कुलपति काइँलासहित अधिकांश प्राज्ञको बिदाइ

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति वैरागी काँइलासहित अधिकांश प्राज्ञको चारवर्षे कार्यकाल पूरा भएपछि उहाँहरूको आजबाट बिदाइ भएको छ ।
एघार जना प्राज्ञ परिषद् सदस्यसहित ३५ सदस्यीय प्रज्ञासभामा ३० जनाको आजबाट बिदाइ भएको हो भने बाँकी पाँच जनाको पदावधि आगामी वैशाख ९ गतेसम्म रहनेछ । परिषद्मा सदस्यसचिव सनत रेग्मी र प्राज्ञ सदस्य विष्णु प्रभात तथा सभामा तीन जना सदस्यको कार्यकाल बाँकी छ ।
नयाँ सरकार गठनको ढिलाइका कारण नयाँ प्राज्ञको नियुक्तिको प्रक्रियामा पनि ढिलाइ हुने देखिएको छ । प्रज्ञा सभा गठनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन हुनुपर्ने कानुनी व्यवस्था छ ।
Nepal Academyप्राज्ञ विष्णु प्रभातले अर्काे नेतृत्व नआएसम्म पुरानैलाई कामचलाउका रूपमा राख्ने व्यवस्था भएमा सहज हुने भन्दै अब सदस्यसचिव रेग्मीको नेतृत्वमा रहेको प्रतिष्ठानले पूर्व निर्धारित योजना र कार्यक्रमलाई निरन्तरता दिई दैनिक प्रशासनिक कार्य मात्रै गर्ने बताउनुभयो ।
उहाँले काइँलाको नेतृत्वको प्रतिष्ठानले प्रज्ञा पुस्तकालय परियोजना, बृहत् नेपाली शब्द्वकोषको नबौं संस्करण, प्रज्ञा नेपाली–अङ्ग्रेजी शब्द्वकोष, जातीय भाषाका साहित्यिक इतिहास र अन्य विधामा गरी करिव एकसय पुस्तक प्रकाशन गरेको जानकारी गराउनुभयो ।
लोकतन्त्र स्थापनापछि तीन वटा प्रज्ञा–प्रतिष्ठान गठन गर्ने व्यवस्थानुसार गठित अन्य प्रतिष्ठानका प्रज्ञासभाको अवधि पनि केही महिना पछि सकिँदैछ ।
जसअनुसार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति किरण मानन्धर र नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर गुरूङसहितका प्राज्ञको कार्यकाल पनि क्रमशः आगामी चैत ३१ र वैशाख ९ मा पूरा हुँदैछ । ती प्रतिष्ठानमा पनि सदस्यसचिवको कार्यकाल थप केही महिना बाँकी रहनेछ ।