कार्कीको विषयमा काँग्रेसले पछि निर्णय गर्छ: डा महत

नेपाल प्रेस युनियन दाङले बिहीबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य डा महतले कार्कीका विषयमा छानबिन प्रक्रिया सुरु भएकाले समितिको छानबिन प्रतिवेदनपश्चात् मात्रै कांग्रेसले निर्णय गर्ने स्पष्ट पारे ।
लोकमानको विषयलाई छानबिन गर्न समिति गठन भइसकेको अवस्थामा कांग्रेस न्यायाधीश बन्न नसक्ने उनको भनाइ छ । कांग्रेस संसद्को सबैभन्दा ठूलो पार्टी भएकाले बोल्नुपर्ने अवस्था आएपछि सत्यताको पक्षमा निर्णय गर्नेसमेत उनले उल्लेख गरे।
पूर्व अर्थमन्त्रीसमेत रहेका डा महतले नेपालमा आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाएर अघि बढ्नुपर्ने बताए । भ्रष्टाचार, राजनीतिक अस्थिरता, बन्द हडताललाई अन्त्य गर्दै देशको समृद्धिमा अघि बढ्नुपर्नेमा उनको भनाइ थियो । रासस