क्यानडाविरूद्ध नेपालको शानदार जित

नामिबियामा भैरहेको आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले दोस्रो जित दर्ता गराएको छ । प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा क्यानडालाई ७ विकेटले हराएको हो ।
करणले ५ विकेट लिएपछि टस जितेर ब्याटिङ गरेका क्यानाडा ४९.२ ओभरमा १ सय १४ रनमा अलआउट भयो । नामिबियामा भइरहेको प्रतियोगितामा नेपालले २३.१ ओभरमा लक्ष्य पुरा गरी डिभिजन १ मा उक्लने सम्भावनालाई बलियो बनायो ।

Nepal-Cricketयसै प्रतियोगिताबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका करणले १० ओभरमा २ मेडन राख्दै २६ रन खर्चेर ५ विकेट लिए । लिस्ट ए मा नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन हो । त्यस्तै सोमपाल कामीले २ तथा पारस, शक्ति गौचन र सागर पुनले १-१ विकेट लिए ।

नेपालले दोस्रो ओभरमा खाता खोल्नु अगाडी ओपनरद्वय नरेश बुढाएर र सुवास खकुरेललाई गुमाइसकेको थियो । तर पारस र उपकप्तान ज्ञानेन्द्र मल्ले १ सय १४ रनको साझेदारी गरेपछि नेपालले सहज जित हात पार्‍यो । पारसले ७७ रन बनाए । स्कोर बराबर भएको अवस्थामा पारस आउट भए । उनले ७८ बल खेली ११ चौका र ३ छक्का प्रहार गरे । ज्ञानेन्द्र ३२ रनमा अविजित रहे । ५१ बल खेलेका उनले ५ चौका प्रहार गरे । विनोद भण्डारी १ रनमा अविजित रहे ।

  • Post category:खेल