एन.आर.एन. बेल्जियमको चुनावी पूर्वसन्ध्यामा चलखेल

एनआरएन बेल्जियमको जुलाइ ७ आइतवार सम्पन्न हुन गैरहेको निर्वाचनको माहौल निकै तातेको छ | मुख्यतः दुई प्यानलबाट निर्वाचनमा लडेका जनसम्पर्क समिति कै दुई भाईहरु गंगाधर गौतम र प्रेम गुरुङको व्यक्तीगत इगोदेखि अन्तरपार्टी हरहिसाबको चर्चाले समेत यहाँको नेपाली समाजमा गरमागरम बहश चलेको छ । यसैबीच अध्यक्ष पदका स्वतन्त्र उम्मेद्वार हरिकुमार थपलियाले सहमतिको प्रयास गर्दा गर्दै थाकेर अन्ततः निर्वाचनबाट बिश्राम लिएका छन् | थपलियाको पक्षमा रहेका स्वतन्त्र मतदाताहरु पनि अहिले ब्यक्तिगत सम्पर्कको आधारमा मत दिने मनस्थितिमा पुगेका छन् | एनआरएनले काम गर्न सकेन भनेर गाली गर्नेदेखि एनआरएनमा भिजीरहेका सबै अहिले दुइ पक्षमा विभाजित भएका छन् ।
nrn election belप्यानलमा समर्थनका हिसाबले हेर्ने हो भने गंगाधर गौतम बलिया उमेद्वार मानिन्छन । उनलाइ क्यास र ड्यास दुबै माओवादी तथा जनजाति महासँघको समर्थन छ । तर मतदाताहरु हुबहु रुपमा मत हाल्ने पक्षमा छैनन्| सामाजिक वा अन्य रुपमा काम गर्दाका तिता मिठा अनुभवले विभाजन ल्याईदिएको स्पस्ट छ| जनसम्पर्क समितिको अघिल्लो निर्वाचनको बेला सुवास जोशीको पक्ष र प्रेम गुरुङको पक्षमा रहेका मतदाता घाउ आलै भएको कारण उही घाउको पिरलोमा छन् |
आधीकारिक जनसम्पर्क समितिबाट गौतम र वी. पी. प्रतिष्ठानको नाममा सक्रिय विद्रोही जनसम्पर्कबाट गुरूङ्ग उम्मेद्वार हुन् | संगठनभित्र कटुता रहे पनि यी दुवै राजनीतिक र सामाजिक छवी भएका सक्रिय ब्यक्ति हुन् | उनीहरुको ब्यक्तिगत प्रभावका कारण पाउने मत नै निर्णायक हुने पक्का छ | उनीहरुलाई सघाउने गठबन्धनभित्र पनि थुप्रैले पार्टीगतभन्दा पनि स्वबिबेक मत प्रयोग गर्ने उदाहरण अघिल्लो निर्वाचनले प्रमाणित गरिसकेको छ|
राजनीतिले आक्रान्त तर मतदाता धेरै रहेका ठाउँ लुभेन र अन्त्वेर्पेनमा दुवै अध्यक्षका लागि मत बरावर हुने अवस्था छ | एनडीएफको एक पक्ष गुरुङलाई छाडेर ब्यक्तिगत प्रभावका कारण गौतमलाई सघाउने अड्कल काटिएको छ । त्यस्तै गौतमलाई समर्थन गरेका वैद्य माओबादीका केही र जनजातीहरुले पनि गुरुङलाई मत दिने संभावना रहेको छ | गौतमको साँगठनिक योगदान र सक्रियताका कारण उनलाइ मन नपराउने एक थरि छन् भने उनका सहयोगीहरू पनि प्रशस्त छन् । गुरूङको भद्रतालाइ गौतमको राजनीतिक चलखेलले उछिन्न सक्ने अनुमान केही पुराना एन.आर.एन.कर्मीहरूले गरेका छन् । अघिल्लो निर्वाचनमा जस्तै यस पटक पनि जातीय र क्षेत्रीय पृष्ठभूमिको असर पर्ने नै छ | यस भन्दा अगाडी निर्वाचनमा एनडीएफ र जनप्रगतिशील मंचको बहुमत हुँदा हुँदै पनि जनसम्पर्क समितिको अध्यक्षले बाजी जितेको दृष्टान्त जिवितै छ |

