नेपाली फिल्म: लगानीको रहस्य

यो वर्ष सकिनै लाग्दा नेपाली बजारमा १ सय १० भन्दा बढी नेपाली फिल्म प्रदर्शनमा आइसकेका छन् । अझै धेरै फिल्म रिलिजमा आउँदै छन् । गत साल लुट र चपली हाइट हिट भएका थिए, यो वर्ष भने त्यस्तो पनि देखिएको छैन ।

फिल्मको व्यापारको कुरा गर्दा हल सञ्चालकसमेत रहेका केही निर्माताले आफूले बनाएका फिल्मको लगानी उठेको दाबी गरे पनि यो वर्ष फिल्मले लगानी उठाएको देखिएन । यसको मतलब यो वर्ष सबैजसो फिल्मले घाटा बेहोरे । गत साल पनि ७२ ओटा फिल्म प्रदर्शन भएकोमा लगभग ६५ भन्दा बढी फिल्मले घाटा बेहोरे । यसरी हेर्दा फिल्म घाटाकै व्यवसाय हो भनेर प्रस्ट भन्न सकिन्छ । तैपनि किन भटाभट फिल्म बनिरहेका छन् ? जिज्ञासाको अनौठो विषय भएको छ । अहिले नेपाली फिल्म किन चल्दैनन् भन्ने कुरामा दुविधा छैन । अधिकांस नराम्रो बनेका कारण नेपाली फिल्म नचलेको कुरा प्रमाणित भएको छ । यो कुरा भर्खरै चलेको फिल्म छड्केले पनि प्रमाणित गरेको छ । यो फिल्मको प्रोमो हेरेर धेरैले यसलाई कुरेर बसेका थिए । प्रोमोकै कारण दुई दिनसम्म हलले दर्शक थाम्नै सकेन । त्यति ठूला भीडलाई छिचोलेर फिल्म हेर्न हलमा पुगेका अधिकांस दर्शकले फिल्म मन पराएनन् । फिल्म प्रभावकारी नभएको एक कान दुई कान मैदान भएपछि तेस्रो दिनदेखि दर्शक हलमै जान छाडे । लुटजस्तो फिल्म बनाएर पैसा सोरेका छड्केका निर्माता माधव वाग्लेले स्वीकारे– ‘हामी यसपालि फिल्म निर्माणमै चुक्यौं । ’
kp_kollywoodफिल्म छड्केले नै प्रमाणित गर्यो नेपाली फिल्म गतिलो नभएरै नचलेको हो । हुन त बने जति सबै फिल्म नराम्रा बने र नचलेका हुन् भन्ने पनि हुँदैन । बीचबीचमा राम्रा फिल्म पनि आउन सक्छन् । तर धेरै कलाकारले फट्याइँ गरेपछि एकदुई जना राम्रा कलाकारलाई पनि अमेरिकाले भिसा नदिएजस्तै केही राम्रा फिल्म बीचमा आए पनि त्यो दर्शकको रोजाइमा पर्न सक्दैन । यस अर्थमा नेपालमा राम्रो फिल्म हेर्न पाउने अनि फिल्म चलेर राम्रो मुनाफा कमाउने दिन आउन निकै कठिन छ । तैपनि हरेक वर्ष बढीभन्दा बढी फिल्म बनेको खबर भने आइरहेको छ ।

माघ महिनामा फिल्मकर्मीको आन्दोलनले फिल्म निर्माणमा कमी आएको महसुस भए पनि फागुन र चैतमा भटाभट फिल्म बनिरहेका छन् । अहिले पनि राजनीति, क्रिमिनल, फिटकीरी, झोला, चिहान, होस्टललगायतका लगभग एक दर्जन फिल्मको निर्माण भइरहेको छ । अहिले फिल्म निर्माण गर्ने धेरै निर्माताको भनाइलाई मूल्यांकन गर्दा कुनै पनि फिल्म निमार्ताले विशुद्ध नाफा कमाउनका लागि फिल्मको निर्माण गरिरहेका छैनन् । यसको मतलब उनीहरू पूर्ण व्यावसायिक निर्माता होइनन् । थोरै निर्माताले मात्र आफ्नो फिल्मले लगानी उठाउने दाबी गरेका छन् । उनीहरू केका लागि फिल्म बनाइरहेका छन् त ? यो झनै जिज्ञासाको विषय हुन सक्छ । ‘मैले यो फिल्म शतप्रतिशत नाफा नै हुन्छ भनेर बनाएको हैन, आत्मसन्तुष्टि र यो क्षेत्रका बारेमा केही ज्ञान लिनका लागि बनाएको हुँ’, फिल्म बर्बादका निर्माता रमेशकुमार पाठक भन्छन्– ‘नाफा कमाउनका लागि मेरो अलग्गै व्यवसाय छ ।’ साथी सर्कलका कारणले पनि यो फिल्ममा लगानी गरेको पाठकले बताए ।

