‘चक्रव्यूहमा चन्द्रसूर्य’को लोकप्रीयता

चक्रव्यूहमा चन्द्रसूर्यपुस्तक प्रकाशनको क्रम बढे पनि मोफसलमा लेखक-पाठक अन्तरक्रिया खासै हुने गरेको छैन । यो पृष्ठभूमिमा ‘चक्रव्यूहमा चन्द्रसूर्य ‘ का लेखक सरोजराज अधिकारी भेटिँदा शुक्रबार पाठकहरूले घेरिहाले ।  

विवादित र चर्चित विषयवस्तुका कारण छोटो अवधिमै सांगि्रला बुक्सले तेस्रो संस्करण ल्याएको पुस्तकमा भारतसँग जोडिएका नेपालगन्जका मुद्दाले पनि ठाउँ पाएका छन् । लेखक, दलका प्रतिनिधि र पाठकले त्यसबारे खुलेर कुरा गरे ।

‘रहस्यकै गर्तमा रहेका घटना, परिघटनाका तथ्यले राष्ट्रियताबारे सबैलाई सचेत बनाएका छन्,’ अग्रज पत्रकार हेमन्त कर्माचार्यले भने, ‘स्रोत, सूत्रसहितको लेखकीय इमानदारी अनुकरणीय छ ।’  

‘पढ्न सुरु गरेपछि रोकिनै सकिनँ । हामीले कल्पना गरेभन्दा भिन्न विषयवस्तुका बारेमा पढ्न पाइयो,’ अखबारी लेखनमा समेत कहलिएका तमलोपाका केन्द्रीय सदस्य विजय गुप्ताले भने, ‘तर, सबै कुरामा भारतलाई मात्र दोष दिनु विवेकसम्मत हुँदैन । दोष भारतमा थुपारेर भित्रभित्रै उसकै भक्ति गाउने प्रवृत्तिलाई यो किताबले उजागर गरेको पाएँ ।’

राजनीति शास्त्रका प्राध्यापक जनार्दन शर्मा आचार्यले ‘ चक्रव्यूहमा चन्द्रसूर्य‘ मा अधिकारीले ठूलो आँट देखाएको र त्यसले लेखक मात्र होइन, त्यो किताबका जानकारी अरूलाई सुनाउनेसमेत असुरक्षित रहेको बताए । ‘हाम्रा बुद्धिजीवीहरू बिक्री हुने गरेको प्रमाण हो यो पुस्तक,’ उनले भने, ‘भारतले नेपालमा जासुस राख्नैपर्दैन । मन्त्रालयका सचिवहरूले नै सूचना बेच्छन् ।’ अधिकारीले पाठक प्रतिक्रियाले आफूलाई हौस्याएको उल्लेख गर्दै भने, ‘राष्ट्रियताको चेतना फैलाउन ७५ जिल्लामै पुग्नुपर्ने आवश्यकता बोध गरिरहेको छु ।’ अन्तरक्रियाका लागि मध्यपश्चिम दौडाहामा रहेका उनी शनिबार दाङमा हुनेछन् ।