‘डायस्पोरिक नेपाली साहित्य: हिजो, आज र भोलि’ शीर्षकमा यु. के. मा अन्तरक्रिया

बेलायतको लन्डनस्थित थेम्स एकेडेमीमा आयोजित एक कार्यक्रमबीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतले शुक्रबार महाकवि देवकोटा जयन्ती मनाएको छ ।
अनेसास बेलायतका अध्यक्ष डा रूपक श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा महाकवि देवकोटाको सङ्क्षिप्त जीवनी एवं कवित्वको संस्मरण गरिनुका साथै ‘डायस्पोरिक नेपाली साहित्य: हिजो, आज र भोलि’ शीर्षकमा बृहत् अन्तरक्रिया आयोजना गरिएको थियो ।

Dr. luitel in UKसमालोचक एवं त्रिविवि नेपाली विभागका प्राध्यापक डा खगेन्द्र लुइँटेलले प्रमुख अतिथिका रूपमा डायस्पोरिक नेपाली साहित्यमाथि विशद परिचर्चा गर्नुभयो भने त्यसमाथि कवि नरेश काङमाङ, तेजमान श्रेष्ठ, शशी थापा सुब्बा, सुमलकुमार गुरुङलगायतले आआफ्ना टिप्पणी र जिज्ञासाहरू प्रस्तुत गर्नुभएको थियो । नेपाली डायस्पोरिक साहित्यको इतिहास धेरै लामो नभएपनि यसको गुणस्तर र आयाममा निकै वृद्धि भएको उल्लेख गर्दै डा लुइँटेलले साहित्यिक क्षेत्र पनि विकृतिमुक्त नरहेकाले लेखकहरू सदैव सचेत रहनुपर्ने सुझाव प्रस्तुत गर्नुभयो ।

कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव लाराले गरेकी थिइन् भने उपाध्यक्ष नारायण गाउँलेले अतिथि एवं सहभागीहरूलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए । बेलायत भ्रमणमा रहनुभएका डा लुइटेल तथा कवि एवं गीतकार हरिभक्त बुढाथोकीलाई बेलायतवासी नेपालीका तर्फबाट मायाको चिनोका रूपमा खादा तथा बिगबेनको आकृति उपहारसमेत प्रदान गरिएको थियो ।