फिल्म मञ्जरीका निर्माता महेश चालिसे भने नाफा कमाउनै भनेर फिल्म बनाएको बताउँछन् । उनको विचारमा राम्रो फिल्म चल्छ । ‘फिल्म राम्रो होला भन्ने भान दर्शकलाई पार्न शुरूशुरूका दिनमा दर्शक हलमा जान्छन् । फिल्म राम्रो छ भने त माउथ पब्लिसिटीले पनि फिल्म चल्छ’, चालिसे फिल्मले नाफा नै कमाउने आधार पुष्टि गर्दै अगाडि भन्छन्– ‘हामीले लामो अध्ययन गरेर स्क्रिप्टलाई बलियो पारेर फिल्म बनाएका छौं । यसर्थ फिल्म कुनै हालतमा पनि छ्या भन्ने खालको छैन । हाम्रो मलेसियामा पनि फिल्मको प्रदर्शन गर्ने कार्यालय छ । अरू देशमा पनि फिल्म प्रदर्शन गर्ने क्षमता भएकाले घाटा नै चाहिँ हुँदैन होला ।’

द्वन्द्व निर्देशक तथा फिल्म निर्देशक एनबी महर्जनको बुझाइमा अहिले निर्देशन गर्ने र कलाकार हुने चाहना पूरा गर्न फिल्म बनिरहेका छन् । लगानी गरेर फिल्म खेल्ने धेरै कलाकार बढी रहेका छन् भने नयाँनयाँ निर्माताले मात्रै फिल्ममा लगानी गरिरहेका छन् । उनको बुझाइमा यो रंगीन दुनिया हो । यहाँ जेसुकै भए पनि एक किसिमको आकर्षण र ग्ल्यामर छ । राम्रो फिल्म बनाउँछु भनेर नै लाग्ने मानिस पनि नभएका भने होइनन् । तर भ्रमको खेती गर्नेको पनि राम्रै भीड छ । त्यसैले फिल्म बनी नै रहन्छ । यो उद्योग ग्राउन्डेड हुँदैन । र, पनि सुरक्षित लगनी चाहनेले यो क्षेत्रमा बिल्कुलै लगानी गर्दैनन् ।

अहिले नायक राज तिमल्सिनाले २ सय वर्षअघिको सति प्रथामा आधारित फिल्म झोला बनाइरहेका छन् । उनले पनि नाफा नै होला भनेर फिल्म बनाइरहेका छैनन् । उनले खालि फिल्ममा काम गरियो, एउटा फिल्म बनाई हेरौं भनेर यो फिल्म बनाएका हुन् ।

उनलाई यो फिल्मबाट नाफा कमाउने भन्दा पनि राम्रो फिल्म बनाउने तथा यसलाई ओस्कारमा पुर्याउने रहर छ रे । निर्देशक दिनेश डीसीको बुझाइमा फिल्म उद्योग जुवा हो र यो नसा पनि हो । ‘यो नाम अनि क्रिएसनको नसा हो । नयाँ निर्माता निर्देशक मेरो नयाँ सोचले फिल्म चल्छ भनेर आउँछन् भने पुराना पहिलाको गल्ती सुधारेर फिल्म बनाउँछु भनेर लाग्छन् । अनि फिल्म फ्ल्प हुँदा पनि फिल्म बनी नै रहन्छन्’, डीसी भन्छन्– ‘निर्माता निर्देशकमा हुने पीआर प्रेसरका कारणले पनि फिल्म बनिरहन्छ । भनाइको मतलब एउटा फिल्म बनाएपछि साथीभाइले अर्को फिल्म कहिले भनेर प्रश्न गरिरहन्छन्, यस्तै आकर्षणले फिल्म बनिरहन्छन् ।’ डीसीको विचारमा केही फिल्म असफल हुँदा पुराना निर्माताले मात्र फिल्म बनाउन छाड्छन् । नयाँलाई त्यसको खासै प्रभाव पर्दैन । किनकि नयाँ निर्मातालाई यो रंगीन दुनियाको आकर्षणको पर्दाले ढाकेको हुन्छ ।
प्रस्तुति : सरोज प्याकुरेल