राष्ट्रपति रामवरण यादवको खुट्टा धोएर पूजा गर्नेबारे विवाद

सम्यक् महादान पर्वका क्रममा विगतमा राजालाई झैं राष्ट्रपति डा. रामवरण यादवको खुट्टा धोएर पूजा गर्ने ‘संस्कार’ लाई निरन्तरता दिने विषयमा सांस्कृतिक र धार्मिक क्षेत्रमा तीव्र बहस र विवाद भएको छ। आउँदो फागुन १८ गते ललितपुरको लगनखेलस्थित राजदल गण नजिकको खुला मैदानमा राष्ट्रपति डा. यादवको उपस्थितिमा स्वैच्छिकरूपमा सम्यक् महादान पर्व हुन लागेको हो। स्थानीय पिम्बहाल निवासी दाता धर्मबहादुर शाक्यले आफ्नै खर्चमा यसपटक बृहत् एवम् ऐतिहासिक सम्यक् महादान पर्व आयोजना गर्ने तयारी गर्नुभएको छ।

president rambaranविगतमा सम्यक् महादान पर्व हुँदा पूर्णकलशले जलधारा बगाएर राजाको खुट्टा धुने परम्परालाई मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको अवस्था पनि निरन्तरता दिन खोज्दा सो बहस सतहमा आएको हो। काठमाडौं उपत्यकाका बुद्ध धर्मावलम्बीहरू⁄साँस्कृतिक प्रेमीहरू माझ मात्र नभई सर्वसाधारणहरूले समेत यसबारे सामाजिक सञ्जाल फेसबुकमा टीकाटिप्पणी गरेका छन्।
प्रतिक्रिया दिने क्रममा कतिपयले यसलाई परम्पराका रूपमा निरन्तरता दिनुपर्ने बताएका छन् भने बहुसंख्यकले राष्ट्रपतिको खुट्टा धुने चलनलाई त्याग्नुपर्ने बताएका छन्।

सम्यक् महादान पर्वमा विशेषतः बुद्ध धर्म र बौद्ध संस्कृतिमा श्रद्धा गरिने काठमाडौं उपत्यकाका करिब ३ सय बोधिसत्व, दिपंकर बुद्ध, आर्यवलोकितेश्वर राखेर दान दिने गरिन्छ। यस पर्व लिच्छिविकालीन बौद्ध संस्कृति रहेको संस्कृतिविद्हरू बताउँछन्।