एमालेमा ‘को ठूलो?’

नवौं महाधिवेशन सकिएलगत्तै नेकपा (एमाले) मा नेताहरूको मर्यादाक्रम कसरी निर्धारण गर्ने भन्ने विवाद सुरु भएको छ। महाधिवेशनबाट चुनिएका पाँच उपाध्यक्षमध्ये पहिलो नम्बरमा को रहने भन्ने विवाद मुख्य बन्ने देखिएको छ। धेरै मत ल्याएकालाई पहिलो नम्बरमा राख्ने कि संगठनमा काम गरेका आधारमा वरीयता दिने भन्ने विषयमा नेताहरुका फरक–फरक धारणा सार्वजनिक भइरहेका छन्।

धेरै मत ल्याएका आधारमा वरीयता तोक्ने हो भने भीम रावल पर्छन् भने संगठनमा काम गरेको आधार बनाउँदा स्वाभाविक रूपमा वामदेव गौतम नै उपाध्यक्षको नम्बर एक मर्यादाक्रममा रहन्छन्। विगतमा भने पार्टी संगठनको कामलाई आधार बनाउने गरिएको थियो। आठौं महाधिवेशनमा तीन उपाध्यक्षमध्ये अशोक राईले सबैभन्दा धेरै मत ल्याए पनि वरीयता निर्धारण गर्दा वामदेव गौतमलाई पहिलो नम्बरमा राखिएको थियो। र, कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि गौतमलाई नै दिने गरिएको मणि दाहालले नागरिकमा लेखेका छन्।

CPN-UML_Nepal Oliमाधवकुमार नेपालले प्रधानमन्त्री पद छाड्नुपर्छ भनेर गौतमले विज्ञप्ति निकालेपछि एकपटकबाहेक तत्कालीन अध्यक्ष झलनाथ खनालले आफ्नो अनुपस्थितिमा गौतमका साटो राईलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए। अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षले कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्न पाउने भएकाले अहिले पनि यो विषय पेचिलो बनेको हो। अहिले पार्टीअध्यक्ष केपी शर्मा ओली पक्षधरले पार्टीमा पुर्यानएको योगदानका आधारमा वरीयता निर्धारण हुनुपर्ने मत राख्छन् भने लोकप्रिय मतका आधारमा वरीयता तोक्नुपर्ने नेपाल पक्षको तर्क छ।

नवौं महाधिवेशनमा रावलले १ हजार १ सय ४३ मत ल्याएका थिए भने गौतमको मत १ हजार १ सय ३८ थियो। ‘मर्यादाक्रम निर्धारण गर्दा व्यक्तिले पार्टीमा पुर्यारएको योगदान, खेलेको भूमिकालाई ध्यान दिनुपर्छ,’ केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले नागरिकसँग भने, ‘एकै प्रकारको योगदान र इतिहासका भएको व्यक्तिबीच मर्यादाक्रम तोक्दा लोकप्रिय मत आधार बन्न सक्छ।’

महाधिवेशन हलले नै कसलाई कुन स्थानमा राख्ने मर्यादाक्रम तोकिसकेको भन्दै त्यसलाई आधार बनाउनुपर्ने नेपाल पक्षको तर्क छ। ‘लोकतान्त्रिक अभ्यासका माध्यमबाट कार्यकर्ताले कसलाई कहाँ कुन मर्यादामा राख्ने भनेर निर्धारण गरिसकेका छन्,’ केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले भनिन्, ‘प्रतिनिधिको मतका आधारमा मर्यादा कायम हुन्छ। जन्म, उमेरको आधारमा राजनीतिमा वरिष्ठ र कनिष्ठ भन्ने हुँदैन।’

रावल विद्यार्थी राजनीतिमा रहँदै गौतम तत्कालीन मालेको केन्द्रीय कमिटी सदस्य बनेका थिए। रावल २०५४ सालमा नेपालगन्ज महाधिवेशनबाट केन्द्रीय कमिटीमा चुनिए। केन्द्रीय कमिटीमा गौतम र रावल दुवैको निरन्तरता टुटेको छैन।

प्रत्यक्ष रूपमा सबैलाई देखिने पारदर्शी विषय मतलाई बेवास्ता गरेर मर्यादाको मापदण्ड निर्धारण गर्दा समस्या उत्पन्न गर्ने झाँक्रीको धारणा छ। ‘मत निर्णायक हुँदैन भने ९ सय ८७ मत ल्याउनेबीच किन लट्री गराइँदैछ? सिनियरलाई किन केन्द्रीय सदस्य नबनाउने?,’ झाँक्रीले भनिन्।

नवौं केन्द्रीय कमिटीको शुक्रबार भएको पहिलो बैठकले साउन २५ गते हुने दोस्रो बैठकमा मर्यादाक्रम तोक्ने निर्णय गरेको छ। पञ्चायतकालमा एमालेभित्र खुला मोर्चामा काम गर्नेभन्दा भूमिगत जानेलाई वरिष्ठ मान्ने गरिन्थ्यो।

अधिकारीले मर्यादाको विषय आ–आफ्नो बुझाइ भएको बताए। ‘केन्द्रीय सदस्यका रूपमा मेरो मत माधव नेपाल र सुरेन्द्र पाण्डेपछि तेस्रो नम्बरमा हो। पदाधिकारीमा प्रतिस्पर्धा गर्नेबाहेकमा पहिलो हुँ,’ अधिकारीले भने, ‘मुकुन्द न्यौपानेले मभन्दा निकै कम मत ल्याउनुभएको छ। योगदानका हिसाबले मेरो मर्यादाक्रम उहाँभन्दा माथि हुन सक्दैन।’

मर्यादाक्रम धेरै संख्या भएका पदाधिकारी, पूर्ण केन्द्रीय सदस्य र वैकल्पिक सदस्यमा समेत तोकिन्छ। यसले बैठकमा मतदानको अधिकार राख्ने पूर्ण केन्द्रीय सदस्यमा मात्र होइन, वैकल्पिक केन्द्रीय सदस्यमा समेत महत्व राख्छ। किनकि, बैठकमा अनुपस्थित पूर्ण केन्द्रीय सदस्यको संख्या बराबर वैकल्पिक सदस्यले मर्यादाक्रमकै आधारमा पूर्ण सदस्यको हैसियत अर्थात् मतदानको अधिकार पाउँछन्।

यस्तै विवाद रहँदारहँदै अध्यक्ष अोली भने विदेश उपचार गर्न जाने क्रममा वामदेवलाइ कार्यवाहक दिएर जान लागेको उनी निकटका ले बताएका छन् । तैपनि, यो मुद्दा तातीरहने देखिएको छ ।