क्षेत्री भदौ २४ बाट प्रधानसेनापति

gen_rajendra-Chatriसरकारले कामु प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई आगामी भदौ २४ गतेबाट लागू हुने गरी प्रधानसेनापतिमा बढुवा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कामु प्रधानसेनापति क्षत्रीलाई प्रधानसेनापतिमा बढुवा गर्ने निर्णय गरेको हो।
आगामी भदौ २४ गतेबाट हाल बिदामा बस्नुभएका प्रधानसेनापति गौरवशमशेर राणाले अनिवार्य अवकाश पाउनुहुने भएपछि सरकारले क्षत्रीलाई अहिले नै प्रधानसेनापतिमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले जानकारी दिनुभयो।
गएको सोमबारबाटै क्षत्रीले कामु प्रधानसेनापतिको कार्यभार सम्हाल्नुभएको छ। प्रधानसेनापतिमा नियुक्त हुनुभएका क्षत्रीको १० पुस्ता नै नेपाली सेनामा आबद्ध रहेका छन्। प्रधानसेनापति क्षत्रीका बुबा पनि नेपाली सेनाको महासेनानीबाट अवकाश पाउनुभएको थियो।
उहाँका ४ भाइमध्ये क्षत्रीसहित ३ भाइ नेपाली सेनामा रहेका छन्। उहाँका जेठा दाइ डा. रमीन्द्र क्षत्री हाल उपरथी पदमा कार्यरत रहनुभएको छ भने भाइ रतीन्द्र खत्री महासेनानीबाट अवकाश पाउनुभएको थियो।