आईसीसी सदस्यका लागि शिब बरुवाल र पीजी शेर्पाको भिडन्तलाइ पनि धेरैले चाखका साथ हेरेका छन् । एन.आर.एन. बेल्जियमको अध्यक्ष कालमा राम्रो सामाजिक छवी बनाएका आइसीसी सदस्य पीजी शेर्पाको पछिल्ला गतिविधिले गर्दा विवादित बनेका छन् । जातीय राजनीतिमा लाग्दा एकथरि उनीसँग बिच्कीएका थिए भने अहिले उनी पदका लागि गौतमसँग मिलेको कुरा उनकै कतिपय शुभेच्छुकहरूलाइ चित्त बुझेको छैन । जसले गर्दा यस पटकको निर्वाचन भने निकै चुनौतिपूर्ण रहनेछ उनलाइ | बरुवाललाई भने गठबन्धनका साथै स्वतन्त्र ब्यक्तिहरुले मतदान गर्ने बलियो संभाबना रहेको छ|
उपाध्यक्षका लागि गोपाल सिंखडा बलिया उम्मेदवारका रुपमा रहेका छन् | सामाजिक छबी राम्रो बनाएका सिंखडा सबैपक्षबाट रुचाईएका ब्यक्ति हुन् |
त्यसैगरी महासचिब पदका उम्मेद्वार माधब सापकोटाको लागि पनि अहिलेको परिस्थिति निकै उत्तम रहेको देखिन्छ | उसो त जीत लामा पनि राम्रा उमेदवार हुन्, तर उनलाइ जनप्रगतिशील मंच र मोर्चाको आपसी कटुताले नै असर पार्ने बताइन्छ ।

समग्रमा हेर्ने हो भने यो एन.आर.एन. बेल्जियमको राजनीति जनसम्पर्क समिति वरिपरी नै घुमिरहेको छ | समितिका दुई सदस्यलाई अगाडि बढाउनमा पनि आ-आफ्नै स्वार्थ रहेका छन् | समितिका असन्तुष्ट सदस्यले एनडीएफसँग सहकार्य गर्नुको मुख्य आशय जनसम्पर्कको निर्वाचित समिति समक्ष आफ्नो शक्ति देखाउनु हो | यो गठबन्धनले जनप्रगतिशिल मंचसँग पनि सहकार्य गर्न खोजेको थियो तर सहमत भएन । किनकि जनप्रगतिशील मंचले एनडीएफलाई अघिल्लो चुनाबको पैँचो तिर्नु परेको थियो | अघिल्लो निर्वाचनमा एनडीएफसँग सहकार्य गर्दा पनि नराम्रोसँग हार ब्याहोरेको मंचले एनडीएफलाई धोका दिएको आरोप लगाउँदै आएको छ | अहिलेसम्म पानी बाराबारको स्थितिमा रहेका जनप्रगतिशील मोर्चाले पनि तत्कालिन अवस्थामा सँगै रहेको कारण उसले पनि काँधमा काँघ मिलाईदियो | त्यसैमा थपिन आइपुगेको हो- जनजाति महासंघ|

जे होस्, एन.आर.एन. बेल्जियमको चुनावी पूर्वसन्ध्यामा हुने चुनावी चलखेलले पनि नतिजामा असर पार्ने छ । यस चुनावलाई कसैले जनसम्पर्क समितिलाई कमजोर बनाउन बनाईएको गठबन्धनका रुपमा लिएका छन् भने कसैले ब्यक्तिगत दाउपेच समेत भन्ने गरेका छन् | जो भए पनि जनसम्पर्क समिति कै व्यक्ती अध्यक्ष निर्वाचित हुनेछ | र एन.आर.एन.मा राजनीतिक प्रभाव नपार्ने भन्ने कुरा गफ मै सिमित हुनेछ ।