कोमल वलीले रात्री-बस मै उधुम गरेपछि

पोइला जान पाम् भन्दै गीतमार्फत हल्लीखल्ली मच्चाउने लोकगायिका कोमल वली मौका पर्योम भने गीत नगाईकन साँच्चैको आतङ्क मच्चाउन पनि सक्ने रहिछन् भन्ने प्रस्टिएको छ। कलाकार वलीले कुनै फिल्मको सुटिङमा त्यस्तो आतङ्क सिर्जना गरेको नभई चलिरहेको यात्रुवाहक बसभित्र उधुम मच्चाएकी हुन्।
गत २ गते बुटवलबाट काठमाडौंका लागि राति १० बजे प्रस्थान गरेको एक यात्रुवाहक बस नवलपरासीको सुनवल पुग्दा वलीले बसभित्रै एकप्रकारको आतङ्क नै सिर्जना गरेको सँगै यात्रा गर्ने यात्रीहरूको भनाइ छ। बताइएअनुसार लास्टभन्दा अघिल्लो सिटमा अर्की एक महिला मित्रसँग यात्रा गरिरहेकी वली मध्यरातमा अचानक सिटबाट जुरुक्क उठिन् र डाङडुङ गर्न थालिन्।
Komal-Oliबसमा यात्रा सुरु गर्नुभन्दा चार घन्टाअघि गुल्मीको रिडीमा माघेसङ्क्रान्तिको उपलक्ष्यमा आयोजित सांस्कृतिक कार्यक्रममा अल्लारे पाराले गीत गाएर युवा दर्शकलाई बुरुक्कै उफारेकी वली मध्यरातमा गुडिरहेको बसभित्र आफैँ उफ्रिपाफ्री गर्न थालेको दृश्य हेर्नलायक थियो। महिलाले मध्यरातमा कोलाहल मच्चाउँदा यात्रुहरूले ठाने कि कसैले उनीमाथि रातको अँध्यारोको दुरुपयोग गर्दै यौनहिंसा पो गरेछ कि? त्यतिबेला बसमा एक आधुनिक सुगम सङ्गीत बजिरहेको थियो। गीत सुन्दै निद्रादेवीको शरणमा पर्न लागेका यात्रुको दिमाग खल्बलिने गरी वली कुर्लंदै थिइन्, ‘महिलाको यत्रो अपमान? महिलाको अधिकार कति छ भन्ने थाहा छैन?’
सुरुमा त यसरी चिच्याउने महिला कोमल वली हुन् भन्ने कसैले भेउ नै पाएनन्। कालो लामो ओभरकोट, कालै पाइन्ट र मुखमा मास्क लगाएकी वली बसमा ‘पोइल जान पाम्…’ र ‘झ्वाँक तन्नेरी…’ बोलको गीत बजाइदिएको भए खुसीले नाच्ने थिइन् होला, तर त्यहाँ अर्कै गायकले गाएको गीत बज्दै थियो। त्यही कुराले उनको कन्पारो तताएको रहेछ। उनीसँगै बसेकी अर्की महिला पनि ‘हो मा हो’ मिलाउँदै वलीलाई साथ दिँदै चिच्याइरहेकी थिइन्। कुनै सिनेमाकै दृश्यजस्तो प्रतीत हुने उक्त घटनाले बसभित्र ठूलो सन्त्रास उब्जायो। वली भने गाडीचालक र त्यसका स्टाफहरूलाई ‘चितवनसम्म त पुग्न दे, तेरो र तेरो गाडीको हालत के हुन्छ’ भन्दै धम्क्याइरहेकी थिइन्।
त्यसरी बेवजह ठूलो स्वरमा धम्क्याउन थालेपछि एक पुरुष यात्रुलाई असैह्य भएछ। यसरी आतङ्क पैदा गर्ने महिला कोमल वली हुन् भन्ने उनले ठम्याइसकेका रहेछन्। ती यात्रु जुरुक्क उठेर प्रश्न गरे, ‘तपाईं गायिका कोमल वली होइन? तपाईंजस्ती सेलिब्रेटीले यस्तो व्यवहार गर्न सुहाउँछ? गाडीस्टाफले यात्रुलाई मनोरञ्जन दिन बजाएको गीत–सङ्गीतप्रति यत्रो नफरत हुने व्यक्तिले दिउँसो रिडीमा छाडा गीत गाएर किन उफ्रेको?’ यसरी ती युवा यात्रुले प्रश्नको फोहोरा छोडेपछि अन्य यात्रुले पनि उनलाई साथ दिएर वलीलाई उल्लीबिल्ली पारे। एकक्षणअघि बाघझैँ प्रस्तुत भएकी वली त्यसपछि रुझेको मुसोजस्तै ओइलाइन्।
नेपाली लोकसङ्गीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल तथा सञ्चारकर्मीसमेत रहेकी वलीको त्यस रातको उपद्रव देख्नेहरूले नाम मात्र कोमल भएर नहुने रहेछ, मान्छे त निकै जण्डु पो रहिछिन् भन्दै जिब्रो काडेका थिए। आफ्नै निकृष्ट व्यवहारका कारण यसरी दर्जनौँ यात्रुबीच लज्जित बन्न पुगेकी कोमल त्यसपछि खाना तथा नास्ताका लागि बस रोक्दा पनि सिटबाट शिर ठाडो गरी उठ्न सकिनन्, एकैचोटि बिहान कलङ्की पुगेपछि हतार–हतार ओर्लिएर उनी ट्याक्सी चढी सुइँकुच्चा ठोकेको दृश्य हेर्नलायक रहेको भुक्तभोगी यात्रुहरू यतिबेला रमाइलो मान्दै बताउँछन्। (विक्ली नेपाल)