एनआरएनए स्वीडेनको अध्यक्षमा शिखा आचार्य

गैर आवासीय नेपाली संघ (एनआरएनए) स्वीडेनको १४ सेप्टेम्बरमा राजधानी स्टकहोल्मको रोग्सभेदस्थित फल्केतहुसमा सम्पन्न वार्षिक साधारणसभाले शिखा आचार्यको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ। कार्य समितिका अन्य पदमा शिवकुमार चम्लागाईं (उपाध्यक्ष), निर्जल खड्का (महासचिव), पूनम परियार रसाइली (सचिव), भक्तिराम अर्याल (कोषाध्यक्ष), रितेश श्रीवास्तव (युवा प्रतिनिधि), विनिता कुँवर (महिला प्रतिनिधि) तथा मौसम लिम्बू, रुबिननारायण जोशी, विष्णु नेपाल र तुलबहादुर थापा मगर सदस्य निर्वाचित हुनुभएको छ।

NRNA Swedenविश्वका करिब ७० मुलुकमा फैलिएको एनआरएनएको इतिहासमै आचार्य एकाध महिला अध्यक्षमध्ये हुनुहुन्छ। धरानमा जन्मिएकी २८ वर्षीय आचार्य गोथेनबर्ग विश्वविद्यालयमा ओरल माइक्रोबायोलोजिष्ट तथा इम्युनोलोजिष्टका रुपमा कार्यरत हुनुहुन्छ। यसअघि उहाँ एनआरएनए स्वीडेनको कार्यसमिति सदस्य हुनुहुन्थ्यो।
गत साल सेप्टेम्बरमा गठित कार्यसमिति गत अप्रिल महिनादेखि आन्तरिक विवादका कारण कार्यसमितिको पूर्ण बैठक बस्नसकेको थिएन। कार्यसमितिको गतिरोध फुकाउन एकसय भन्दा बढी साधारण सदस्यहरूको पहलमा गत ३० अगष्टमा स्टकहोल्ममा विशेष वार्षिक साधारणसभा गरिएको थियो। सो साधारणसभामा उपस्थित एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार तथा सर्वोच्च अदालतका बरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीको पहल तथा युरोप क्षेत्रीय संयोजक अर्जुनकुमार श्रेष्ठको रोहबरमा एनआरएनए स्वीडेनका तत्कालीन अध्यक्ष प्रेम गौतम, उपाध्यक्ष डा. बृजेश मैनाली र साधारणसभा संयोजक समितिवीच १४ सेप्टेम्बरमा अर्को वार्षिक साधारण गरेर नयाँ कार्यसमिति चयन गर्ने लिखित सम्झौता गरिएको थियो। सो सम्झौतामा अन्तर्राष्ट्रिय समन्वय समिति स्वीडेनका सदस्य कृष्णकुमार ढकालको संयोजकत्वमा पाँच सदस्यीय साधारणसभा संयोजक समिति गठन गरिएको थियो र सो समितिले वार्षिक साधारणसभा गरी नयाँ कार्यसमिति चयन गरेको हो।

शिखा आचार्यको नेतृत्वमा स्वीडेनको विभिन्न पेशा र व्यवसायमा स्थापित ११ जनाको प्यानलले कार्यसमिति नेतृत्वका लागि उम्मेद्‍वारी दिएको थियो। तर अरू कसैको उम्मेद्‍वारी नपरेपछि निर्वाचन समितिका संयोजक तथा एनआरएनए स्वीडेनका पूर्व महासचिब अमृतबहादुर घर्ती मगरले आचार्यको प्यानल निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो। साधारणसभाको सभापतित्व गर्नुभएका निवर्तमान उपाध्यक्ष डा. मैनालीले ठट्यौली पारामा “हेर्दाहेर्दै भूपू भइएछ” भन्दै नवनिर्वाचित पदाधिकारीहरूलाई बधाइ दिनुभएको थियो। निवर्तमान अध्यक्ष गौतम भने सभामा उपस्थित हुनभएन।
नवनिर्वाचित अध्यक्ष आचार्यले नयाँ कार्यसमितिले पदीय वर्गीकरण नगरी सबै पदाधिकारीहरू समान रहेको बताउनुभयो। आचार्यको प्यानलद्‍वारा जारी घोषणापत्रमा आफूहरूले मानवीय समानतामा विश्वास राख्ने र सबै पेशा, वर्ग र समुदायको सम्मान गर्ने प्रतिबद्धता गरेको छ।
उक्त वार्षिक साधारणसभाले स्वीडेन वा नेपालमा आपत-विपतमा परेका व्यक्ति विशेष वा समुदायका लागि राहतकोष पनि स्थापना गरेको छ। सभास्थलबाटै २४ जना सदस्यहरूले १५ हजार ४ सय ४ स्वीडिस क्रोनर (करिब २ लाख रुपैयाँ) कोषमा तत्काल जम्मा गरिदिने प्रतिबद्धता जनाउनुभएको थियो। एनआरएनए स्वीडेनले आगामी एक वर्षभित्र कम्तीमा ५० हजार स्वीडिस क्रोनर (करिब साढे छ लाख रुपैयाँ) को अक्षयकोषको स्थापना गर्ने लक्ष्य राखेको छ। नव निर्वाचित कार्यसमितिले लोककल्याणकारी कार्य तथा स्वीडेनबासी नेपालीहरूको एकतामा जोड दिने बताएको छ।