उपेन्द्र महतो फर्ब्सको सूचीमा अट्दैनन् ?

फर्ब्स म्यागजिनले विनोद चौधरीलाइ बिलेनियरको सूचीमा राखेपछि नेपाली बिलेनियरको खोजीनीति बढेको छ । गैरआवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोलाइ नजिकबाट चिन्नेहरू विनोद चौधरी समाविष्ट सूचीमा महतोको नाम नहुनु प्राविधिक कुरा मान्छन् ।

फर्ब्सको अर्बपती सूचीमा नेपालबाट विनोद चौधरी र परिवार पहिलोपटक एक अर्ब डलर (८८ अर्ब रुपैयाँ)को सम्पत्तिसहित परेका छन्। चौधरी फर्ब्सको सूचीमा परेपछि नेपालमा अन्य अर्बपतिहरुको पनि खोजी हुन थालेको छ। के नेपालमा विनोद चौधरी मात्रै अर्ब पति छन् त?
तथ्यांक र सूचनालाई केलाउने हो भने अर्बपतीको सूचीमा गैरआवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायत अन्य केही नेपाली पनि पर्छन्। तर ती नेपालीले आफ्नो सम्पत्ति सार्वजनिक गर्दा पछि सरकारी निकायबाट पर्ने अप्ठ्यारोलाई महसुस गर्दै सम्पत्ति सार्वजनिक गरेका छैनन्। फर्ब्सको सूचीमा परेका चौधरीले सिंगापुरलाई केन्द्रविन्दु बनाएर भारत, श्रीलंका, मालदिभ्स, मलेसिया, दुवई, अमेरिका,मा लगानी विस्तार गरेझैं महतोको लगानी पनि बेलारुसलाई केन्द्रविन्दु बनाएर रुस, युरोप, अफ्रिका, एशिया र नेपालसम्म लगानी विस्तार गरेका छन्।

