दशैं

कविता

Dipendra KCसुनसान गुम्म यो दशैंमा
कुनै मालुवाका हुलबाट
हुर्केका वचेराहरु, छरिएर जताततै
हराएको कविता लेख्दालेख्दै
एउटा रहर बनिदिन्छ दशैं ।
नसिंगारिएर यसै
म उभिएको छु यो कोलाहलमा
दुनियाँको आँखा छलेर
यो अर्काको शहरमा,
अनुभूतिको अतिथी बनेर
चोक, गल्ली र बजारमा कम
हाम्रा कोठाकोठामा धेरै छिरेको छ दशैं ।
सम्झना र रहरहरु
थाँती राख्ने हो भने
औपचारिकता पूरा गर्ने
भारी मनको लर्कोमा लामबद्ध
यो क्रमिकताको भीडमा
मनको शान्तिको प्रतीक हुदोरहेछ
मनको अशान्तिको प्रतीक हुदोरहेछ दशैं ।
समयको जँजीरभित्र कैद
एक दिन, एक क्षणका लागि छुटेर आउने
पाहुना हुदो रहेछ दशैं
तिमीसँग छैन आफनो कुनै छनोट
जसरी स्वीकार गरेपनि हुदो रहेछ दशैं ।
यो आदिमताको खोल ओढेरै
फेरि पनि म बसिरहनेछु
व्यग्र प्रतीक्षामा !
आगामी दशैंलाई ।
-दीपेन्द्र के.सी.
बागलुङहाल- लुभेन, बेल्जियम