‘गोर्खालीको छोरो म’ गाउँदै प्रशान्त तामाङले नचाए

Prashanta Tamangसांगीतिक कार्यक्रमका लागी पहिलोपटक धौलागिरी अञ्चलमा आइपुगेका इन्डियन आइडल प्रशान्त तामाङको गीत सुन्नकै लागि पर्वत, बाग्लुङ र म्याग्दीका सयौ संगीतप्रेमीको पर्वतमा भीड लाग्यो।मधुर मुस्कानका साथ जब प्रशान्तले हातमा माइक समाएर नेपाल भूमिका नाउँमा ढोग दिए। दर्शक दिर्घाबाट तालिको गडगडाहड छुट्यो। भारतीय मुलका गायक प्रशान्त तामाङलाई इन्डियन आइडलमा विजय गराउनका लागि रकम संकलन नै गरेर भोट गरेका पर्वतबासीसामु प्रशान्तले निकै भावुक मुद्रामा भने ‘भारतीय मुलको भए पनि म गोर्खालीको छोरो हुँ।’ त्यसो भनेलगत्तै प्रशान्तले गोर्खालीको छोरो हुँ म बोलको गीत गाउँदै नेपालको राष्ट्रिय झण्डा फरफराउँदा उपस्थित दर्शक निकै उत्साहित बनेका थिए। नेपालप्रति प्रशान्तको माया देखेका दर्शकले उनलाई नाचेर साथ दिए।

पुन युवा क्लब पर्वतले आयोजना गरेको कार्यक्रममा प्रशान्तले असारे महिनामा पानी पर्यो रुझाउने, गोर्खा पल्टन, रातो रानीलगायतका गीतहरु प्रस्तुत गरेर पर्वतेलीलाई मोहित तुल्याए। आफूले संघर्ष मार्फत् नै सफलता प्राप्त गरेको खुलाउँदै प्रशान्तले भने– ‘म युवा साथीहरुलाई संघर्षदेखि नडराउन आग्रह गर्दछु।’ जीवनमा थुप्रै संघर्ष गरेकै कारण आफू भारतदेखि नेपालसम्म चर्चाको शिखरमा पुगेको उनको भनाइ थियो। संघर्षसँगै युवाहरुलाई शिक्षालाई पनि निरन्तरता दिन प्रशान्तले आग्रह गरे। शिक्षाले मानव जीवनलाई संघर्ष गराउन सिकाउने प्रशान्तको भनाइ थियो।

मगर दिवसको अवसरमा बुधबारसम्म चलेको कार्यक्रममा नेपाली संगीतको बजारमा युवा पिढीको मन जित्न सफल डम्मर नेपालीको गीतमा पनि पर्वतबासी धक फुकाएर नाचे। नेपालीले बिग्रेको मान्छे म बोलको गीतबाट कार्यक्रमको शुभारम्भ गरेका थिए। स्टेजमा दुई पटकसम्म बिगे्रको मान्छे म बोलको गीत गाएका नेपालीले गाएको अन्तिम पटक भेट्न आउ गीतलाई दशर्कले निकै रुचाएका थिए। युवापिढीको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नेपालीले आज आकाशमा, भेट्न मन लाग्छ तिमीलाई, तिम्रो पाउजु बजेर, संसारकी राम्री देख्थें तिमीलाईलगायतका झण्डै एक दर्जन गीत प्रस्तुत गरेका थिए। पछिल्लो समयमा लोक र आधुनिक गीततर्फ स्रोता तथा दशर्कको आकर्षण बढ्दै गए पनि डम्बरका प्रस्तुतिमा भने पौढहरुले नाचेर साथ दिएका थिए। कार्यक्रममा असुसेन लामा, कर्मा शेर्पा, गगन पुन, डीजे तेम्जिङलगायतले आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए।