काँग्रेसबाट प्रधानमन्त्री को ?

संविधान सभाको दोस्रो ठूलो दल नेकपा एमालेले नेका सभापति सुशील कोइरालासँग सरकार गठनको पहल गर्न अनुरोध गरे पनि को प्रधानमन्त्री हुने भन्ने कुरा अझै प्रष्ट भएको छैन । विजेता पार्टीको सभापतिसँग एमालेको सो अनुरोध स्वाभाविक होला, तर काँग्रेसमा विधानतः सँसदीय दलको नेताले सरकारको नेतृत्व गर्ने हो । र सँसदीय दलको नेताको चयन नभइसकेको अवस्थामा स्थिति अझै तरल छ । तसर्थ, काङ्गे्रसको नेतृत्वमा सरकार गठन हुने निश्चित भए पनि काङ्गे्रसका तर्फबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयचाहिँ अझै स्पष्ट हुन सकेको छैन।
deuba shushil ramchandraसभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीचको सम्भावित टक्करको परिणामबारे अहिले नै निष्कर्षमा पुग्न सकिने स्थिति छैन। अप्ठ्यारो स्थितिमा प्रधानमन्त्री पदको उम्मेदवार बनेर सत्रपटकसम्म पराजित भइदिन तयार भएकोले रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाइनुपर्छ भन्ने तर्क कतिपय काङ्गे्रस नेताहरूको छ। स्वयम् रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीको जिम्मेवारी आफैँले पाउनुपर्नेमा दृढ हुनुहुन्छ। पराजित हुने निश्चित भएका बेलामा आफूलाई उम्मेदवार बनाउने र प्रधानमन्त्री बन्ने निश्चित हुँदा चाहिँ अरू–अरू नै अघि सर्ने कुराले नेता पौडेललाई दुःखी बनाएको छ। पौडेलका तर्क र अभिव्यक्ति जायज भए पनि भावी प्रधानमन्त्रीको टुङ्गो काङ्गे्रस संसदीय दलको बैठकले लगाउने निश्चित छ। विजयी सभासद्हरूमध्ये अधिकांश कोइराला या देउवाका समर्थक भएकोले दुईमध्ये एक संसदीय दलको नेता बन्ने विश्वास गरिन्छ। काङ्गे्रसमा प्रत्यक्षतर्फ विजयी सभासद् (१०५) मध्ये करिब ४० प्रतिशत शेरबहादुर देउवा पक्षका रहेको बताइन्छ। खुमबहादुर खड्काको साथ देउवालाई भइसकेको अवस्थामा प्रत्यक्षतर्फको करिब आधा देउवाको पक्षमा हुने देखिन्छ।
पार्टीभित्र आफ्नो बेग्लै बलियो टिम बनाउन नसक्ने या नचाहने नेता रामचन्द्र पौडेललाइ संसदीय दलको नेता बनाउन पहिले कोइराला पक्षले सघाएको हो। तर, यसपालि सुशील कोइराला आफैँ प्रधानमन्त्री बन्न इच्छुक भएकोले उहाँको समर्थन रामचन्द्र पौडेललाई प्राप्त हुन मुस्किल छ। त्यस्तो अवस्थामा ‘स्वतन्त्र’ लडेर पौडेल संसदीय दलको नेता बन्न कठिन मानिन्छ। यद्यपि कसलाई दलको नेता बनाउने भन्ने विषयमा पौडेलको भूमिका निर्णायक बन्नेचाहिँ निश्चित छ। कोइराला र देउवाबीच सहमति नभई प्रतिस्पर्धाको स्थिति बनेमा पौडेलको समर्थन जसलाई हुन्छ उही संसदीय दलको नेता बन्न सक्नेछन्। तीन शीर्षस्थ नेताहरूबीच टक्करको स्थिति रहेमा नयाँ पुस्ताका कुनै नेतालाई दलको नेता र प्रधानमन्त्री बनाइनुपर्छ भन्ने आवाज पनि उठ्नसक्छ । उसो त गगन थापालाइ इन्टरनेटको प्रधानमन्त्री भन्ने चर्चा मिडियामा चलीसकेको छ । तर जे भएता पनि तिन नेताबाट बाहिरको व्यक्ती प्रधानमन्त्री बन्ने कुरा चिया गफ मात्रै हो ।
समग्रमा हेर्दा, तत्कालको स्थितिचाहिँ सुशील कोइराला र शेरबहादुर देउवामध्ये एक संसदीय दलको नेता तथा प्रधानमन्त्री बन्ने छ। कोइराला र देउवामध्ये जसलाई रामचन्द्र पौडेलको समर्थन हुन्छ उही व्यक्ति संसदीय दलको नेता बन्ने प्रबल संभावना रहन्छ । हालसम्म पौडेलको साथ सुशील कोइरालालाई रहँदै आएको छ। कोइरालाले पार्टीको कार्यवाहक सभापति पौडेललाई बनाएको अवस्थामा भने उहाँको समर्थन कोइरालातिरै हुने देखिन्छ। मतदानमा जाँदा, समानुपातिकतर्फ साठी प्रतिशत उम्मेदवार कोइरालाको र चालीस प्रतिशत मात्र देउवाको रहेकोले दुई नेताबीच चुनावी प्रतिस्पर्धा भएमा कोइराला नै विजयी बन्ने स्थिति छ । सहमतिमा जाँदा, कोइराला प्रधानमन्त्री बनी देउवालाइ पार्टीको प्रमुख अख्तियारी दिने कुरो उठ्न सक्छ तर, उपसभापति पौडेलले सजिलै मान्ने अवस्था छैन । राजनीतिक चालबाजीमा कोइरालाभन्दा देउवा अगाडि मानिने भएकाले देउवाको चाल कस्तो होला भन्ने रहस्यमय छ ।