एनआरएन संघ अध्यक्षमा भवन भट्ट निर्वाचित

गैर आवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन् ।

अध्यक्षमा भट्टको प्रतिस्पर्धी जमुना गुरुङ घले  थिइन् ।

२००३ स्थापना भएको एनआरएनएको निर्वाचनमा पहिलो पटक प्यानलगत आधारमा चुनाव भएको हो । निर्वाचित हुनेमा सचिवमा एक पदबाहेक सबै पदाधिकारीहरू भट्ट प्यानलबाट छन् ।

संघको उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भए । यस्तै महासचिवमा डा बद्री केसी पुनः निर्वाचित, सचिवमा जानकी गुरूङ र डिबी क्षेत्री र कोषाध्यक्षमा हिक्मत थापा र सहकोषाध्यक्षमा सोम सपकोटा निर्वाचित भए ।

शनिवारदेखि सुरु भएको एनआरएनएको ८ औ विश्वसम्मेलनको मतदान सोमबार बेलुकादेखि सुरु भएको थियो । मतदान राती साढे ११ बजेसम्म चलेको थियो ।

२० वर्ष अगाडि अध्ययनको लागि जापान पुगेका भट्ट एनआरएनएमा दुई कार्यकाल उपाध्यक्ष र एक कार्यकाल कोषाध्यष भएर काम गरिसकेका छन् ।

जापानमा रेष्टुरेन्ट व्यवसायमा सफल मानिएका भट्टको २९० वटा रेष्टुरेन्ट रहेका छन् । जसबाट वार्षिक ३५ अर्बको कारोबार हुने गरेको छ । व्यवसायिक समुह टिबिआईका अध्यक्ष रहेका भट्टको नेपालमा पनि उद्योग,संचार,कलेज लगायतका क्षेत्रमा लगानी रहेको छ।

गोरखामा जन्मिएका भट्ट एनआरएन अभियानमा सुरुवातदेखि सक्रिय थिए । जापानमा एनआरएनको समन्वयन समिति गठन देखि जापान अध्यक्ष हुँदै एनआरएनएको कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष हुँदै भट्ट अध्यक्ष बन्न सफल भएका हुन् ।

संघमा पछिल्लो समयमा राजनीतिकर्मीहरू र ब्यापारीहरूको पकड बढ्दै गएको छ र बाैद्धिक व्यक्तित्वहरू पाखा लागेका छन् । यस निर्वाचनमा पनि त्यही ट्रेन्ड देखिन्छ ।