नेपाल-बेल्जियम सम्बन्धको स्वर्ण जयन्तिका अवसरमा कार्यक्रम हुँदै

नेपाल-बेल्जियम सम्बन्धको स्वर्ण जयन्तिका अवसरमा बेल्जियमको विदेश मन्त्रालय र नेपाली राजदूतावासको सहयोगमा भोली विहीवार एक कार्यक्रम हुने भएको छ ।
युरोपियन इन्स्टिच्युट फर एशियन स्टडिज सहितको आयोजनामा हुने सो कार्यक्रम नेपाल-बेल्जियमबीच कुटनीतिक सम्बन्ध शुरू भएको ५० वर्ष मनाउन ब्रसेल्सको प्लास पेति साब्लोंमा आयोजित गरिएको हो ।

Flag-Nepal-Belgiumइन्स्टिच्युटका सि. इ. यो. आक्सेल गोथालको अध्यक्षतामा हुने सो कार्यक्रममा बेल्जियन विदेश मन्त्रालयका डाइरेक्टर जनरल योहान भान देसेल, नेपाली राजदूत राममणि पोखरेल र बेल्जियन विदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने डिभिजन प्रमुख पिटर नागीले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दैछन् ।

त्यस्तै इकोरम इन्भारोमेन्टल सोलुसन्सका स्टेफन हेल्सन, बेल्जियन कुटनीतिज्ञ आनमी वितोक्स र युरोपियन इन्स्टिच्युट फर एशियन स्टडिजका बोर्ड मेम्बर एडि लौरिसनले द्वीपक्षिय सम्बन्धबारे मन्तव्य राख्नेछन् भने नेपाली राजदूतावासका काउन्सिलर कुमारराज खरेलले धन्यवाद मन्तव्य दिएर कार्यक्रम समापन हुनेछ ।
नेपालको आर्थिक विकास र लगानी तथा दक्षिण एशियामा नेपालको क्षेत्रिय भूमिका जस्ता विषयहरूमा कार्यक्रममा छलफल हुने अपेक्षा गरिएको छ ।

नेपाल-बेल्जियमबीच १९ अगस्ट १९६३ मा कुटनीतिक सम्बन्ध कायम भएको थियो ।