टर्कीमा हजारौं प्रहरी अधिकृत निलम्बित

टर्कीमा शुक्रबार भएको विफल कु प्रयत्नपछि तीव्र पारिएको कारवाहीको क्रममा इस्तानबुलस्थित एअर फोर्स एकेडेमीमा छापा मारिएको छ।

न्यायपालिकाका सदस्य र सेनाका जनरलहरु सहित करीब छ हजार बढी अधिकारीहरुलाई पक्राउ गरि हिरासतमा लिइएको जनाइएको छ।

गत साताको असफल सत्ता विद्रोहपछि त्यसमा संलग्न भएको आशंकामा अधिकारीहरुविरुद्धको कारवाही टर्कीमा जारी छ।

आइतबार रातीदेखि जारी कारवाहीको क्रममा आठ हजार भन्दा बढी प्रहरी अधिकारीहरुलाई निलम्बन गर्दै उनीहरुलाई आफ्नो हतियार बुझाउन लगाइएको छ।

इस्तानबुलस्थित एअर फोर्स एकेडेमीमा छापा मारिएको र त्यहाँका उच्च अधिकारीहरुलाई पक्राउ गरिएको जनाइएको छ।

सरकारी अभियोजनकर्ताहरुले शुक्रबारको विफल कु को प्रमुख योजनाकार भनिएका पूर्व एअर फोर्स कमाण्डर अकिन ओजटुर्कसँग सोधपुछ थालेका छन्।

उनी विफल कु प्रयत्न पछि पक्राउ परेका सैयौं जनरल र एडमिरलहरु मध्येका एक हुन्।

कारवाहीको क्रममा थुप्रै प्रान्तीय प्रशासक तथा न्यायाधीशहरुलाई पनि निलम्बन गरिएको छ।

हेलिकोप्टरबाट छिमेकी ग्रीस भागेका आठ अधिकारीहरु ग्रीसको सीमावर्ती अलेक्जान्ड्रोपोली नगरमा गैरकानुनी रुपमा ग्रीस प्रवेश गरेको अभियोगमा अदालतमा उभ्याइएका छन्।

टर्कीले उनीहरुको सुपुर्दगीका लागि अनुरोध गरिसकेको छ, तर उनीहरुका वकिलका अनुसार उनीहरुले ग्रीसमा शरण मागेका छन्।

टर्कीका प्रधानमन्त्री बिनाली यिल्दीरिमले विफल कु प्रयत्नका बेला दुई सय भन्दा बढी व्यक्तिको ज्यान गएको र झण्डै १५ सय मानिसहरु घाइतेभएको बताएका छन्।बिबिसी