इपरमा ब्रिटीश गुर्खा सैनिकको स्मारक

MeninGate Ypresप्रथम विश्वयुद्धमा वीरगति प्राप्त गोर्खालीहरुको स्मारक बेल्जियमको इपरमा बनाउने विषयले केही समयअघि बेल्जियम तातिएको थियो । स्मारक बनाउने कुरामा एन. आर. एन. र तमु समाजबीच तँछाड मछाड भयो र राजदूतावासको भूमिका विवादास्पद बन्यो । भुङ्ग्रोमा पारिएको  स्मारक निर्माणको चर्चा अहिले सेलाएको छ ।

दुइ सँस्थाको होडवाजीमा अहंको प्रतिस्पर्धा हुँदा तमु समाजको अध्यक्ष पदमबहादुर गुरुङ्गको नेतृत्वमा एक इपर निर्माण कमिटी गठन गरिएको समाचार सार्वजनिक भयो । उता एन. आर. एन. अध्यक्ष जानकी गुरुङ्गको नेतृत्वमा अर्को समिती बन्यो ।  इपर स्मारक निर्माणमा निर्णयात्मक भूमिकामा रहेको नेपाल दुतावासले एन. आर. एन. लाई समर्थन गर्यो । जसले गर्दा एन. आर. एन. को पल्ला भारी भयो । तर अहिले काम र कुरो दुबै सेलाएको छ ।
उसो त एन. आर. एन.ले २०१४ को नोभेम्वरभित्रै एन. आर. एन. कै नेतृत्वमा इपर स्मारक बनाइ सक्ने योजना राखेको छ । इपर प्रशासनले स्मारक बनाउने जग्गा नेपाली दुतावासलाई उपलव्ध गराउने जानकारी दिएको भएता पनि कानुनी र कागजी प्रकुयाहरु बाँकी रहेको र यी काम सम्पन्न भएपछि  द्रुतगतिमा निर्माण कार्यमा लाग्ने एन. आर. एन. को कथन छ ।
इपरमा सन २०१४ देखि २०१८ सम्मको प्रथम विश्वयुद्धका क्रममा लाखौंले वीरगति प्राप्त गरका थिए । आक्रामक जर्मन सेनासँग ब्रिटेन र फ्रान्सेली सेना सहितको अलाइड फोर्सले जवाफी युद्ध गर्दा घनघोर लडाइँ भएको थियो यहाँ । अंग्रेज साम्राज्यको सैन्य शक्तिको एक अङ्गका रूपमा गोर्खा रेजिमेन्टमा कार्यरत नेपालीहरुले इपरमा आएर वीरगती प्राप्त गरेका थिए । जुन कुरा इपरको मेनन गेटमा रहेको नेपाली नामले प्रमाणित गरिदिएको छ । तर उक्त रेकर्डमा ती मृतक सैनिकको राष्ट्रियता भारतिय लेखिएको छ । स्मरणिय छ, त्यसबखत भारत अँग्रेजको उपनिवेश थियो ।

फ्लेमिस सहर इपर (Ieper)लाइ फ्रेन्चमा इप्रे (Ypres) भनिन्छ र अँग्रेजीमा सामान्यतया फ्रेन्च नामलाइ नै प्रयोग गरिन्छ । इपरको यो ऎतिहासिक तथ्य नेपाली समुदायको नोटिसमा  आएपछि तत्कालीन नेपाली राजदुत प्रमेश कुमार हमालको पहलमा नेपाली दुतावास वेल्जियमका मिनिस्टर काउन्सिलर कुमारराज खरेलको संयोजकत्वमा एन. आर. एन. आइ सि सि सदस्य अर्जुनकुमार श्रेष्ठ, एन. आर. एन. बेल्जीयमका पूर्व अध्यक्ष युवराज गुरुङ्ग र पत्रकार महेश थापा सम्मिलित इपर अध्ययन समिति गठन गरिएको थियो । सो समितिले प्रथम विश्वयुद्धमा वीरगतिप्राप्त नेपालीहरुको राष्ट्रियता भारतिय लेखिएको अशुद्धिका बारेमा कमनवेल ग्रेव कमिसनका निर्देशकको ध्यानाकर्षण गराएको थियो । फलस्वरूप ती सैनिकहरुको राष्ट्रियता भारतिय लेखिएकोलाइ सच्याएर ‘कार्यरत देश- भारत’ भनी उल्लेख गरियो । सोही प्रतिवेदनको आधारमा CWGC लाई नेपाल सरकारको तर्फबाट औपचारिक पत्र पठाइ त्यहाँ मारिएका गुर्खाजहरुको नागरिकता शिर्षकमा India लेखिएकोमा त्यसलाई सच्याइ Nepali बनाइयो ।

नेपाली समुदायको चाख, इपर अध्ययन समितिको प्रतिवेदन र अन्य विभिन्न सम्वाद र पहलहरूको नतिजास्वरूप इपरको स्थानिय निकायले लागि नेपाली दुतावास मार्फत स्मारक निर्माणार्थ जग्गा र केही आर्थिक अनुदान दिने वचन दियो । त्यसपछि क्रमबद्ध रूपमा निर्माण काममा सक्रिय हुनुपर्ने बेलामा बेल्जियममा रहेका नेपालीहरूको गोर्खे राजनीतिको छायाँ देखिन थाल्यो ।

सन २०१४ मा प्रथम विश्वयुद्ध शुरुवात भएको शतवाषिर्कीको स्मरणमा इपरमा भव्य कार्यक्रम गरिने भएको छ । त्यसैकारण इपर प्रशासनले गत वर्षदेखि नै त्यहाँ विभिन्न परियोजनाहरू बनाएको छ । सो अवसरमा लाखौंले इपर भ्रमण गर्ने अनुमान गरिएको छ । पूर्वज गुर्खाजहरुको सम्मानमा स्मारक  बनाउन कस्सिएका बेल्जियमबासी नेपालीहरुका निम्ति यो ऎतिहासिक जिम्मेवारी समेत हो । यो स्मारकसँग हाम्रो भावनात्मक सम्बन्ध जोडिएको छ ।   विश्वयुद्धमा नेपाल राष्ट्रले भाग नलिए पनि युरोपसम्म नेपाली रगतले भिजेको छ ।

बेल्जियममा नेपाली जनघनत्व बढीरहेको अवस्थामा हाम्रो पुर्खाको रगत बगेको इपरमा अगामी २०१४ नोभेम्वर ११ मा आयोजित गरिने सहश्राब्दि स्मृति कार्यक्रममा नेपाली सँस्कृतिको प्रदर्शन र स्मारक निर्माण गरी पुर्खाहरुको स्मरण र सम्मान गर्नु हाम्रो कर्तव्य हो । स्मारक कसले बनाउने भनी बाझाबाझ गर्नु र एकले अर्कोलाइ होच्याउने कुराले यो अभियानलाइ नै नोक्सान पुर्याउँछ । त्यसैले, यस काममा चाख राख्ने सबैले नतिजाउन्मुख भइ काम गर्नुमा नै नेपाली समुदायको इज्जत छ । यसैले पुर्खाको सम्मान हुनेछ ।