कोइराला परिवारबाट कांग्रेसमा नयाँ उत्तराधिकारी स्थापित गरिँदै

नेपाली काँग्रेसको स्थापनादखि नै नेपाली राजनीतिमा गहिरो प्रभाव राख्दै आएको र परिवारबाटै ४ जना प्रधानमन्त्री बनिसकेको कोइराला परिवारमा तेस्रो पुस्ताका नयाँ शक्तिशाली पात्रको उदय हुँदै गरेको छ । ती हुन्, वीपी कोइरालाका कान्छा छोरा सशांक कोइराला जो चाँडै नै कांग्रेसको नेतृत्वमा बंश परम्परा धान्ने गरी स्थापित हुँदैछन्। त्यसैगरी, अर्की पात्र मृदुला कोइराला प्रधानमन्त्री सुशील कोइरालाको नेपथ्यकी सत्ता सञ्चालकका रुपमा उदाएकी छन्। पछिल्ला यी घटनाक्रमले कोइराला परिवार र सिंगो कांग्रेसमै चासो र खैलाबैला मच्चिएको छ।

Sashanka Koiralaदुई पटक कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भइसकेका र दुई पटक नै संविधानसभा सदस्यमा निर्वाचित भइसकेका वीपीका कान्छा छोरा सशांक कोइरालाले अब कोइराला परिवारको उत्तराधिकारी बन्ने लगभग निश्चित भएको छ। शेखर, सुजाता र सशांकमध्ये कांग्रेसलाई हाँक्नका लागि सशांक नै उपयुक्त देखिएपछि उनलाई चाँडै नै १३ औं महाधिवेशनअघि नै महामन्त्री बनाएर नेतृत्वको अभ्यास गराउने अभ्यािस सुरु भएको छ। वीपी कोइरालाको विरासतसमेत रहेकाले सशांकलाई वंश राजनीतिको मियो बनाउन लागिएको बालुवाटार निकटहरूले चर्चा गर्न थालेका छन्। सशांक पेशाले चिकित्सक हुन् ।

त्यसो त पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला पनि शेखर र सुजातालाई भन्दा सशांकलाई नै बढी विश्वास गर्छन्। वीपी जेल परेका बेला सशांकलाई हुर्काउने र रेखदेख गर्ने कामसमेत सुशीलले नै गरेको सम्झने कोइराला परिवारका सदस्यहरु उनको रोजाइमा सशांक पर्नलाई आश्चर्य मान्दैनन्। सुशीलले यसबीचमा परिवारमा छलफल गरी आफूबाट पार नलाग्ने भन्दै सशांकलाई कमाण्ड सम्हाल्न संकेत गरिसकेका छन्। कार्यकर्ताको आशा र भरोसा सशांकप्रति नै रहेकाले सुशील उनलाई अघि सार्न बाध्य अझ प्रेरित भएको बताइन्छ। महामन्त्री कृष्ण सिटौलालाई हटाएर सशांकलाई ल्याउने विषयमा पनि कांग्रेस वृत्तमा छलफल हुन थालेको छ।

त्यस्तै प्रधानमन्त्री कोइरालाको किचन क्याबिनेटकी प्रमुख सदस्य मृदुला कोइराला भित्रिएपछि उनको भूमिकालाई लिएर कांग्रेस र कोइराला परिवारमै पनि विभिन्न टिप्पणी भइरहेका छन्। मृदुला लामो समयदेखि अमेरिकामा रहँदै आएकी छन् ।