एन. आर. एन. बेल्जियमको चुनावी हिसाब

अन्ततः भाषणमा सहमतिको रटान दिँदै एन. आर. एन. बेल्जियमको निर्वाचनमा काँग्रेससमर्थक जनसम्पर्क समितिका दुई भाइले जुँगाको लडाइँ गर्ने भएका छन् । जुलाइ ७ मा मतदान हुने चुनावी आँकलनमा चार-तारे दुई भाइको अवस्था उन्नाइस-बिसको स्थितिमा छ । मत गणनामा जसले जिते पनि नैतिक रूपमा दुबै पराजित भइसकेका छन् ।
एन. आर. एन. जस्तो सँस्थामा सापेक्षिक रूपमा स्वतन्त्र, आर्थिक रूपमा सक्षम र प्रष्ट कार्ययोजनासहितको दृष्टिकोण भएको व्यक्तिको चयन हुनु उचित हुने थियो । तथापि, सबै आदर्शको गीत गाउने तर भित्रभित्रै अहंकार पाल्ने समस्याले सजिलो अवस्था मै पनि सहमति हुन सकेन । र, पार्टी र गुटका भातृसँस्थाका रूपमा कृयाशील हनुमानहरू चुनाव प्रचारमा कस्सीएर लागीसकेका छन् । एन. आर. एन. बेल्जियमका सदस्यहरूमा समग्रमा जनसम्पर्क समितिको पकड भएको मानिन्छ तर जनसम्पर्क बेल्जियम गुटबन्दी गर्ने मातृसँस्थाको बंशानुगत रोगबाट आक्रान्त छ । जनसम्पर्क बेल्जियम कै गुटबन्दीले गर्दा एन. आर. एन. बेल्जियममा सहमति बन्न सकेन ।
491जनसम्पर्क समितिको विद्रोही समूहका उमेदवार प्रेम गुरूङ्गले आइ सि सि सदस्यमा एमाले समर्थक एन. डि. एफ. का शिवकुमार वरुवालसँग प्यानल बनाएका छन् भने जनसम्पर्क समितिका निवर्तमान अध्यक्ष गंगाधर गौतमले माओवादी र जनजातिसँग हात मिलाएका छन् । व्यवसायी सँघका अध्यक्ष हरिकुमार थपलिया स्वतन्त्र उमेदवारका रूपमा छन् । अहिलेसम्म जनसम्पर्क समितिमा आफ्नो पकड राख्न सफल गंगाधर गौतमलाई एमाले बाहेकका अन्य कम्युनिष्टहरूले सहयोग गर्ने भएका छन् । त्यस्तै, जनजाति महासँघले पनि ‘समावेशी प्यानल’ भन्दै गौतमको पक्षमा प्रचार शुरू गरेको छ ।
त्यस्तै, आइ सि सि सदस्यमा चार जनाको उमेदवारी परेकोमा पासा पुचः की रजनी प्रधान र लुभेनका व्यवसायी श्रीप्रसाद सापकोटाले नाम फिर्ता लिएका छन् । मैदानमा बाँकी रहेका छन्- वर्तमान आइ सि सि सदस्य पिजी शेर्पा र वर्तमान महासचिव शिवकुमार वरुवाल । शिवकुमार वरुवाललाई धेरैले दरो उमेदवारका रूपमा लिन्छन् । आइ सि सि का अर्का उमेदवार पिजी शेर्पा एन. आर. एन. बेल्जियमको पहिले अध्यक्ष रहँदा समाजसेवीका रूपमा नाम कमाएका व्यक्ती हुन् तर पछिल्लो समय उनी जातीय राजनीतिमा खुम्चिएका छन् ।
महासचिवमा उमेद्वारी दिनेहरुमा अनूजा प्रधान र चन्द्र व्लोनले नाम फिर्ता लिएका छन् । अनूजाले सहमतिका निम्ति आफूले नाम फिर्ता लिएको बताएकी छन् । महासचिवमा गौतमको प्यानलमा रहेका जित लामा एमाओवादीनिकट जनप्रगतिशिलका हुन् भने गुरूङले विद्रोही जनसम्पर्कका माधव सापकोटालाई लिएका छन् ।
प्रेम गुरूङको ‘लोकतान्त्रिक समावेशी समूह’ का उपाध्यक्षमा गोपाल सिम्खडा, महिला उपाध्यक्षमा शारदा अर्याल, सचिवमा बुद्धि बराल, कोषाध्यक्ष नरहरि सापकोटा, युवा संयोजक रविन पण्डित र सदस्यहरूमा गजेन्द्र गुरूङ, परमानन्द सापकोटा, नारायण सिलवाल र सुवीर सिग्देल रहेका छन ।
त्यस्तै, गंगाधर गौतमको ‘समावेशी समूह’ समूहबाट उपाध्यक्षमा कमल भारती, महिला उपाध्यक्षमा शुषमा भूषाल, सचिवमा माकुना राई, कोषाध्यक्ष सुभाष गुरूङ, युवा संयोजक कुमार जोशी र सदस्यहरूमा सागरदास श्रेष्ठ, सुमन राई, चित्रजँग गुरूङ र बैकुण्ठ पहाडी उमेदवार रहेका छन् ।
पार्टी र गुटगत आधारमा चुनावी तालमेल बनेको भए पनि एन. आर. एन. सदस्यहरूले त्यसलाइ अपनाउने संभावना कम छ । २ वर्ष अघिको निर्वाचनमा पनि मिश्रित नतिजा आएको थियो ।
एन. आर. एन. बेल्जियमको निर्वाचनमा उमेदवारहरूको नामावली लिने र घोषणा गर्ने कुरामा निर्वाचन समितिले गोलमटोल काम गर्यो । अध्यक्ष पदका लागि तोकिएको अवधिभित्र हरिकुमार थपलियाको मात्र उमेदवारी परेको थियो । तर कारण नखुलाइकन म्याद थपियो र थपिएको समयमा उमेदवारी दिएका एउटै पार्टीका दुई भाइहरूको झगडाले सहमतीको वातावरण बिगार्यो ।
– कृष्ण थापा