केन्याको नाइट क्लबबाट नेपाली महिलाहरू पक्राउ

पश्चिमी अफ्रिकी देश केन्यामा ८ जना नेपाली महिला नाइट क्लबबाट पक्राउ परेका छन् । नाइट क्लबमा डान्सर रहेका ती नेपाली महिलालाई ४ ग्राम लागूऔषध हेरोइनसहित सहित केन्या प्रहरीले बिहीबार राति पक्राउ गरेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।
kenyaमाकेना बार एण्ड रेष्टुराँ नामको उक्त नाइट क्लबमा हेरोइन सेवन गरिरहेको भन्ने सुराकी पाएपछि प्रहरीले छापा मार्दा ती ८ नेपाली महिलासहित १३ जना पक्राउ परेका थिए । केन्याका डिभिजनल पुलिस कमान्डर भिटालिस ओटिनोलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार ती नेपाली महिलाको उक्त नाइट क्लबमा नभई अन्यत्रै काम गर्ने अस्थायी वर्क परमिट थियो ।
पक्राउ परेका ती नेपाली महिलाको नाम खुलाइएको छैन । केन्या प्रहरीले अदालतमा पेस गर्नुअघि ती महिलाको कागजात जाँच गर्ने काम गरिरहेको छ । ती नेपाली महिलालाई अंग्रेजी र स्थानीय भाषा पनि नआउने प्रहरीले जनाएको छ ।
डिभिजनल पुलिस कमान्डर भिटालिसले भने, ‘ती महिलासँग नाइट क्लबमा काम गर्ने अनुमति रहेनछ, उनीहरु नाइट क्लबमा नाच्ने र नाच हेर्नेले दिने टिप्स लिने गर्दा रहेछन् ।’ छापा मार्दा करिब दुई सय जनाभन्दा बढी कम उमेरका विद्यार्थी उक्त नाइट क्लबमा रमाइलो गरिरहेका थिए । पछिल्लो एक महिनामा केन्या प्रहरीले करिब २० जना विदेशीलाई लागू औषधसहित पक्राउ गरेको छ ।
केन्यामा नेपालीहरू गैरकानूनी घटनामा पक्राउ परेका समाचार यस अघि पनि आइसकेका छन् । यस्ता घटनाले मानव अोसारपसारको जालो कति टाढासम्म फैलिएको छ भन्ने छर्लङ्ग हुन्छ ।