दुर्गा पूजामा मुस्लिम पनि

दसैंका बेला सार्वजनिक स्थानमा मूर्ति बनाएर आयोजना हुने दुर्गा पूजा सफल पार्न यहाँका एक मुस्लिम युवा दिनरात खटिएका छन् । धार्मिक सहिष्णुताकोdashain उदाहरण बनेका हरिवन नगरपालिका ११ का शेष महबुब रेजा पूजा समितिको कोषाध्यक्ष पनि हुन् ।

करिब २ लाख ५० हजार खर्च हुने अनुमान गरिएको उक्त पूजाको आर्थिक जिम्मा रेजाले लिएका छन् । पूजाका लागि मंगलबारसम्म सबैभन्दा बढी ११ हजार दान गर्नेमा उनै छन् ।

हरिवनस्थित पूर्व-पश्चिम राजमार्गछेउमा मूर्ति स्थापना गरेर पूजाको भव्य तयारी भइरहेको छ । उनले तयारीको दैनिक रेखदेख गर्छन् । लागेको खर्च जुटाएर आवश्यक ठाउँमा दिन्छन् ।

पूजा समिति अध्यक्ष विजय श्रेष्ठ रेजाले हिन्दु पर्वमा निर्वाह गरेको भूमिकाले समाजलाई सकारात्मक सन्देश दिएको बताउँछन् । ‘हिन्दु मुस्लिम र मधेसी, पहाडीको समस्या भइरहने हरिवनमा रेजाको भूमिका उदाहरणीय हो,’ उनले भने, ‘यसले अरूलाई पनि प्रेरणा दिन्छ । मुस्लिम चाडमा हिन्दुले पनि सहयोग गर्नेछन् ।’

श्रेष्ठका अनुसार दुर्गा पूजा लगाउनका लागि भेला डाक्नेलगायत काम रेजाले नै गरेका हुन् । भेलाले रेजालाई कोषाध्यक्षको जिम्मेवारी दियो । हिन्दु धर्मावलम्बीको पूजा समितिमा मुस्लिम आयोजक बस्दा कसैले विरोध गरेनन् ।

‘मलाई सबैले सर्वसम्मत कोषाध्यक्षमा राख्नुभयो,’ रेजाले भने, ‘हाम्रो मिश्रित समाजमा सामाजिक सदभावका लागि सबैले उदारता देखाउनुपर्छ भन्ने मलाई लाग्छ । मधेसी, पहाडी, हिन्दु, मुस्लिमको नाममा समाज फुट्नु हुँदैन । मेरो प्रयत्न समाज जुटेर बसोस् भन्ने हो ।’

मुस्लिम समुदायकै केहीले हिन्दुको पूजा समितिमा बसेको भनेर गाइँगुइँ विरोध भएको उल्लेख गर्दै उनले राम्रो काम गर्दा आउने विरोधबाट विचलित नहुने बताए । ‘थोरैले विरोध गरे पनि राम्रो काम भयो भनेर धेरैले प्रशंसा गर्नुभएको छ,’ उनले भने, ‘सकारात्मक काम गर्दा विरोधसँग डराउनु जरुरी छैन ।’ आजको कान्तिपुरमा अमन कोईरालाले लेखेका छन्|

हरिवनका पूर्वगाविस अध्यक्ष डिल्ली उप्रेतीले बिनाभेदभाव एकअर्काको धार्मिक कार्यमा सहयोग गर्दै सफल पार्न निर्वाह गरिने भूमिकाले सामाजिक सदभावलाई बलियो बनाउने बताए ।