एनआरएन सँघको अध्यक्षमा घलेको पुनः उम्मेदवारी

shesh_ghaleगैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । घलेले गैरआवासीय नेपाली संघ बेलायतको आयोजनामा बिहीबार साँझ लन्डनस्थित नेपाली दूतावासमा आयोजित एक विषेश समारोहबीच उम्मेदवारीको घोषणा गरेका हुन् ।
उम्मेदवारीको घोषणा गर्दै अध्यक्ष घलेले दुई वर्षको कार्यकालमा थालेका धेरै कामहरू पुरा गर्न बाँकी रहेको भन्दै त्यसलाई पूरा गर्ने आफ्नो दायित्वलाई छाडेर भाग्न नमिल्ने बताएका छन् । घलेले आगामी कार्यकालमा पनि बिगतमा जस्तै आफ्नो सम्पूर्ण समय र स्रोत साधन एनआरएनएको विकाशका लागि लगाउने उनले प्रतिबद्धता जनाए पनि नयाँ कार्यक्रम भने अहिलेनै सार्वजानिक नगर्ने बताएका छन् ।
आगामी अक्टुवरको १४ देखी १७ सम्म काठमाडौमा हुने सातौ विश्व सम्मेलनमा नेतृत्व चयनका लागि हुने निर्वाचन हुनेछ ।
घलेले भने, ‘मैले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिँदै विगत दुई वर्षमा जे जति सिकेको छु, त्यसलाई गैरआवासीय नेपाली समुदाय र मातृभूमीको हितमा खर्चिने छु ।’
भूकम्पबाट ध्वस्त भएको मुलुकको पुनःनिर्माणको गम्भिर जिम्मेवारी यतिबेला गैरआवासीय नेपालीको काँधमा पनि रहेको, वैदेशिक रोजगारीमा गएका नेपालीको हितमा स्थापित कल्याणकारी कोषलाई संचालनमा ल्याउने, भवन निर्माण लगायत संस्थाको दिगो विकालाई तीब्रता दिने र नेपालमा गैरआवासीय नेपालीको सीप र पूँजी लगानीलाई वृद्धि गर्ने कार्यमा आफ्नो अर्को कार्यकाल समर्पण गर्ने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि कार्यबाहक राजदूत तेज बहादुर क्षेत्रीले नेपाल सरकार गैरआवासीय नेपाली संघ सहकार्य गरेर अगाडि बढ्न तयार रहेको विचार ब्यक्त गर्दै नेपालमा भूकम्पपछि गैरआवासीय नेपालीहरुले खेलेको भूमिका प्रति आभार ब्यक्त गरे । संघका अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य कुल आचार्यले अगामी विश्व सम्मेलनमा आफुले यूरोप संयोजकमा उम्मेदवारी दिने घोषणा गरे ।
सोही अवसर तमुधिं यूकेका अध्यक्ष रामचन्द्र गुरुङले संस्थाको तर्फबाट भूकम्प पीडितका लागि संकलन भएको १ करोड ११ लाख रुपैयाँको चेक अध्यक्ष घलेलाई हस्तान्तरण गरेका थिए ।