एक चिकित्सकद्वारा २० बालबालिकाको एसएलसी सम्म सबै खर्च व्यहोर्ने

चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा मेडिकल अन्कोलोजिस्ट चिकित्सक जया श्रेष्ठले चितवनको शक्तिखोर र सिद्वी गाबिसका विपन्न परिवारका २०  चेपाङ बालबालिका एसएलसी सम्म लाग्ने सबै खर्च व्यहोर्ने भएका । उनीहरु अहिले कक्षा २ देखि ५ मा अध्ययन गर्दै आएका छन् ।

ती बालबालिकालाई आवश्यक पोसाक, कापी कलम, झोलालगायत लाग्ने सबै खर्च आफैँले उपलब्ध गराउन थालेकोे, वार्षिक प्रतिविद्यार्थी करिब तीन हजार खर्च लाग्ने अनुमान गरिएको चिकित्सक श्रेष्ठले बताए । उनीहरुलाई पढ्न र लगाउनका लागि कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत उनले जनाए ।

सहयोग पाएका विद्यार्थीमा चितवनको शक्तिखोरका १० र सिद्धिको १० जना रहेका छन् । चिकित्सक श्रेष्ठले आजै मात्र जाडोबाट बच्नका लागि उनीहरुलाई स्वीटरसमेत उपलब्ध गराए  । सहयोग पाउन थालेपछि उनीहरु नियमित स्कुल आउन थालेको शक्तिखोरको चतुर्मुखी उच्चमाविले जनाएको छ । बालबालिकाको शिक्षा राम्रो भए उनीहरुको जीवनसमेत राम्रो हुने बताउँदै चिकित्सक श्रेष्ठले सबैभन्दा पहिले शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिए ।

यसअघि उनले आफ्नै पहलमा पहाडी गाउँमा पटकपटक निःशुल्क स्वास्थ्य शिविरसमेत गर्दै आएका छन ।