एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्ती

arjun२०१४ जुन ७ र ८ का दिन स्पेनको बार्सिलोनामा सम्पन्न गैर आवासीय नेपाली संघको सातौँ  यूरोपियन क्षेत्रीय बैठक तथा पाचौं  क्षेत्रीय महिला भेला ऐतिहासिक तथा भव्यरुपमा सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद दिदै एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठले प्रेस बिज्ञप्ती जारी गर्नु भएको छ| श्रेष्ठद्वारा जारी प्रेस बिज्ञप्ती:

 गत जुन ७ र ८ मा स्पेनको बार्सिलोनामा आयोजित गैरआवासीय नेपाली संघको सातौँ युरोपियन क्षेत्रीय बैठक तथा पाँचौं क्षेत्रीय महिला भेला ऐतिहासिक तथा भव्य रुपमा सफलतापूर्वक सम्पन्न भयो । यसका निम्ति सहयोग गर्नुहुने कार्यक्रमका विशिष्ठ अतिथि पूर्वमन्त्री तथा सभासद डा. प्रकाशशरण महतज्यू, प्रमुख अतिथी फ्रान्स, स्पेन, ग्रीस, मोनाको र पोर्तुगलका लागि नेपाली राजदूत महामहिम मोहनकृष्ण श्रेष्ठज्यू, विशेष अतिथि स्पेनका लागि नेपाली कन्सुलर लुईस बेल्बिस, गैरआवासीय नेपाली संघका संस्थापक, निवर्तमान तथा वर्तमान अध्यक्षहरु, संरक्षकहरु, सल्लाहकारहरु एवं पदाधिकारीहरु, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा प्रतिनिधिहरु, राष्ट्रिय समन्वय परिषद स्पेनका पदाघिकारीहरु, आयोजक समितिका सदस्यहरु, नेपाल तथा विदेशस्थित पत्रकारहरु, स्थानीय संघ-संस्थाका प्रतिनिधिहरु, आर्थिक सहयोग गर्नु हुने संघ-संस्था तथा व्यक्तित्वहरुका साथै कार्यक्रममा उपस्थित भई आ-आफ्नो क्षेत्रबाट यथासम्भव सहयोग गर्नुहुने समस्त महिला तथा सज्जनवृन्दमा म एन.आर.एन. सँघ युरोप क्षेत्रीय संयोजक हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछु ।तपाईंहरुको सहयोग र सल्लाहबिना हाम्रो मात्र प्रयासले यो सफलता सम्भव थिएन । यसप्रकारको सहयोग र साथको सदैव हामीलाई खाँचो रहिरहन्छ।

उक्त सम्मेलन सफलतापूर्वक सम्पन्न भएको समाचारहरु नेपालभित्र र बाहिरका संचार माध्यमहरूमा महत्वका साथ प्रकाशित भएका छन् । समग्रमा, बार्सिलोना भेलाका सन्दर्भमा संचार जगतबाट भएको समाचार सम्प्रेषणले हाम्रो अभियानमा सहयोगी भूमिका खेलेको मैले विश्वास गरेको छु । तर नेपाल बाहिरको सदैव विवादित समाचार सम्प्रेषण गर्न रूचि राख्ने एक अनलाइन संचारमाध्यममा सम्पूर्ण गैर-आवासीय नेपाली समुदाय र हाम्रो भूमिकाका बारेमा आधारहीन समाचारहरु प्रकाशित भए । त्यस्ता कपोलकल्पित, नकारात्मक सोच र पूर्वाग्रहपीडित समाचारहरू बाट मेरो चरित्र हत्या गर्ने सस्तो प्रयास भएको मेरो बुझाई छ ।

बार्सिलोना भेला आयोजना गर्ने क्रममा आयोजक समितिबाट सँस्थाको छविमा आँच आउने तथा संस्थाको हितविपरित कुनै पनि काम नभएको सबैलाई पूर्ण विश्वास दिलाउन चाहन्छु । गैरआवासीय नेपाली संघको क्षेत्रीय युरोपियन बैठकमा उपस्थित हुन ईच्छुक कुनै पनि गैरआवासीय नेपालीलाई निमन्त्रणा पठाईने प्रचलन छ । त्यसैगरी संघका नेपाली साझेदार संघ-संस्थाका प्रतिनिधिहरु (जस्तै, उद्योग वाणिज्य महासंघ, नेपाल पूर्वाधार विकाश कम्पनि लिमिटेड) र शुभेच्छुक पत्रकार एवं व्यक्तित्वहरुलाई अतिथिका रुपमा कार्यक्रममा निमन्त्रणा गरीने प्रथा रहेको सर्वबिदितै छ । यस पटकको क्षेत्रीय बैठकमा पनि यसै प्रथाअनुरुप विभिन्न व्यक्तित्वहरुलाई कार्यक्रम आयोजक समितिको तर्फबाट निमन्त्रणा गरिएको बिनम्र जानकारी गराउन चाहन्छु । र, बैठकका लागी निमन्त्रित महानुभावहरु मध्ये अधिकांश आजका मितिसम्म आ-आफ्नो बसाईको देश प्रस्थान गरीसक्नु भएको र केहि फर्कने क्रममा रहनु भएको हामीलाई जानकारी प्राप्त भएको छ। यसै क्रममा, युरोपियन क्षेत्रीय बैठकमा हुने अन्तर्राष्ट्रिय सहभागिताले बैठकको गरिमा र प्रभावकारीता बृद्धि हुने समेत ध्यानाकर्षण गराउन चाहन्छु ।

समाज सेवा र त्यसका माध्यमबाट व्यक्तित्व विकाश गर्नुका साथै एनआरएन अभियानको उद्देश्य पूर्तिमा सहयोगी भूमिका खेल्नु नै मेरो लक्ष्य हो । यस सम्वन्धमा पत्रकार बन्धुहरू र एनआरएन अभियानका शुभेच्छुकहरू सचेत हुनुहुन्छ भन्ने कुरामा मेरो अटल विश्वास छ । मनोगत एवं अव्यवसायीक नकारात्मक प्रचारबाजीले एनआरएन अभियानमा लगनशील रहने मेरो चाहना र सोचमा कुनै कमी आउने छैन । संस्थाको हित र विकासमा सधैँ लागीपर्नेछु । रचनात्मक आलोचना र सिर्जनात्मक सुझावहरु सदैव संस्थाको विकासको लागि स्वागतयोग्य रहन्छन भन्ने मैले बुझेको छु । आशा गरौँ, त्यस्ता मनोगत टिप्पणी गर्नेहरूले समयक्रममा बुझ्दै र सिक्दै जानेछन् ।

अन्त्यमा, तपाईंहरुको सहयोग र सल्लाह निरन्तर प्राप्त हुनेछ भन्ने विश्वास लिँदै एनआरएन अभियानप्रतिको मेरो प्रतिवद्धता पुनः दोहोर्याउन चाहन्छु ।

भवदीय

अर्जुनकुमार श्रेष्ठ
क्षेत्रीय संयोजक,युरोप
गैर आवासीय नेपाली संघ
मिति २०१४ जुन १३