एनआरएन विश्व सम्मेलन निर्वाचनबाटै शुरूवात गरिने

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले यो वर्षको एनआरएन विश्व सम्मेलनको पहिलो चरणमा नै संघको निर्वाचन गर्ने भएको छ । संघले यो भन्दा अघिल्ला वर्षमा निर्वाचन र विश्व सम्मेलन एकै पटक गर्दा विश्व सम्मेलनमा चुनावको असर देखिएको भन्दै यो वर्ष नयाँ नेतृत्वको लागि निर्वाचन पहिले गर्न लागेको हो ।

संघका प्रवक्ता हेम राज शर्माले यो वर्ष पहिले चुनाव हुने अनि मात्र विश्व सम्मेलन आयोजना हुने जानकारी दिनुभएको छ । संघले यहि अक्टोवर १९ र २० तारिखमा आयोजना गर्ने महाधिवेशनले नयाँ नेतृत्वको छनौट गर्ने उहाँले जानकारी दिनुभयो ।

यो वर्ष संघको अध्यक्ष पदका प्रत्यासीमा रामेश्वर शाह, शेष घले, राम थापा, तेन्जी शेर्पा र हितमान गुरुङ्ग रहेका छन् । यस अघि सहमतिमा नेतृत्व छनौट गर्दै आएको संघमा यो पटक भने अध्यक्ष पदमा निर्वाचन हुने अवस्था देखिएको छ ।

एनआरएनएले निर्वाचनलाई एनआरएनएको आन्तरिक कार्यक्रम तथा विश्व सम्मेलनलाई नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ र संघको संयुक्त कार्यक्रम भनेर उल्लेख गरेको छ । एनआरएनएको महाधिवेशन र निर्वाचन पछि मात्रै अक्टोवर २१ र २२ तारिखमा विश्व सम्मेलन आयोजना गर्ने जनाएको छ ।

त्यसैगरि यो वर्ष एनआरएनको १० औं वर्ष पुगेको अवसर पारेर विशेष कार्यक्रम पनि आयोजना गर्न लागेको छ । १० वर्षको उलपक्ष्य पारेर एनआरएनएको १० वर्षको दस्तावेज प्रकाशित गर्ने तथा १० वर्षे अभियानको डकुमेन्ट्री पनि सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसैगरि यो वर्षको सम्मेलनको सोभेनियर पनि १० वर्षको गतिबिधीलाई समेटेर तयार पारिने संघले जानकारी दिएको छ ।

एनआरएनएले यो वर्ष अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन गर्दैछ जुन नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा यहि असोज २३ गते काठमाडौंमा गर्न लागेको हो ।

NRN 6th global conferenceअर्को तर्फ एनआरएनएले यो वर्ष विभिन्न पुरस्कार समेत घोषणा गर्ने भएको छ । यो वर्ष दोश्रो पुस्ताका गैर आवासीय नेपालीहरुलाई युथ अवार्ड, गैर आवासीय बालबालिकाको चित्रकला प्रतियोगिता पुरस्कार, एनआरए पत्रकार पुरस्कार, एनआरएन साइन्स फाउन्डेशनले एनआरएनए साइन्स ट्यालेन्ट एण्ड विज्ञान ज्योति अवार्ड घोषणा गर्ने भएको छ ।

यहि कार्तिक २ गतेदेखि ५ गतेसम्म काठमाडौंमा आयोजना हुने छैटौं गैरआवासीय नेपाली विश्व सम्मेलन र अन्तर्राष्ट्रिय महाधिवेशन २०७० को मुल नारा ‘गैरआवासीय नेपाली र नेपालीः समृद्धिका साझेदार’ राखेको छ । यो वर्षको महाधिवेशन सोल्टी क्राउन प्लाजा होटलमा हुनेछ भने विश्व सम्मेलन त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा गर्ने भएको छ ।