दार्जीलिङका लेखकहरू हिन्दी छोडेर किन नेपालीमा लेख्छन् ?

दार्जीलिङमा बसेर नेपाली भाषामा सिर्जना गरिरहेका कवि स्रस्टाहरू थुप्रै छन्। उनीहरू बेला–बेलामा नेपाल आउने क्रम पनि बढ्न थालेको छ। दार्जीलिङ्गे कविहरू काठमाडौं आएर त्यसै फर्किन्नन्, आफ्ना कविता सुनाउँछन् र नेपालका कविहरूको कविता सुनेर जान्छन्। कवितामाथि बहस गर्छन्।
यसै क्रममा मजदुर दिवसका दिन दार्जीलिङबाट पाँच कवि काठमाडौं आए। मनोज बोगटी नेपाल आऊ–जाऊ गरिरहने दार्जीलिङ्गे कविमध्येमा पर्छन्। यसपालि उनका साथमा कविहरू निमा शेर्पा, प्रदीप लोहागुन, विनोद प्रधान र लेखनाथ क्षत्रीले पनि पहिलो पटक काठमाडौंको यात्रा पूरा गरे। उनीहरूसँग दार्जीलिङ र नेपालको साहित्यका बारेमा राम्रै कुराकानी भयो। नेपाल समाचारपत्रका लागि गरिएको कुराकानीकै क्रममा कवि मनोज बोगटीले दार्जीलिङ्गे लवजमा भने– ‘आम्बो, यसपालिको यात्रा त उत्सवमय भयो नि हौ, शब्दमा त भन्नै सकिन्न नि हौ।’

उनीहरूको एउटा विशेषता छ। नेपाल आउँदा उनीहरूको संगत नेपालमा पहिचानसहितको संघीयता माग गर्दै सिर्जना गर्नेहरूसँग बढी हुन्छ। यसबारेमा मनोज भन्छन्– ‘उहाँहरूको कविता जुलुम टाइपको छ हो, हाम्रो मनको कुरा लेख्ने भएर हामीलाई मन परेको हो। हामी जे भोगिरहेका छौं त्यही लेख्ने कविहरू भएकाले हामी कविताले नै जोडिएका हौं।’ एक बहसका क्रममा मदन पुरस्कार विजेता राजन मुकारुङले दार्जीलिङ्गे कविहरूसँग आफूहरूको लडाइँको चरित्र मिल्ने भए पनि त्यसको केन्द्र्र फरक भएको बताएका थिए। यसलाई विनोद प्रधानले यसरी व्याख्या गरे– ‘समाजका उच्च तहका मानिसले जहिल्यै पनि तलका मानिसलाई केन्द्रबाट विमुख गराउँछन्। यहाँ पनि त्यसो भइरहेको छ, उता पनि त्यस्तै भइरहेको छ। हामीले नेपाललाई र नेपालले भारतलाई हेर्ने दृष्टिकोणको बीचमा रहेर यसलाई व्याख्या गरिनुपर्छ भन्ने मलाई लाग्छ। हामीलाई जोडेको भाषाले हो। अथवा हामी जो–जो साथीहरूको वृत्तमा छौं, उहाँहरू संघीयताका निम्ति र हामी गोर्खाल्यान्डका लागि लडिरहेका छौं। र, भाजपाले गोर्खाल्यान्डको आश्वासन देखाएर सरकार बनायो भने यहाँका साथीहरूलाई समस्या पर्छ भन्ने हो। तर यो राजनीतिकरूपले पर्ने समस्या हो, कविताका हिसाबले होइन।’

तर, यसलाई अर्का कवि निमा शेर्पाले भने यस्तो सोच्न नहुने र यो दुई देशको आन्तरिक राजनीतिक अवस्थाले निर्धारण गर्ने बताउँछन्। भन्छन्– ‘यस्तो भयो–भयो भने राजनीतिकरूपमा होला, तर साहित्यिक विभाजन नहोला र हुन पनि हुँदैन। लेखक–कविहरू आमनागरिकभन्दा माथि उठेर हेर्ने भएकाले त्यो मोदी सरकार आउनेबित्तिकै कवि–लेखकहरू पनि त्यता मुछिनुपर्छ भन्ने लाग्दैन।’ दार्जीलिङमा लेखनको कुरा गर्दा अहिलेसम्म लेखेरै बाँच्न सकिने वातावरण नभएको भए पनि आगामी दिनमा लेखेरै बाँच्न सकिने बताए उनले। निमाले भने– ‘दार्जीलिङमा कमसेकम अहिलेचाहिँ लेखेर बाँच्ने वातवारण छैन। त्यसको पछाडि एउटा कारण छ। लेखे पनि त्यहाँ प्रकाशक छैनन्। काठमाडौंमा चाहिँ लेखकलाई प्रकाशकले समेत जिम्मेवार बनाइदिँदोरहेछ। यहाँ प्रकाशकले नै लेखकलाई रिराइट गराउनेसम्मको सचेतता रहेछ। तर दार्जीलिङमा त लेखकले के लेख्यो त्यही छापिदिने हो। यो हामीले देख्दै नदेखेको कुरा हो। तर अब लेखेरै खाने सम्भावनाचाहिँ बढेको छ।’

दार्जीलिङका लेखकहरू हिन्दी छोडेर किन नेपालीमा लेख्छन् ? यसको जवाफ प्रदीप लोहागुन भन्छन्– ‘हामीले नेपालीमा लेख्ने भनेको हाम्रो मातृभाषामा लेख्ने भन्ने हो। तर नेपाली भाषामा लेख्दा केन्द्रलाई आफ्नो कुरा सुनाउन सकेका छैनौं। किनभने त्यहाँको राष्ट्रिय भाषा हिन्दी हो र दिल्लीले नेपाली भाषा बुझ्दैन। र भारतचाहिँ स्वतन्त्र हुँदा नै संघीय भएर आयो र हामीले आञ्चलिक भाषामा नलेखेर किन राष्ट्रिय भाषामा लेख्ने भन्ने भयो।’ गोर्खा ल्यान्डको समर्थनमा रचना सिर्जना गर्दै आएका सर्जकका बारेमा लेखनाथ क्षत्रीले सुनाए– ‘भारतमा डाइभर्सिटी छ। त्यसमध्येमा हामी गोर्खाहरू पनि पर्छौं। र, हामी आफ्नो पहिचान संरक्षणका लागि लडेनौं भने भोलि उनीहरूसँगै मर्ज भएर जानुपर्छ। त्यसैले हामीले आफ्नो पहिचानकै लागि यसको समर्थनमा लागिरहेका हौं।’ नेपालका साहित्यकारले भने दार्जीलिङ्गे कविहरूसँग गुनासो पोखे– ‘मेचीपारिबाट आख्यान आएन।’
गणेशकुमार राई