खादा ओढाएरै समाचार बटुल्नेहरू !

प्रतिष्ठीत नेपालीहरू विदेश आउँदा मान-सम्मान दिँदै खादा ओढाउने प्रचलन प्रवासमा बढेको देखिन्छ । सम्मान दिने शिष्टाचार राम्रो भए पनि खादा ओढाएरै के-के नै गरे जस्तो गरी समाचारको झ्याली पिट्ने र आत्मरतिमा रमाउनेहरूको सँख्या बढ्दो छ । यस्तै समाचारहरू युरोपमा बनिरहन्छन् । ब्रसेल्सको नेपाली राजदूत निवासमा बनेको यस्तै पछिल्लो समाचार छ:

समाचारसँगै आएको फोटो
समाचारसँगै आएको फोटो
नेपालका वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यलाई लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले आज मंगलवार, ब्रुस्सेल्सस्थित नेपाली दुतावास निवासमा भएको मैत्रिपूर्ण भेटका क्रममा रातो खादा ओढाएर हार्दिक सम्मान गर्नुभएको छ ।

लामो समय देखि पुरातात्वविद आचार्यले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, नेपालमा भएको हो भन्ने यथेष्ट प्रमाणहरु जुटाउनको लागि पुरातात्विक उत्खननमार्फत पुर्याउदै आउनु भएको योगदानका लागि उहाँलाई सम्मान गरिएको हो ।

युरोपेली संघका लागि नेपाली राजदुत राम मणि पोखरेलको संयोजन तथा समुपस्थितिमा दुतावास निवासमा भएको अभियानका पदाधिकारीहरु र युरोप भ्रमणमा रहनुभएका पुरातत्व विभागका पूर्व महानिर्देशक वरिष्ठ पुरातत्वविद् तथा पशुपति क्षेत्र विकाश कोषका कार्यकारी निर्देशक आचार्य तथा लुम्बिनी विकाश कोषका प्रमुख सुचना तथा सम्पर्क अघिकृत ज्ञानिन राईका बीच भएको भेटघाट कार्यक्रममा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, नेपालको प्रवर्धनका लागि विश्वव्यापीरुपमा लुम्बिनीको यथोचित प्रचार प्रसार गर्न आगामी दिनमा लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियान र लुम्बिनी विकाश कोषका बीच कसरि सहकार्य गरेर अगाडि जान सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर सौहार्दपूर्ण छलफल भयो ।