महतो नेपालको दोस्रो ठूलो कर तिर्ने र नेपालमा सबैभन्दा बढी मुनाफा गर्ने कम्पनी एनसेलका  साझेदार हुन्। त्यसबाहेक महतोको बेलारुसमा ठूलो लगानी छ, उनले सिन्थेसिस विकास इन्भेष्टमेन्ट कम्पनी र बिएनके होल्डिङगसबाट ज्वाइन्ट स्टक कम्पनी (जेएससी) एम्काडोरमा लगानी गरेका छन्। एम्काडोर बेलारुसमा सबैभन्दा बढी रोजगारी दिने, सबैभन्दा बढी रकमको कारोवार गर्ने कम्पनी हो। यो कम्पनीले सन् २०११ मा मात्रै २६ अर्ब डलरको कारोवार गरेको थियो। यो कम्पनीमा उपेन्द्र महतो एक्लैको ६० प्रतिशत सेयर लगानी छ। डोजर, क्रेनजस्ता ८० मोडलका हेभी इक्युपमेन्ट उत्पादन गर्ने कम्पनी एम्कोडरका बेलारुसलगायत रुस र युरोपमा गरी १६ वटा ठूला–ठूला प्लान्ट छन्, ।
यसबाहेक रुसमा उपेन्द्रले एमटिजेड (मस्को टेलिभिजन प्लान्ट) रुविनमा लगानी गरेका छन्, यो रुसको सबैभन्दा पुरानो टेलिभिजन सेट उत्पादन गर्ने कम्पनी हो। त्यसबाहेक रियलस्टेट कम्पनी रुविनमा पनि उपेन्द्र महतोको लगानी छ। त्यसैगरी, बुहउद्देश्यीय व्यापारिक कम्प्लेक्स फिलीओनमा पनि रुविनको स्वामित्व छ।
महतो परिवारले बेलारुसमा सात सय सैयाको अस्पताल पनि सञ्चालन गर्दै आएको छ। यसैगरी, उपेन्द्रको लगानी बेलारुसको सबैभन्दा ठूलो बैंक अल्फा बैंकमा पनि छ। त्यसबाहेक उपेन्द्रको लगानी पेट्रोलियम पदार्थ उत्खनन तथा बिक्री गर्ने कम्पनीमा पनि छ। उपेन्द्रसँग साइप्रसको टाइमटर्न होल्डिङगस् कम्पनी छ, यही कम्पनीले कम्बोडियामा लाटेलज, बुरुण्डीमा लासेल सु, सेरालिओनमा इन्टरगु्रप टेलिकम, तान्जानियामा बेनसन इन्फोम्याटिकस, युगाण्डामा टेलिकम र कंगोमा कम्पनी चलाइरहेका छ। नेपालमा पनि एनसेल मात्र होइन, सानिमा बैंक, माछापुच्छ्रे बैंक, सानिमा हाइड्रो लगायतका दर्जनौं परियोजनामा उपेन्द्रको लगानी छ।
फर्ब्सको विलिनियर लिस्टमा प्रवेश गर्न दुईवटा बाटा छन्, एउटा हो, उनीहरुको रडारमा पर्नु । दोस्रो हो, मसँग यति सम्पत्ति छ भनेर विवरण बुझाउनु। चौधरीले फर्ब्सको सूचीमा पर्नका लागि मसँग एक अर्ब डलरको सम्पत्ति छ भन्ने विवरण बुझाएका थिए। उपेन्द्रले कहिल्यै पनि आफूसँगको सम्पत्तिका विषयमा खुलेर कुरा गर्दैनन्, उनलाई तपाईंसँग कति छ सम्पत्ति भनेर प्रश्न गर्दा, मुस्कुराउँदै मलाई ‘सबैभन्दा धनी भनिएपछि सम्पत्तिका बारेमा चासो राखिनु स्वाभाविक भए पनि एउटा उद्यमीको सम्पत्ति ऊसँग भएको नगद होइन, उसको लगानीको बजार मूल्य हो, म आफ्नो सम्पत्ति यतिउति छ भन्न चाहन्न भनेर टार्ने गरेका छन्। उनले आफू राम्रै अवस्थामा रहेको जनाउँदै धेरै धनी हुने इच्छा नभएको बताए। तर उपेन्द्रले आफू मनको धनी भएको चाहिँ सत्य रहेको बताए। हुन त उनलाई मनको धनी भनिरहनु नै पर्दैन त्यो उनको सामाजिक कार्यबाट नै प्रमाणित भइसकेको छ। उपेन्द्र अर्वपतीको सूचीमा आउनका लागि अहिलेसम्म आफ्नो लगानी, प्रतिफल र ऋणको विवरण फर्ब्सलाई बुझाएका छैनन् । फर्ब्सको सूचीमा पर्ने दोस्रो बाटो अन्तर्गत उनी अहिलेसम्म फर्ब्सको रडारमा पनि परेका छैनन्। यही कारण उनी फर्ब्सको सूचीमा छैनन्।
उपेन्द्रमात्र नभएर देशको अन्य व्यापारीहरु पनि फर्ब्सको नजरबाट टाढै बस्न रुचाएका छन्। उनीहरु आफ्ना सम्पत्ति देखाउँदा भोलि सरकारी निकायबाट विभिन्न छानबिन हुने डरले पनि टाढा बसेको बताउन पछि पर्दैनन्। विनोद चौधरीले पनि फर्ब्सलाई आफ्नो सम्पत्ति विवरण बुझाएपछि आन्तरिक रुपमा सरकारी निकायहरुले चौधरीको सम्पत्ति र आयस्रोतको बारेमा अनुसन्धान गरिरहेको समाचार स्रोतको दाबी छ। तर चौधरी भने विदेशमा ज्यादा पैसा कमाएको भनेर स्वदेशमा थोरै करमा सिमीत रहन खोजीरहेका छन् । चर्चामा रहन मन पराउने चौधरी राजनीतिमा समेत चाख राख्ने हुँदा फर्ब्सको अर्बपती सूचीमा नाम लेखाउन इच्छुक भएको अनुमान गरिन्छ । जे भए पनि मजदुर अनुशासनहिनता र राजनैतिक अस्थीरता भएको मुलुकमा आधार खडा गरेर बिलेनियर बनेका चौधरीले युवा पुस्तालाइ प्रेरणा दिएका छन् ।