एन. आर. एन. सँघ फुट्ने हल्ला, अध्यक्षको ध्यानाकर्षण र भीडको मनोविज्ञान

nrnएन. आर. एन. सँघमा चिरा पर्ने हल्लाले अहिले सामाजिक सञ्जालहरूमा ६ रेक्टर स्केलको भन्दा ज्यादा कम्पन खडा गरेको छ । जसले गर्दा काठमान्डुको भूकम्पको चर्चा सेलाउन थाले पनि एन. आर. एन. वृत्तमा भने भुसको अगो झैं सल्किएको छ, यो हल्ला । खासगरी, जर्मनी र यु. के. मा समानान्तर राष्ट्रिय समितिहरू गठन भएपछि यो हल्लामा दम छ की भन्ने ‘छाप’ दिएको छ । हल्ला यति गरमागरम छ की एन. आर. एन. सँघका केन्द्रीय अध्यक्षले प्रष्टिकरण दिएका छन् । आज अध्यक्ष जिवा लामिछानेले जारी गरेको व्यक्तव्य तल छ ।
गुट र फुटको नेपाली राष्ट्रिय रोगले अन्तर्राष्ट्रको एन. आर. एन. लाइ पनि सिकिस्त पारेको छ । प्रवासमा बसेका नेपालीहरू पद पाउनको लागि कति मरिहत्ते गर्छन् भन्ने कुरा त समाजसेवा गर्ने नाममा एन. आर. एन. मा चर्किएको लुछाचुँडीले प्रस्टै पारेको छ । नेपालीहरूको बस्ती बाक्लो भएको देशहरूमा एन. आर. एन.को नेतृत्व लिन ठुलै घम्साघम्सी छ । र यही कसरत छ, आसन्न आइ. सी. सी. मा पनि । एन. सी. सी. देखि आइ. सी. सी. सम्म हरूवाहरूले समानान्तर कमिटी गठन गरेर भए पनि ‘पदासिन’ हुने तुच्छ सपना देखिरहेका छन् । यसैको कडी हो- एन. आर. एन. फुट्ने हल्ला ।

एन. आर. एन. फुटाउने हल्ला गर्ने हरूको एउटै स्वार्थ हो- पद । २५ देखि ४० देशसम्म मा एन. आर. एन.को समानान्तर समिति बन्न सक्ने कुरा ठ्लो होइन । ती सबै देशका हरूवा एन. आर. एन. वालाहरू अर्को एन. सी. सी. खोल्न तयार छन् । र आउँदो आइ. सी. सी. निर्वाचनमा पराजयको डर पाल्नेहरू हल्लाको पछाडि दगुरेका छन् । अनि, यी हल्लावाजहरूलाइ अहिलेको नेतृत्वले स्पष्टिकरण दिन थालेको छ ।

खासमा, एन. आर. एन. सँघमा भद्रगोल बढ्दै जानुमा अहिलेको नेतृत्व कै कमजोरी हो । यसको सँगठन निर्माण र विस्तार क्रममा केन्द्रीय नेतृत्वको भूमिका फितलो र अदूरदर्शी रह्यो । गुणात्मकभन्दा सँख्यात्मक विस्तार भयो । अहिलेको फुट त त्यसैको ‘साइड इफेक्ट’ हो । एन. आर. एन. सँघ दिनानुदिन भिजनले होइन, हुलले चल्ने सँगठन बन्दै गएको छ । ३५-४० लाख प्रवासीको नेतृत्व गर्ने नाममा यसको केन्द्रीय नेतृत्वले चुस्त साँगठनिक प्रावधान र ढाँचा बनाउन नसक्दा एन. आर. एन. भन्ने कुरा सँघको नाममा भीड मात्र बनेको छ । यो भीडको जमात फुट्ने हल्लाले भीड मै रूमल्लिएको यसको कमजोर नेतृत्वको जग हल्लिएको छ ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय पारिषद प्रेस विज्ञप्ती ।
आदरणीय मित्रहरु,
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको प्रत्येक २ बर्षमा हुने महाधिबेसनहरु बिभिन्न मुलुकहरुमा भई रहेको छ ! बहुसंख्यक राष्ट्रिय समन्वय परिषदहरुमा सर्बसम्मत र केहि मुलुकहरुमा स्वस्थ्य प्रजातान्त्रिक प्रक्रियावाट नयाँ कार्यकारी समितिहरुको चयन भई सकेको छ ! केहि राष्ट्रिय समन्वय परिषदहरुमा पछिल्लो समयमा देखिएका सामान्य बिबादहरु सहमतिबाट नै मिलाउने प्रयास जारि भई रहेको अबस्थामा यस्ता विवादलाई लिएर सामाजिक संजाल र केहि अनलाईन मिडियामा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका जिम्मेवार पदाधिकारीहरुको नाम समेत मुछिने गरि एनआरएनएमा नै फुट भन्ने खालका भ्रम सृजना गर्ने प्रकृतिका समाचारहरु प्रेषित भएकोले मिडियासंग आवद्द मित्रहरु तथा सम्पूर्ण महानुभावहरुमा सत्य-तथ्य बुझी समाचार सम्प्रेषण गरि दिनु हुन अनुरोध गर्दछु !
बिदेशमा भर्खरै स्थापित हुन प्रयास गरि रहेको नेपाली समुदाय बिच रहेको आपसी सद्भाव, भाइचारा र एकता कायम राख्न समुदायका जिम्मेदार साथिहरु सोहि रुपमा प्रस्तुत भई दिनु हुन हार्दिक अनुरोध गर्दछु !
धन्यबाद,
जीवा लामिछाने
अध्यक्ष
गैरआवासीय नेपाली संघ
अन्तराष्ट्रिय समन्वय पारिषद
३१.०८.२०१३