धुर्मुस सुन्तली सहयोग जुटाउन कतार जादै

गिरान्चौर एकिकृत बस्ती निर्माणमा खटिएका हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सहयोग जुटाउन कतार जाने भएका छन् ।
बस्ती निर्माणको सहयोगार्थ कतारमा इदको दोश्रो दिन हुन गइरहेको सुन्तली धुर्मुस साँझमा सहभागिता जनाएर सहयोग जुटाउन उनीहरु त्यसतर्फ जान लागेका हुन् । उनीहरुका साथ नायिका तथा चलचित्र निर्मात्री रेखा थापा, हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेल, लोक दोहोरी गायक राजु गुरुङ, लोक दोहोरी गायिका मुना थापामगर, डि आई डि सिजन ५ का फस्र्ट रनर अप निर्मल तामाङ, भोजपुरी नृत्यांगना रानी चटर्जी, सिमा सिंह, भोजपुरी नायिका परिनिका शर्मा लगायतका कतार जाँदैछन् ।
कार्यक्रमबाट उठेको रकम खर्च कटाएर धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरिने कार्यक्रम आयोजक कल्याण घिमिरेले बताएका छन् । दर्शकहरुले प्रत्यक्ष भेटेर नै गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि सहयोग गर्न सक्ने धुर्मुस सुन्तलीले बताएका छन् ।
एकै चोटी ६५ घर नै बनाइदै

सक्रिय हात: गिरानचौकमा घर निर्माण गरिंदै ।

यही वैशाख २९ बाट निर्माण कार्य थालनी भएको गिरान्चौरमा ६५ घरकै जग खनिसकिएको बताईएको छ  । सडक र पानी अभावका कारण काममा केहि ढिलाई भएपनि दशैँ अघि नै काम सम्पन्न गर्ने गरेर बस्ती हस्तान्तरण गर्ने फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिएका छन् ।

रु.चार करोड सहयोग संकलन
करिब पाँच करोड अनुमानित लागत रहेको गिरान्चौर एकिकृत बस्ती निर्माण परियोजनाका लागि अहिलेसम्म करीब रु.चार करोड रुपियाँ सहयोग संकलन भएको छ । कतिपय ठाउँमा बस्ती निर्माणका लागि सहयोग संकलन भइरहेकाले छिट्टै नै उक्त लक्ष्य पुरा हुने उनीहरुको अपेक्षा छ । यो लक्ष्य पुरा हुने बित्तिकै यो परियोजनाका लागि सहयोग संकलन कार्य बन्द गरिने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । साथै खर्चको विवरण सार्वजनिक गरिने फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् ।
एक लाख ७४ हजार खातामा रहेको समयमा बस्ती निर्माण घोषणा गरिए पनि अहिले चार करोड रुपैँया जम्मा भइसकेकाले सबै दाताहरुलाई फाउण्डेशनले धन्यवाद पनि ज्ञापन गरेको छ । – गोप अनलाइन