दूतावास बिक्रीमा फेरि चलखेल

लन्डनस्थित नेपाली दूतावास भवन बिक्रीको सर्वत्र विरोध भएपछि आलोचना मत्थर बनाउन अर्को खेल सुरु भएको छ। इन्स्यारेन्सको रकम तिर्न नसकिएको कारण देखाएर दूतावास बेच्नका लागि ‘इमोसनल ब्लाकमेलिङ’ सुरु गरिएको छ। एक वर्षको ४३ हजार पाउण्ड अर्थात् करिब ६० लाख रुपैयाँ तिर्नु बाँकी छ। तर सो रकम तिर्न नसकिएको प्रचारबाजी गरिन थालिएको छ।
embassy_of_nepal_in_londonदूतावास बेच्नका लागि सरकारले बेलायतस्थित नेपाली राजदूत सुरेशचन्द्र आचार्यको संयोजकत्वमा एक छानबिन समिति गठन गरिसकेको छ। सो समितिले अझै प्रतिवेदन बुझाएको छैन। तर बिक्री गर्नका लागि माहोल बनाउन बीमाको रकम तिर्न नसकिएको भन्दै अहिले प्रचार सुरु गरिएको छ।
लन्डनको अत्यन्तै महँगो ठाउँमा नेपालको दूतावास भवन छ। जुन भवन नेपालीलाई बेलायत सरकारले उपहारस्वरुप दिएको हो । भवन एकदमै कलात्मक रहेकाले त्यसको अरबौं रुपैयाँ आउँछ। लन्डनको केङस्टिन प्यालेस गार्डेनमा नेपालको पाँच तले दुतावास भवन छ। जुन भवन बेचेर कमिशन खानका लागि लामो समयदेखि चलखेल हुँदै आएको समाचार आइरहेका छन्। दूतावास भवन बिक्रीको विरोधमा गैरआवासिय नेपाली सँघले दबाब समिति गठन गरेको छ ।

नेपाली दूतावास भवन खरिदमा बेलायतमा बस्ने भारतिय नागरिक बिलेनियर लक्ष्मी मित्तललगायतको चाख रहेको चर्चा गरिन्छ ।