दिल्लीमा तहल्का मच्चाउने केजरीवाल को हुन् ?

भारतमा हालै सम्पन्न नयाँदिल्ली विधानसभा निर्वाचनमा नयाँदिल्लीकी मुख्यमन्त्री तथा भारतीय कांग्रेस आईकी उम्मेदवार शिला दीक्षितलाई हराएपछि भारतीय मिडियामा नवगठित आम आद्मी पार्टीका नेता अरबिन्द केजरीवालको चर्चा चुलिएको छ । तर, केजरीवालको चर्चा अहिले आएर चुलिएको होइन । अन्ना हजारेसँगको सहयात्रादेखि मतभेदसम्मका प्रशंगमा पनि केजरीवालको चर्चा व्यापक हुन्थ्यो ।
विधानसभा निर्वाचनमा चुनिएपछि केजरीवालले भारतीय राजनीतिमा क्रान्ति सुरु भएको बताएका छन् । सन् १९६८ मा जन्मेका केजरीवाल सरकारी कर्मचारी हुँदै भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्दैै राजनीतिमा छिरेका छन् । २० हजार मतले शिला दीक्षितलाई हराएपछि भारतीय राजनीतिमा सबल खेलाडी मानिने सबैले उनको प्रशंसा गर्न थालेका छन् । सोनिया गान्धी, राहुल गान्धीले त केजरीवालबाट पाठ सिकेर राजनीतिमा अगाडि बढ्ने उद्घोष पनि गरिसकेका छन् ।

ArvindKejriwalकेजरीवालले चुनाव जितेपछि भारतमा राजनीति भ्रष्ट नभई राजनेता भ्रष्ट भएको बताएका छन् । उनले सरकार बनाउन कसैको सहयोग नखोज्ने बरु अर्कोपटक चुनाव लड्ने पनि घोषणा गरेका छन् । दिल्लीमा २८ सिटमा विजयी भएको केजरीवालको पार्टी आम आद्मी पार्टीले स्वच्छ छविको सरकार बनाउने आश्वासन दिएको थियो । त्यो पूरा नहुने सम्भावना आम आद्मी पार्टीले बहुमत नल्याएपछि बढिरहेको छ । त्यसो त पछिल्ला दिनमा केजरीवालको पार्टीले सरकार बनाउने हल्ला पनि व्यापक रूपमा चलेका छन् । तर, कांग्रेस वा भाजपाको सहयोगविना केजरीवालको दलले सरकार बनाउन सक्दैन । फेरि केही दिनअघि केजरीवालले कुनै पनि दललाई समर्थन नगर्ने बताएका कारण दिल्लीमा पुन: चुनाव हुने हो कि भन्ने अनुमान पनि गरिएको छ । जे होस्, दिल्लीको राजनीति यतिवेला केजरीवालवरिपरि घुमिरहेको छ । आखिर को हुन् केजरीवाल ?

केजरीवाल सन् १९६८ मा भारतको हरियाणा जिल्लामा जन्मेका हुन् । पहिले सरकारी कर्मचारी केजरीवालको चर्चा अन्ना हजारेसँग नाम जोडिन थालेपछि चर्चामा आयो । भारतमा भ्रष्टाचारविरोधी जनलोकपाल विधेयक माग गर्दै अन्ना हजारेसँग अनशनमा बसेपछि उनको चर्चा बढ्यो । त्यति मात्र होइन, उनले भारतमा सूचनाको हकसम्बन्धी कानुन बनाउन विशेष भूमिका खेले । भारतमा लागू भएको सो कानुनलाई केजरीवालको आन्दोलनको प्रमुख उपलब्धि मानिन्छ ।

आइआइटी खडगपरबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका केजरीवाललाई एसियाको नोबेल पुरस्कार मानिने म्यागासेसे पुरस्कार पनि दिइएको छ । उनको कुशल नेतृत्वको प्रशंसा गर्दै सो पुरस्कार उनलाई दिइएको हो । केजरीवालले सामाजिक आन्दोलनमा उत्रन सरकारी जागिर पनि छाडे । सरकारी जागिर छाडेर सामाजिक आन्दोलनमा आएकाले उनलाई भारतका युवाले बढी मन पराउँछन् ।

त्यति मात्र होइन, केजरीवालले दिल्लीमा पानी र बिजुलीको महसुल बढेपछि त्यसविरुद्ध विभिन्न समयमा अनशन बसे । उनले अनशन बसेपछि दिल्लीवासीलाई सो आन्दोलन चर्काउन आग्रह गरेका थिए । उनले दिल्लीवासीका जीवनमा असर गर्ने सुक्ष्म विषयमा ध्यान दिने भएकाले उनको आन्दोलनलाई धेरैले प्रमुखताका साथ हेरेका छन् ।

