एन.आर.एन. को चुनावमा कसले मार्ला बाजी !

– पंचम अधिकारी

गैरआवासीय नेपाली सँघको सातौं विश्व सम्मेलन यही बुधवारदेखि शनिवारसम्म काठमाडौंमा हुँदैछ । यो अधिवेशनले नयाँ नेतृत्वको चयन समेत गर्ने हुँदा एन.आर.एन. चुनावमय भएको छ । एन.आर.एन.का अभियन्ता र सहभागी सदस्यहरू चुनावी आकलन गर्दै काठमाडौं ओइरिंदै छन् ।

अहिलेसम्म अध्यक्ष पदका लागि तिन जना आकांक्षी देखिएका छन् – वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष टी. बी. कार्की र पूर्व महासचिव रतन झा ।

दुई वर्षअघि अध्यक्ष भएका शेष घले ‘अष्ट्रेलियाका धनाढ्य’ मा सूचिकृत ब्यापारी हुन् । दुई वर्षअघि अध्यक्षको उमेदवार बन्दा एन.आर.एन. सँघका मुद्दा र सँस्थाका खासै जानकार नरहेका आरोप खेपेका घलेलाई तत्कालीन अध्यक्ष जीवा लामिछाने लगायतले बलियो साथ दिएपछि तत्कालिन महासचिव तेन्जी सेर्पा विरूद्ध राम्रै मत अन्तरले विजयी भएका थिए । बितेको २ वर्षमा संसार घुमेर राष्ट्रिय कमिटीहरूसँग सान्निध्य बनाएका घले पूर्व अध्यक्षहरूसँग भने टाढीएको चर्चा गरिन्छ ।

एन.आर.एन. अभियानका प्रारम्भका वर्षहरूमा भिडबाटै हात उठाएर नेतृत्व चयन गरिन्थ्यो । अहिले ७१ देशमा राष्ट्रिय कमिटी छन् । ५० हजार सदस्य छन् । एन.आर.एन. मा सदस्य हुने र पदासीन हुन खोज्नेहरूको आकर्षण बढ्दो छ ।

महतोले २ कार्यकाल सकेपछि जापानका देवमान हिराचन र जर्मनीका रामप्रताप थापाले नेतृत्वको चाहना गरेका थिए । तर अभागी थापा पटक-पटक भित्री बाजी हार्दै आएका छन्  र यसपटक दौडमा सामेल पनि छैनन् ।

एन.आर.एन. अभियान अति खर्चिलो भएका कारण त्यो खर्च धान्नु जो कोहीको निम्ति बुताको कुरा होइन । त्यसैले एन.आर.एन. अभियानमा ब्यापारीहरू झन् झन् हावी बन्दै गएका छन् ।

shesh_ghaleशेष घले- अष्ट्रेलियाका धनाढ्य घले आम प्रवासीहरूमा ‘पब्लिक इमेज’ बनेका छन्, तर पूर्व अध्यक्ष र संस्थापकहरू घले आफै हिरो बन्न खोजे भनी खासै खुशी छैनन् । २ वर्षअघि उनलाई बोकेर हिंड्ने तत्कालिन अध्यक्ष लमिछाने झनै बेखुश रहेको निकटवर्ती बताउँछन् । तर उनी खुलेर घलेको विरूद्धमा जान चाहँदैनन् । महत्वपूर्ण घोषणाहरूमा घले श्रीमतिलाई साथमा लिएर प्रस्तुत् हुन्छन् र उनका अग्रजहरू छुटीरहेका हुन्छन् । तर पछिल्लो पटक, भूकम्पपीडितहरूको सहयोगार्थ घले खटिएपछि उनले एन.आर.एन. अभियन्ताहरूबीच छवी सुधारेको बताइन्छ । गत महिना उनी मतदाता धेरै भएका खाडी देशहरू, युरोपमा बेल्जियम र पोर्चुगल, अनि त्यसपछि अमेरिका पुगेका थिए । अन्ततः यु.के.बाट उमेदवारी घोषणा गरे । काठमाडौंको अहिलेको मौसममा चुनाव जितिन्छ भनेर घले निश्चिन्त रहेका छन् ।

TB-karkiटी.बी. कार्की- सन् २०११ मा सचिव र २०१३ मा उपाध्यक्ष बनेका टी.बी. कार्कीले कतारबाट उमेदवारी घोषणा गरेका छन् । लामो समयदेखि अभियानमा लागेका र सँघको ‘भोट ब्याङ्क’ खाडीका उमेदवार भएका कारण उनी कमजोर प्रत्याशी होइनन् । तर एक वर्षअघिसम्म खर्चिलो एन.आर.एन. अभियान धान्न हम्मे-हम्मे पर्ने कुरा उनी स्वयं बताउने गर्थे । भिडन्त त्रिपक्षिय भए खाडीबाट उनको उमेदवारी अध्यक्ष घलेका निम्ति चर्को मूल्य पर्ने बताइन्छ ।

ratan_jhaरतन झा – सर्लाहीमा जन्मिएर अमेरिकाको टेक्सासमा निर्माण तथा रियल स्टेट डेभलपमन्टसम्बन्धी व्यवसाय गरिरहेका झा संस्थापक अध्यक्ष उपेन्द्र महतोनजिक मानिन्छन् । महतोको ब्यापारको एक उल्लेखनीय हिस्सा समेत हेरिरहेका कारणले पनि उनलाई महतोसँग जोडेर हेरिएको हो । सँघको पूर्व महासचिव भैसकेका झा ४ वर्षअघि उपाध्यक्षमा पराजित भएपछि केही समय निष्क्रीय थिए । जुन अहिले आएर उनको लागि घाटा साबित भएको छ । स्वदेशको मधेशी आन्दोलनले हिलो नछ्‌यापे उनी घलेलाई कडा टक्कर दिन सक्ने उमेदवार हुन् ।

तिनै जना चर्चित अनुहार हठी स्वभावका भएकाले चुनावबाट कोही पछाडि नहट्ने लख एन.आर.एन. अभियन्ताहरू काट्छन् । पद बाँडचुँड गरेर मिलाउनपट्टि लाग्ने स्वभावका घले पनि होइनन् । त्यसैले काठमाडौंको मौसम चिसिंदै गरेको भए पनि एन.आर.एन. वालाहरू तात्तिने आकलन गरिएको छ ।

पछिल्ला वर्षहरूमा एन.आर.एन. निर्वाचनमा राजनीतिक पार्टीहरूको छायाँ पर्दै आएको छ । त्यसैले कसले कुन पार्टी नेताको आशिर्वाद पाउँछ भन्ने कुराले पनि फरक पार्नेछ । एन.आर.एन.भित्र जनसम्पर्क समिति अर्थात नेपाली काँग्रेसको अलिक बढी पहुँच भएको मानिन्छ । त्यसपछि प्रवासी मञ्च अर्थात एमाले र एमाओवादीनिकट जनप्रगतिशिल मञ्चको प्रभाव छ । यसपालीको निर्वाचनमा अध्यक्षबाहेकका उमेदवारीहरूमा पार्टिगत झुकाव देखिइसकेको छ ।

एन.आर.एन.को नेतृत्व चयनमा संस्थापक अध्यक्ष उपेन्द्र महतोको सम्मति कसप्रति हुन्छ भनेर चासोका साथ हेरिन्छ । निर्वाचन नगरी सहमति गर्ने उनको मनसाय देखिंदै आएको छ । हिराचन र लामिछानेको चयनसम्म उनले अनेक तानाबाना गरी यही पद्धति अपनाए, तर २ वर्षअघि वातावरणले यसरी पल्टा खायो की न उनले निर्वाचन टार्न सके न उनले रूचाएको मान्छे छानिने वातावरण भयो । यसपाली उनको मौन समर्थन झाप्रति हुने तर खुलेर नबोल्ने जस्तो देखिन्छ ।

अध्यक्ष अलवा पनि अन्य महत्वपूर्ण पदहरूमा चर्को प्रतिस्पर्धा छ । केही प्रतिस्पर्धीहरू लामो तयारीपछि चुनावी मैदानमा छन् भने केहीले सस्तो चर्चा पाउन उमेदवारी घोषणा गरेका छन् । उपाध्यक्ष र सचिवमा पद सँख्या थप्ने की भन्ने कुरा विचारणिय रहेकोले केहीले च्याँखे थाप्न उमेदवारीको हल्ला चलाएका हुन् । ५ महादेशका ७१ देशका शाखामध्ये प्रायशः ठाउँमा पुग्ने र त्यहाँका प्रतिनिधिहरूसँग संपर्कमा रहने एन.आर.एन. अभियन्ताहरू विरलै छन् । यसरी चाहर्दै हिंड्नेहरूमा घलेका अतिरिक्त भवन भट्ट, कुमार पन्त, बद्री के. सी., अर्जुन श्रेष्ठ गनिन्छन् । त्यसै कारण पनि यी उमेदवारहरूलाई बलिया हस्तिको रूपमा गणना गरिन्छ ।

घलेपछिको अध्यक्ष भनेर बारम्बार चर्चा गरिने भवन भट्ट पुनः उपाध्यक्षमा लड्दैछन् । भट्टलाई घलेको पनि समर्थन छ । त्यस्तै महासचिव कुमार पन्त पनि उपाध्यक्षका अर्का बलिया आकांक्षी हुन् । पूर्व अध्यक्ष लामिछाने पन्तको पक्षमा उभिएका छन् । समग्रमा हेर्दा भट्ट र पन्त संस्थापन पक्षका उमेदवार हुनेछन् । त्यस्तै अमेरिकाका वकिल खगेन्द्र जि.सी. र खाडीका नरेन्द्र भाट पनि प्रतिस्पर्धामा उत्रिएकामध्ये राम्रो संभावना बोकेकामा पर्छन् । खगेन्द्रलाई पश्चिमी देशहरूमा राम्रो उमेदवारका रूपमा हेरिए पनि उनको तयारी कम भएकोले यस पटक गाह्रै हुने अडकल काटीन्छ । तर देशीय हिसाबले सबैभन्दा धेरै मत भएको अमेरकालाई कुनै न कुनै महत्वपूर्ण पद दिइनुपर्ने आवाज बढ्दै गएको छ ।

मधेश आन्दोलन, भारतिय नाकाबन्दी र सत्ता परिवर्तनका कारण ओझेलमा परेको एन.आर.एन. अधिवेशन र निर्वाचनको चर्चा यो हप्ता भने गरामागरम हुने निश्चित छ ।