तारानाथ शर्मा र तुलसी दिवसलाई मधुपर्क सम्मान

साहित्यिक मासिक ‘मधुपर्क’का तर्फबाट वरिष्ठ निबन्धकार डा. तारानाथ शर्मा र वरिष्ठ कवि तुलसी दिवसलाई शुक्रबार एक समारोहबीच ‘मधुपर्क सम्मान–२०७१’ प्रदान गरियो। मधुपर्कको ४७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले उहाँहरूलाई सम्मान प्रदान गर्नुभएको हो। गद्य र पद्यमा गरी दुई विशिष्ट स्रष्टालाई बर्सेनि मधुपर्क सम्मान प्रदान गरिँदै आएको छ।

निबन्धकार डा. तारानाथ शर्मा र कवि तुलसी दिवसलाई ‘मधुपर्क सम्मान–२०७१'सोही अवसरमा कवि तथा गीतकार एवम् पूर्व अर्थमन्त्री एस्पी कोइरालालाई गोरखापत्रको पहिलो अंक मायाको चिनोको रूपमा प्रदान गरिएको थियो।गोरखापत्र संस्थानका महाप्रबन्धक तथा प्रधानसम्पादक सुशील कोइरालाको सभापतित्वमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले आफूले पनि एक समय गोरखापत्रमा जागिर खाएको स्मरण गर्दै सम्मानित स्रष्टाहरूलाई बधाई दिनुभएको थियो।

मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ले स्वागत गर्नुका साथै सम्मानित स्रष्टाको चयनका बारेमा प्रकाश पार्नुभएको थियो। सम्मानित स्रष्टाद्वय, कवि एवम् गीतकार एस्पी कोइराला, नेपाल साहित्यिक पत्रकार संघका सभापति रोचक घिमिरे र मधुपर्कका तुलसीहरि कोइरालाले पनि कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो।