ढोंगी बाबा आशारामका ११ किस्सा

हरेक मानिसलाई मुक्ति र मोक्ष दिलाउन सक्छु भन्दै प्रवचन दिने भारतीय आध्यात्मिक गुरु आशाराम यतिवेला थुनामा छन् । आफ्नै साधककी १७ वर्षीया छोरी बलात्कार गरेको आरोप उनलाई लागेको छ । भारतको जोधपुरको एक अदालतले उनलाई १५ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । उनका अनुयायी उनको रिहाइको माग गर्दै आन्दोलन गरिरहेका छन् भने महिला अधिकारकर्मी तथा भारतका मानिस उनलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । प्रस्तुत छ, आशारामका ११ किस्सा :

“जेलबाट निकाल, अफिसर बनाइदिन्छु”

Sadhuram so called babaन्यायिक हिरासतमा रहेका आशारामले त्यहाँ प्रहरीलाई पैसा र पदको लोभ देखाएका छन् । हिरासतमा मात्र होइन, उनले पक्राउ परेलगत्तै प्रलोभन देखाउन थालेका थिए । उनलाई पक्राउ गर्ने प्रहरी अधिकारीहरूलाई उनले मोटो रकम दिने आश्वासन पनि दिएका थिए । त्यसका साथै उनले आफूलाई छाडिदिने अधिकारीको दुई तह बढाइदिने दाबी गरेका थिए । उनले आध्यात्मिक तरिकाले भए पनि बढुवा गर्ने दाबी गरेको प्रहरी स्रोतले बताएको छ ।

“पत्नी पनि गुरुलाई समर्पण गर्नुपर्छ”

आशारामको साबरमती आश्रमको योगवेदान्त सेवा समितिले प्रकाशन गरेको ‘श्री गुरुगीता’ नामक पुस्तकको ३८औँ श्लोकमा भक्तले आफ्नो शरीर, प्राण तथा सबैथोक सद्गुरुलाई अर्पण गर्नुपर्छ भन्ने लेखिएको छ । त्यही श्लोकमा भक्तले आफ्नी श्रीमती पनि सद्गुरुलाई अर्पण गरे मात्र न्याय ठहरिने लेखिएको छ । त्यति मात्र होइन, उनकै आश्रमबाट प्रकाशित अन्य पुस्तकमा पनि ३८ औँ श्लोकमा भक्तले श्रीमती पनि गुरुलाई समर्पण गर्नुपर्ने लेखिएको छ ।

करोडौँका मालिक

कुनै वेला दुई छाक टार्न धौधौ भएर चियापसल र मदिरा पसलमा काम गरेका आशारामको अहिले करोडौँको सम्पत्ति छ । उनले विश्वभर आफ्ना साधक १५ करोडभन्दा धेरै भएको दाबी गरेका छन् । भारतमा उनका चार सयभन्दा धेरै आश्रम छन्, ५० भन्दा धेरै गुरुकुल छन् । उनको सम्पत्ति करोडैा डलर भएको अनुमान छ ।

विवाह गर्दिनँ भनेर भागेका थिए

१४ अप्रिल १९४१ मा बेरानी गाउँमा जन्मेका आशारामको खास नाम आशुमल सिरुमलानी हो । सानैदेखि एकोहोरो स्वभावको भएकाले परिवारले उनको बिहे गरिदिने निधो गर्‍यो । विवाहको सबै तयारी पूरा भए पनि आठ दिनअघि उनी घरबाट भागे । पछि करकापमा उनको विवाह भयो । सन् १९६८ मा उनले परिवार छोडेर उत्तर प्रदेश गए ।

उत्तर प्रदेशको एक आश्रममा उनले ७० दिन ध्यान गरे । त्यसपछि उनले आफूलाई बुद्धत्व प्राप्त भएको भन्दै राजास्थानमा आश्रम खडा गरे । त्यहाँ पनि उनी ध्यानमै बढी समय बिताउने उनको वेबसाइटले दाबी गरेको छ ।

लफडाका शृंखला
लामो समय आशारामबारे खासै समाचार बाहिर आएनन् । उनका समर्थक तथा अनुयायी बिस्तारै बढ्दै गए । उनले दैनिक प्रवचन दिन थाले । सन् २००८ बाट उनीबारे समाचार आउन थाले, तर सबै नकारात्मक ।

सन् २००१ म आशारामको योग वेदान्त समितिलाई सत्संगका लागि ११ दिन प्रयोग गर्न रतलाममा मंगल्य मन्दिर आसपासको क्षेत्र दिइएको थियो । तर, १२ वर्ष बितिसक्दा पनि सात सय करोडभन्दा धेरै पर्ने भनिएको सो जमिन आशारामकै कब्जामा छ ।

त्यस्तै, आशारामलाई सन् २००० मा गुजरात सरकारले नवसारी जिल्लामा १० एकड जमिन दिएको थियो । तर, सो गाउँका मानिसले आशारामले त्यसको वरपर थप ६ एकड जमिन हडपेको आरोप लगाएका छन् ।

आशरामकै आश्रमका एक पूर्वसदस्य राजु चन्डकले पनि पुलिसलाई आशारामले विभिन्न तन्त्र गरेको र महिलामाथि यौन दुव्र्यवहार गरेको देखेको बताएका छन् । राजु चन्डकले आशारामका अन्य गोप्य कुराको खुलासा गरेपछि उनीमाथि सन् २००९ मा गोली हानी हत्या गर्ने प्रयास भएको थियो । सो आक्रमणमा आशारामको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको थियो । ५ जुलाइ २००८ मा साबरमती नदीकिनारमा दुई छात्रको शव भेटिएको थियो । ती दुवै आशारामकै आश्रमका विद्यार्थी थिए । उनीहरूको हत्यामा पनि आशारामकै हात रहेको आरोप लगाइएको थियो ।

पहिले रक्सी बेच्थे
आशारामका बाबुको कोइला कारखाना थियो । तर, आशाराम सानै हुँदा बाबुको मृत्यु भएको थियो । त्यसैले, उनले आफ्नो जीवन आफैँ चलाउनुपर्ने बाध्यता आयो । आशाराम पहिले चियापसलमा काम गर्थे । सामान्य घरपरिवारमा जन्मेका आशारामले आफ्नो जीवन चलाउन सन् १९६० मा अहमदाबादमा रक्सी पसलमा पनि काम गरे । पछि उनले आफ्नै रक्सी पसल खोले । रक्सी पसलमा काम गर्न थालेपछि उनले केही साथीभाइ बनाएका थिए । तीमध्ये चारजनासँग उनले नयाँ प्रस्ताव गरे । अनि सुरु भयो उनको रक्सी पसल । उनले चार वर्षसम्म चार साझेदारसँग मिलेर मदिरा पसल पनि चलाएका थिए ।

“म नपुंसक हुँ”

aasaram baba scandalशक्ति, पद र पैसा प्रयोग गरेर बारम्बार लागेका आरोपबाट उम्केका आशारामले बलात्कारको आरोपबाट छुट्करा नपाउने सोचेर आफूलाई नपुंसक घोषणा गरे । प्रहरीले पक्राउ गरेपछि सोधपुछमा उनले आफू नपुंसक भएको र बलात्कार गर्नै नसक्ने दाबी गरे । उनका छोरा नारायणले पनि उनको कुराको समर्थन गरे । उनका अनुयायीहरूले पनि त्यसलाई स्विकारे । अनुयायीहरूले आशाराम नपुंसक भएको र उनलाई तत्काल छाड्नुपर्ने माग राखे । तर, डाक्टरको सामान्य परीक्षणमै उनी नपुंसक नभएको पुष्टि भयो ।
पहिले त उनले नपुंसकताको परीक्षण गर्नै मानेका थिएनन् । तर, पछि उनले मेरो शरीरलाई जे गर्नुछ, गर भनेर डाक्टरहरूलाई नजिक पर्न दिएका थिए ।

“जेलमा अपवित्र हुन्छु”

बलात्कारको आरोप लागेका आशारामलाई अदालतले १४ दिन न्याययिक हिरासतमा राख्न आदेश दियो । तर, उनले अदालतको फैसलापछि पनि आफूलाई जेलमा नराख्न आग्रह गरे । जेलमा राखे आफू अपवित्र हुने भन्दै उनले आफूमाथिको आरोप खण्डन गरेका थिए ।

“चुनाव आउँदै छ, कसैले नभुल्नु”

आशारामलाई पक्राउ गर्न प्रहरी र राजस्थनका मुख्यमन्त्रीबीच लामो छलफल भएको थियो । त्यो कुरा आशारामका अनुयायीले उनलाई बताए । त्यसलगत्तै एक प्रवचनमा उनले राजस्थानका नेताहरूलाई धम्की दिए । उनले चुनावको मध्यनजर गर्दै आफ्नो गिरफ्तारीको निर्णय गर्न नेताहरूलाई सुझाएका थिए । उनले भनेका थिए, ‘म राजस्थान सरकारलाई मेरो विषयमा जस्तोसुकै निर्णय गरे पनि आउनै लागेको चुनाव नभुल्न आग्रह गर्छु ।’ उनले आफूलाई फसाउने निर्णय भए चुनावमा ठूलो घाटा हुने चेतावनी दिएका थिए । उनलाई पक्रने निर्णय भए उनका हजारौँ समर्थकको भोटलाई बिर्सन उनले सरकारलाई आग्रह गरेका थिए ।

जेलमा पंखा, कुलर र आरामदायी खाट

१४ दिनको न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएपछि आशारामलाई जेल चलान गरियो । पहिले जेलका प्रवक्ताले अन्य कैदीबन्दीसरह उनलाई व्यवहार गरिने बताएका थिए । तर, त्यसो भएन । उनलाई छुट्टै कोठाको व्यवस्था गरिएको छ । कोठामा कुलर र आरामदायी खाट राखिएको छ । उनले यसलाई भगवान्को हातको सहारा भनेका छन् ।

जेलमा साधनालाई सहयोग

न्यायिक हिरासतमा रहेका आशारामले एकान्तवासका लागि जेल पनि उत्तम ठाउँ भएको बताएका छन् । उनले जेलमा पनि आफू ध्यान गरिरहेको र यसले आफ्नो साधनालाई झन् सहयोग गरेको बताएका छन् । उनलाई न्यायिक हिरासतमा राखे पनि उनले जेलको खाना खाएका छैनन् । उनको सेवामा उनका समर्थक पनि पुग्छन् । तीनै समर्थकले उनलाई घरबाट खाना लगिदिन्छन् । त्यतिमात्र होइन, आशारामलाई जेलमा नुहाउन गंगाजल पुर्‍याइन्छ । उनले जेलमा रहे पनि आफू साधनामा रहेकाले दैनिक गंगाजल ल्याइदिन आफ्ना समर्थकलाई आग्रह गरेका थिए ।
– एजेन्सीहरू र नयाँ पत्रिकाको सहयोगमा