रिसेप्सनको आयोजना गरीएको थियो| बेल्जियन सरकार र  ईयूका उच्च पदाधिकारी तथा प्रतिनिधिहरु सम्मिलित उक्त कार्यक्रममा ब्रसेल्स स्थित बिभिन्न मुलुकका राजदूतहरु तथा कुटनीतिज्ञहरु, नेपाली दूतावासका कुटनीतिक पदाधिकारीहरु, ब्यापारी तथा निजि क्षेत्रका प्रतिनिधिहरु, बेल्जियमका लागी अवैतनिक नेपाली महाबाणिज्यदूतहरु तथा बेल्जियमका गैर आवासीय नेपाली समुदायका सदस्यहरु सहभागी भएको दूतावासले जनाएको छ|

नेपाल-बेल्जियमबीच १९ अगस्त १९६३ मा कुटनीतिक सम्वन्ध कायम भएको थियो |