गुगलले इन्टरनेटबाटै गराउनेछ, ताजमहल भ्रमण

गुगलले भारतको संस्कृति मन्त्रालयसँगको सहकार्यमा ताजमहलको भ्रमण अब इन्टरनेटबाटै गराउने प्रवन्ध मिलाउन लागेको हो । यो योजना अनुसार इन्टरनेट प्रयोगकर्ताले अनलाइनबाटै अब ताजमहलको भ्रमण गर्न पाउने भएका छन् । आफ्नो कोठा तथा कार्यालयमै बसेर फुर्सदको समयमा ताजमहल अवलोकन गर्न पाइने भएको छ ।

tajmahal‘गुगल ट्रेकर’ नाम दिइएको यो महत्वाकांक्षी परियोजना अन्तर्गत ताजमहलको भिडियो फुटेज संकलन गरिने छ । यो प्रविधि अन्तर्गत यसअघि विश्वकै सबैभन्दा अग्लो भवन ‘बुर्ज खलिफा’को अनलाइन संस्करण निर्माण भइसकेको छ । ताजमहलको अनलाइन भ्रमण सम्बन्धी परियोजनामा काम गरिरहेका सुरेन रुहेलाका अनुसार ताजमहलको डिजिटल रेकर्डिङको काम भइरहेको छ । अलग–अलग दिशामा जडित १५ वटा क्यामेराको मद्दतले ताजमहलको भिडियो तयार पारेर अनलाइन संस्करणमा राखिने उनले बताए । यो प्रविधिअन्तर्गत अवलोकनकर्ताले आफैं ताजमहल पुगेको अनुभव गर्न सक्ने उनको दाबी छ ।

उल्लेखनीय छ, ताजमहलको सबै भागमा पर्यटकलाई जान दिइदैन तर गुगलले तयार पार्न लागेको यो परियोजना अन्तर्गत ताजमहलको हरेक हिस्सा हेर्न पाइने छ । यद्यपी यो परियोजना पुरा गर्नका लागि सुरक्षा सम्बन्धी चिन्ता मुख्य चुनौती बनेको छ । तर यो चिन्तालाई समयमै समाधान गर्न सकिने रुहेलाले बताए ।  (एजेन्सीहरु)