ओबामाको अनुहार बाँदर जस्तो बनाउने पत्रिकाले माफी माग्यो

Obama de morgen
‘द मोर्गन’ ले छापेको कार्टुन

अमेरिकी राष्ट्रपति बाराक ओबामाको अनुहार बाँदर जस्तो बनाइ फोटो छाप्ने एक बेल्जियन पत्रिकाले माफी मागेको छ ।
ओबामा यो हप्ता ब्रसेल्स आउँदैछन् । यही अवसरमा गत शनिवार ‘ओबामा विशेष अंक’ निकाल्दा बेल्जियन दैनिक ‘द मोर्गन’ ले हाँस्य-व्यँगका रूपमा केही लेख र कार्टुन समाहित गरेको थियो । पत्रिकाले रूसी राष्ट्रपति पुटिनले पठाएको भन्दै ओबामा दम्पत्तिको बाँदर जस्तो फोटो राखेको थियो ।
सो कार्टुन-फोटोको राष्ट्रिय-अर्न्तराष्ट्रिय चर्चा र निन्दा भएपछि पत्रिकाले ‘बेस्वादको ठट्टा’ बन्न पुगेको भन्दै गल्ति स्वीकार गरेको हो ।
अमेरिकामा अझै पनि यदाकदा काला जातिका मान्छेलाई बाँदरका रूपमा तुलना गरी रंगभेदी व्यवहार गरिने र सो कार्टुनले त्यस प्रकारको भाव बोक्दा गलत चयन बन्न पुगेको पत्रिकाले जनाएको छ ।
वाम झुकाव राख्ने ‘द मोर्गन’ दैनिक पत्रिका रंगभेदविरोधीका रूपमा चिनिदै आएको छ ।