सामाजिक काममा अग्रसर भएर अन्ना हजारेसँग अनशन बस्न थालेपछि केजरीवाललाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि प्राथमिकता राख्न थाले । प्रत्येक वर्ष विश्वभरका एक सय प्रभावशाली व्यक्तिको सूची प्रकाशन गर्ने पत्रिका टाइमले केजरीवालको नाम सन् २०१३ मा सूचीकृत भएका १५३ नाममा छनोट गर्‍यो । त्यो सूचीमा पर्ने केजरीवाल एकमात्र भारतीय नागरिक हुन् । सो सूचीमा पर्ने समयमा पनि केजरीवालले अचम्म हुँदै भनेका थिए, ‘मलाई कुन सूचीमा परेको छु भन्ने थाहा छैन । सूचीमा आउने मेरो उद्देश्य पनि होइन, म मान्छेको काममा आउन सकुँ, त्यति भए पुग्छ ।’
दिल्लीको विधानसभा चुनावमा दिल्लीकी निवर्तमान मुख्यमन्त्री तथा कांग्रेसकी उम्मेदवार शिला दीक्षितलाई केजरीवालले भारी मतले हराए । तर, शिलाले केही समयअघि केजरीवालबारे केही विषय बोलेकी थिइन् । उनले केजरीवालले मानिसलाई झुटा आश्वासन बाँडेको बताएकी थिइन् । शिला दिक्षितले भनेकी थिइन्, ‘केजरीवालमा कुनै गम्भीरता छैन । उनी मानिसलाई भड्काइरहेका छन् । उनी मानिसलाई भनिरहेका छन्, ‘हामी लोकपाल विधेयक ल्याउँछौँ । जसरी पनि ल्याउँछौँ ।’ तर, केजरीवालले बिल ल्याउन सक्दैनन् । लोकपाल कानुन ल्याउन संसद्मा छलफल हुनुपर्छ, केजरीवालले त मानिसहरूलाई छलिरहेका छन्, उनमा कुनै गम्भीरता छैन ।

जसरी एक राजनीतिक दलमा गम्भीरताको आवश्यकता पर्छ, जसरी राजनीतिक दलले काम गर्नुपर्छ, उनमा त्यो छैन । उनको दलमा पनि कुनै राजनीतिक गम्भीरता छैन । अरबिन्दलाई हातमा कुचो लिएर मानिससँग रमाइलो बात मार्न आउँछ, त्योबाहेक उनीमा केही छैन ।’

किन जिते केजरीवालले ?
दिल्ली विधानसभा निर्वाचनमा केजरीवालले जितेपछि दिल्लीको राजनीतिमा ठूलो परिवर्तन देखिन थालिएको छ । ठूलो मतान्तरले जितेका केजरीवाल चर्चाका विषय भएका छन् । उनको पार्टीको चर्चा भारतभर भएको । केजरीवालले जित्नुका पछाडि केही कारण छन् । प्रस्तुत छ, केही कारण :

अन्नाको आन्दोलनको फाइदा
अन्ना हजारेको भ्रष्टाचारविरोधी आन्दोलनको फाइदा पनि केजरीवाललाई भयो । अन्नाका सबै आन्दोलन नयाँदिल्लीका विषयमै केन्द्रित थिए । त्यसले दिल्लीका जनतालाई विशेष प्रभाव पारेको थियो । अन्नाकै एजेन्डासँग जोडेर खोलिएको केजरीवालको पार्टीले त्यसको भरपूर फाइदा लियो ।

इमानदार छवि
आयकर विभागका जोइन्ट कमिसनर पदलाई त्यागेर राजनीतिमा लागेका केजरीवालले जागिरे जीवनमा एउटा पनि गलत काम गरेनन् । उनीमाथि आजसम्म कुनै पनि आरोप लागेको छैन । भारतमा सरकारी कर्मचारीमाथि लाग्ने कुनै पनि आरोप नलागेपछि केजरीवाललाई इमानदार कर्मचारीयका रूपमा चिनियो । यसले उनलाई राजनीतिमा ठूलो सहयोग गर्‍यो ।

वैकल्पिक राजनीतिको बाटो
केजरीवालले राजनीतिमा लागेपछि मानिसको सेन्टिमेन्टलाई सजिलै पक्रन सके । उनले लामो समयदेखि राजनीतिप्रति देखापरेको वितृष्णालाई समात्दै दिल्लीका जनतालाई आफ्नो दल राजनीतिक दल नभई राजनीतिको विकल्पका रूपमा प्रस्तुत गरे । त्यसैले पनि दिल्लीका मानिसले उनलाई सहजै रुचाए ।

चुनावको रणनीति
केजरीवालले चुनाव घोषणा भएको केही समयमै चुनावी प्रचार सुरु गरे । उनी दिल्लीका अन्य उम्मेदवारभन्दा सहज रूपमा मिडिया प्रस्तुत भए । आममानिसको घर, दैलोमा पुगे । सडकमा देखिए । मिडियाले उनलाई सहजै सम्पर्क गर्न सक्यो । यसका कारण पनि मानिसले उनलाई बढी रुचाए ।

इच्छाशक्ति तथा दृढता
केजरीवालको इच्छाशक्ति तथा दृढताले पनि उनलाई जितनजिक पुर्‍यायो । उनले धेरै पहिलेदेखि नै शिला दीक्षित जुन क्षेत्रबाट चुनाव लड्दै छिन्, त्यही क्षेत्रमा आफूले उम्मेदवारी दिने बताए । र, त्यसलाई उनले पूरा गरे पनि । त्यसैले उनले दिल्लीमा सहज जित हात पारे ।

चुनाव चिह्नमा झाडु
अरबिन्दले आफ्नो दलको चुनाव चिह्नमा झाडुलाई रोजे । त्यसलाई सांकेतिक रूपमा घरमा फोहोर सफा गरेजस्तै सरकारी काममा पनि सफाइ गर्ने उद्देश्य बताउन थाले । त्यसका कारण पनि उनलाई चुनावमा प्रचार गर्न सजिलो भयो । मानिसले उनको चुनाव चिह्नलाई रुचाए ।

पार्टीको नाम
केजरीवालले पार्टीको नाम आम आद्मी पार्टी राखे । त्यसले मानिसलाई सो दलप्रति सकारात्मक सोच विकास गर्न सहयोग गर्‍यो । मानिसले दलको नामका कारण पनि त्यसलाई आफ्नै पार्टीका रूपमा लिए । जसले गर्दा केजरीवालले चुनावमा धेरै सहानुभूतिका मत पाए ।
(एजेन्सीहरू/नयाँ पत्रिका)