नेदरल्याण्डमा कलाकारहरुको क्षेत्रिय भेला हुने

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज नेदरल्याण्ड (International Nepalese Artist Society (INAS)) ले आयोजना गर्न लागेको दोश्रो चलचित्र अवार्ड र युरोपस्तरीय नेपाली नृत्य प्रतियोगितामा विश्वभरिबाट नेपाली कलाकारहरुको ठूलो जमघट हुने भएको छ।

आउदो मार्च महिनाको २९ र ३० तारिक नेदरल्याण्डमा आयोजना हुने कार्यक्रममा २९ तारिकका दिन इनासको युरोपस्तरीय क्षेत्रीय भेला गरिने भएको छ। उक्त भेलामा इनासका युरोप कन्टिनेन्टमा रहेका पदाधिकारीहरु र शाखाका अध्यक्षहरुले इनास युरोप र शाखाका गतिविधीहरुका सम्बन्धमा छलफल गर्नुहुने इनास नेदरल्याण्ड शाखाका अध्यक्ष सरद जोशीले जानकारी गराउनुभएको छ। सोही दिन गैर-आवासीय नेपाली संघ युरोप, गैर-आवासीय नेपाली संघ नेदरल्यान्ड लगायतका बिभिन्न मुलुकमा रहेका गैर-आवासीय नेपाली संघहरु, इनास युरोपका प्रतिनिधिहरु, नेपाली एकता समाज फ्रान्स, सांस्कृतिक गृह फ्रान्स, युरोपीयन हिमालयन एसोसिएशन जर्मनी लगायत कार्यक्रमका लागि संयुक्त सहकर्मी टिमका प्रतिनिधिहरु र मिडिया पार्टनर टिमका प्रतिनिधिहरुको उपस्थितिमा नेपाली चलचित्रको स्तरमा सुधार र विश्वब्यापी बजार विस्तारका लागि चलिनुपर्ने कदम र नेपाली सांस्कृतिक उत्थानका लागि लिइनुपर्ने थप कार्यनितिको बारेमा ब्यापक छलफल गरिने भएको छ।

उक्त छलफलमा नेपाल सरकार, चलचित्र बिकास बोर्डका तर्फबाट कार्यपत्र प्रस्तुत गरिने र गैर-आवासीय नेपाली संघ युरोप र अनेकसको फिल्मी डेभलोपमेन्ट कमिटिबाट सम्भाव्यता सहितको सुझाव पेश गर्ने गरी कार्ययोजना तयार गरिएको अध्यक्ष जोशीले जानकारी गराउनुभएको छ। नेपाली कला र चलचित्रलाई जगतलाई विश्वब्यापि पहिचान दिने यो छलफल कार्यक्रममा सहभागीताका लागि नेपाल सरकार, चलचित्र बिकास बोर्ड, नेपाल चलचित्र बिकास कम्पनी, नेपाल चलचित्र निर्माता संघ, चलचित्र प्राविधिक संघ, निर्देशक समाज, युरोपस्थित नेपाली राजदुतावासका प्रतिनिधि, गैर आवासीय नेपाली संघ युरोपका संयोजक र उपसंयोजकज्यूहरुका साथै अन्य मूलुकका एनआरएनका प्रतिनिधिज्यूहरुलाई विशेष आमन्त्रण गरिने जानकारी समेत अध्यक्ष जोशीले जानकारी गराउनुभयो।
ned cultural prog
कार्यक्रमको दोश्रो दिन मार्च ३० तारिक अझ बिशेष हुने देखिन्छ। यो दिन सर्वो उत्कृष्ट चलचित्र अवार्ड, कलाकार सम्मान र युरोप महादेशस्तरीय नृत्य प्रतियोगिता आयोजना गरिने भएकाले पनि यो दिनलाई विश्वभरीका नेपालीहरुले चासोका साथ हेरेका छन्। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले उत्कृष्ट चलचित्र अवार्डका लागि चलचित्रको छनौट गरेर इनासलाई पठाउने बारेमा नेपाल चलचित्र प्राविधिक संघलाई जिम्मेवारी दिएको छ।

इनासले योपटक पनि प्रवासबाट निर्माण भएका चलचित्रहरुलाई प्रोत्साहन र सम्मान स्वरुप प्रदान गरिने बिशेष चलचित्र अवार्डलाई निरन्तरता दिने भएको छ। यसपटक नृत्य प्रतियोगिताका लागि युरोप महादेशका १७ देशले भाग लिने पूर्व जानकारी प्राप्त भएको र नृत्य प्रतियोगिता सम्बन्धी नियम सहितको विस्त्रित जानकारी छिट्टैनै सार्वजनिक गरिने अध्यक्ष जोशीले बताउनुभयो।
– भगवती बस्नेत, नेदरल्याण्ड